
आज संसार नयाँ शितयुद्धमा उभिएको छ । दोस्रो विश्वयुद्ध पछिको शितयुद्धमा संयुक्त राज्य अमेरिका र सोभियत संघ (रुस) बीच राजनैतिक सँगै विज्ञान प्रविधि, अन्तरिक्ष गतिविधि, वातावरण संरक्षण, व्यापारिक साझेदारी, अधिकार आदि क्षेत्रहरूमा कडा प्रतिस्पर्धा देखिएको थियो । अहिले कोभिड महामारीपछि शुरु भएको नयाँ शितयुद्धले अमेरिका, रुस र चीनबीच अन्य विविध क्षेत्र जस्तै सूचना प्रविधिको क्षेत्रमा तीव्र शक्ति संघर्ष भइरहेको देखिन्छ ।
सामान्यतया शक्ति भन्नाले कसैलाई नियन्त्रणमा राख्ने वा आफ्नो इच्छा अनुसार चलाउने खुवी हो । मूलतः ज्ञान, बल र साहसलाई शक्तिको श्रोत मानिन्छ । तर आजको सूचना–प्रविधिको दुनियाँमा डेटा शक्तिको नयाँ श्रोत बनेर आएको छ । सूचना प्रविधिको तीव्र विकासले विश्वमा आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक संरचनामा गहिरो परिवर्तन ल्याएको छ ।
बिसौँ शताब्दीको अन्त्य र एक्काइसौँ शताब्दीको सुरुदेखि इन्टरनेट, कृत्रिम बुद्धिमता (AI), बिग डेटा र सामाजिक सञ्जालले विश्वभरको व्यापार, उत्पादन, संरचना र राजनीतिक चेतनामा समेत गहिरो प्रभाव पारेको छ । विश्वका दुई शक्तिशाली राष्ट्रहरू अमेरिका र चीनबीचको एक प्रकारको टेक युद्ध (AI, छन्, र सेमिकण्डकटर) नै चलेको छ । त्यस्तै नेपाल, श्रीलंका, बंगलादेश लगायतका देशमा भएका जेन जी आन्दोलनमा समेत सूचना प्रविधिको प्रचुर प्रयोग भएको देखिन्छ ।
सन् १७६० को दशकमा आएको औद्योगिक क्रान्तिले सामन्ती उत्पादन प्रणालीलाई विस्थापन गरेर पुँजीवादी उत्पादन प्रणालीको उदय भयो । समाज मेसिन, पुँजी र बजारमुखी बन्न पुग्यो । ठिक त्यसरी नै सन् १९९७ पछि सूचना प्रविधिमा आएको चमत्कारिक परिवर्तनले समाजको आर्थिक, सामाजिक र दैनिक जीवनशैलीमा व्यापक बदलाव ल्याएको छ ।
मार्क्स र एङ्गेल्सले कम्युनिष्ट मेनिफेस्टो (१८४८) मार्फत दाबी गरे जस्तै आज पूँजीवादले सारा विश्वलाई बजारमा रूपान्तरण गरिदिएको छ । आजको डिजिटल युगले डेटा, सूचना र प्रविधिलाई नयाँ उत्पादनको साधनका रूपमा स्थापित गरिदिएको छ । यस्ता उत्पादनका साधनमाथि शक्ति राष्ट्रहरूको एकाधिकार (monopoly) स्थापित हुँदै गएको छ । एकातिर अमेरिकी टेक कम्पनीहरू (Google, Meta, Microsoft, Amazon) आदि र अर्कोतर्फ चिनियाँ कम्पनीहरू (Huawei, Byte Dance, Aibaba) आदि बीच बजारको लागि चर्को प्रतिस्पर्धा चलिरहेको छ । यी दुवै देशहरूले यो नयाँ बजारका लागि वैचारिक आवरणमा संघर्ष गरिरहेका छन् ।
नेपाल जस्ता विकाशोन्मुख र सानो अर्थतन्त्र भएका देशहरू यसका उपभोक्ता मात्र बनिरहेका छन् । हामीले विदेशी कम्पनीका सफ्टवेयर, क्लाउड सेवा, र हार्डवेयरमा निर्भर रहनु परेको छ । जुन देशले डेटा, सूचना र सांस्कृतिक सम्पत्तिमा नियन्त्रण गुमाउँछ, त्यो देश डिजिटल उपनिवेश बनिरहेको छ । हामीले स्वीकार गरे पनि नगरे पनि हाम्रो देश यही दिशा उन्मुख छ । नेपाल जस्ता देशको लागि डिजिटल साम्राज्यको कारण अनेकौँ नयाँ चुनौतीहरू थपिएको छ ।
पहिलो त डेटा र प्रविधिमा परनिर्भरता बढाएको छ । डिजिटल अर्थतन्त्र मार्फत नेपाली अर्थतन्त्रको शोषण भएको छ । उत्पादन र पुँजीको एकीकरण, बैंक र औद्योगिक पुँजीको मिलन, विश्व बजारको पुनर्विभाजन, उपनिवेश र शक्तिशाली राष्ट्रबीचको प्रतिस्पर्धाका रूपमा प्रकट हुने गरेको साम्राज्यवाद आज डिजिटल साम्राज्यवादका रूपमा रूपान्तरण भएको छ । सामाजिक सञ्जालमा हामीले गर्ने हरेक क्रियाकलापहरूबाट बहुराष्ट्रिय कम्पनीहरूले नाफा कमाइरहेका छन् ।
होशना जुबोफ (२०१९) ले Survifllance Capitalism मा मानिसको निजी व्यवहार पनि नाफाको वस्तु बन्दछ भनेर पुष्टि गरेका छन् । नेपालमा प्रयोग भइरहेका अधिकांश डिजिटल सेवाहरू जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक, गुगल, युट्युब आदि सबै विदेशी कम्पनीका उत्पादनहरू हुन् । यी कम्पनीहरूले हाम्रो डेटा संकलन गर्छन् र आफ्नो व्यापारिक प्रयोगमा ल्याउँछन् ।
त्यति मात्र होइन, हामीले content creation, clicks, engagement आदिका रूपमा गरेको निःशुल्क श्रम, डिजिटल श्रमिकहरू (कन्टेन क्रियटर, डाटा वर्कर्स, गिग वर्कर्स आदि) को श्रम र नेपाली डिजिटल बजार (ads, ecommerce, payment gateway, app store charges)आदि बाट हुने नाफा पनि विदेशी कम्पनीले नै लैजान्छ । यसरी विकासोन्मुख देशका नागरिकको डेटा प्रयोग गरेर बहुराष्ट्रिय कम्पनीहरूले नाफा कमाउँछन् तर प्रतिफल दिँदैनन् ।
यसरी हेर्दा सूचना प्रविधिको नवक्रान्तिले मानव जीवनलाई सहज र गतिशील त बनाएको छ, भौतिक विकाश, प्रविधिको प्रयोग, लगानी, उत्पादकत्व वृद्धि र आर्थिक प्रगति जस्ता पक्षमा सकारात्मक योगदान त गरेको छ तर लाभांश वितरणको अति असमानताले विभेदको गहिरो खाडल पनि तयार हुँदैछ ।
दोस्रो चुनौती सांस्कृतिक अतिक्रमण हो । हर्बर्ट शिलरले १९७० को दशकमा Communication and Cultural Domination नामक पुस्तकमा पश्चिमी देशहरूले सञ्चार माध्यम र प्रविधिको नियन्त्रणमार्फत विकासोन्मुख देशहरूको चेतना र संस्कृति कब्जा गर्छन् भनेका छन् । भनिन्छ, कुनै देश नष्ट गर्नु छ भने त्यसको भाषा, साहित्य र संस्कृति सबैभन्दा पहिले नष्ट गर्नुपर्दछ । आजको डिजिटल दुनियाँमार्फत पाश्चात्य संस्कृतिले नेपाली संस्कृतिलाई तीव्रतर रूपमा अतिक्रमण गरिरहेको छ ।
सामाजिक सञ्जाल, स्ट्रिमिंग प्लेटफर्म (netflix, YouTube, TikTok) र विदेशी मिडिया तथा उनीहरूका दलाल मिडियाहरूमार्फत नेपालका युवा पुस्तामा उपभोक्तावादी र व्यक्तिवादी प्रवृत्ति तथा पुँजीवादी सोचलाई सामान्यकृत गरिएको छ । यी प्लेटफर्महरूले पश्चिमी जीवनशैली र उपभोक्तावादलाई विश्वव्यापी मानकका रूपमा प्रस्तुत गर्छन् । यसले स्थानीय भाषा र संस्कृतिलाई कमजोर बनाउँछ र उपभोक्तावादी चेतनालाई बलियो बनाउँछ । त्यसैले हाम्रा मौलिक संस्कार र संस्कृति नष्ट हुदै गइरहेको छ भने आयातित संस्कृति भित्रने क्रम तिव्र भएको छ । परिणामतः नेपाली समाज विघटनको दिशामा छ ।
तेस्रो चुनौती राजनीतिक प्रभाव र सूचना नियन्त्रण हो । नोम चोम्स्कीले Manufacturing Consent (१९८८) मा मिडियाको प्रयोगबाट जनमत र चेतनामा साम्राज्यवादी प्रभाव बिस्तार गरिन्छ भनेका छन् । हामीले प्रयोग गर्ने सामाजिक सञ्जाल मार्फत हाम्रो रुचि, चाहाना र आवश्यकता पहिचान गरिन्छ सोही अनुसार सूचना सम्प्रेषण गरिन्छ । तर हामीले थाहै नपाउने गरी यस्ता सामाजिक सञ्जालहरूले विभिन्न एल्गोरिदमहरु प्रयोग गरी हाम्रो मस्तिष्क नियन्त्रण (ब्रेन कन्ट्रोल) गरेको हुन्छ । यो नियन्त्रित मस्तिष्कलाई व्यापारिक स्वार्थको लागि मात्र होइन राजनैतिक स्वार्थको लागि पनि सहजै प्रयोग गरिन्छ । यस्ता एल्गोरिदमको माध्यमबाट कुन समाचार प्राथमिकताका साथ देखाउने र कुन नदेखाउने सेटिङ समेत गर्न सकिने हुँदा जनमत सृजना गर्न वा भड्काउन सहजै सकिन्छ । दृष्टान्तको रूपमा हामी भाद्र २३ को जेनजी आन्दोलनलाई लिन सक्छौँ । अमेरिकाको जनसंख्यिक अध्ययनकर्ता र मिडिया विश्लेषकहरूले प्रयोगमा ल्याएको जेनेरेसन जेड शब्द जसलाई अमेरिकाको Pew Research Center ले सन् २०१९ मा सन् १९९७ पछि जन्मिएको पुस्तालाई Gen-Z भनी परिभाषित गर्यो ।
अमेरिकी उत्पादन Gen-Z नेपालमा आइपुग्दा जेनजी भयो त्यसैको नाममा भएको आन्दोलनले एक दिनमै सत्तापलट गरिदियो । अन्य समयमा अति संवेदनशील तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालले कम्युनिटी स्टान्डर्ड गाइडलाइन्स अनुसार आफैँ हटाउने गरेको थियो तर यो आन्दोलनका तस्बिर तथा भिडियोहरू जति सुकै संवेदनशील भए पनि हटाएन र यो अझै सामाजिक सञ्जालभर छरपस्ट देख्न सकिन्छ । यसबाट पनि के स्पष्ट हुन्छ भने हाम्रो जस्तो संवेदनशील भूराजनीति भएको देशको लागि सूचना प्रविधिमा आएको क्रान्ति अझ बढी चुनौती बनेको छ ।
केही समय अगाडी नेपाल सरकारले चिनिया कम्पनी बाइट डान्सको उत्पादन टिकटक प्रतिबन्ध लगाएको थियो । नेपाल सरकारका शर्त मानेपछि दर्ता गरी पुनः सञ्चालन भयो । तर फेसबुक, एक्स, इन्स्टाग्राम आदि दर्ता हुन तयार भएनन् । प्रतिबन्ध लगाउँदा देशमै अराजकताको अवस्था सृजना भयो ।
यसको अर्थ नेपालले आफ्नो डिजिटल सार्वभौमिकता (Digital Sovereignty) गुमाएको छ । नेपाली प्रयोगकर्ताको डेटा विदेशी सर्भरमा संकलन भइरहेको छ । सामाजिक सञ्जालको एल्गोरिदमले जनचेतना र राजनीतिक धारणा प्रभावित गरिएको छ । कन्टेन्ट क्रियटर, अभियन्ता र कलाकारहरुलाई प्रयोग गरेर मास मेनुपुलेसन गरिएको छ । विदेशी विज्ञापन कम्पनीहरूले नेपालको डिजिटल बजारलाई नियन्त्रण गरेको छ । यसरी नेपाल डिजिटल उपनिवेशको स्थितिमा पुगेको छ ।
हामीले यो अवस्थामा प्रतिरोधी क्षमता बढाउने रणनीतिहरू तय गर्नुपर्दछ । डिजिटल सार्वभौमिकताको नीति तय गर्नुपर्दछ । देशले आफ्ना नागरिकको डेटा र सूचना प्रणाली आफ्नै कानुन र प्रविधिको नियन्त्रणमा राख्नुपर्छ । त्यस्तै स्थानीय प्रविधि विकासमा जोड दिनु पर्दछ । स्वदेशी सफ्टवेयर, प्लेटफर्म र सामाजिक सञ्जालहरूको निर्माण र अनुसन्धानमा लगानी गर्नुपर्छ । डिजिटल साक्षरता र आलोचनात्मक चेतना सञ्चार गर्नु पर्दछ । ताकि विदेशी निर्भरता घटोस् र नागरिकले प्रविधिको प्रयोग मात्र होइन, यसको राजनीतिक आर्थिक अर्थ पनि बुझ्न सक्नुपर्छ । क्षेत्रीय सहकार्य (Regional Cooperation) लाई अगाडि बढाउनु पर्दछ । दक्षिण एसियाली राष्ट्रहरूले साझा नीति बनाएर डिजिटल साम्राज्यवादविरुद्ध प्रतिरोध गर्न सक्नु पर्दछ ।

Leave a Reply