
समय समस्याका चाङमा उभिएको छ, समाजको हालत त्यही छ । निराशा, छट्पटी र अनेकन वेदनायुक्त समय र समाजभित्र आधारित भएर कवि त्रिलोचन आचार्य ‘अविश्रान्त’ महाकाव्यका साथ पेश भएका छन् ।
प्राध्यापक रामप्रसाद ज्ञवाली (विद्यावारिधि) ले भूमिकामा लेखेजस्तो महाकाव्यको आख्यान महाकाव्यकारको आदर्श चाहना र नेपाली समाजको बिडम्बनापूर्ण जटिल यथार्थको उद्घाटन गर्दै अघि बढ्छ । त्यसमा कविका निजी आस्था र विश्वासका कुरा आउँछन् । गाउँबाट दरिद्रता र अन्याय हटाउने कुरामा रुचि देखाउँदै समृद्धिको उच्च कल्पनशीलतामा महाकाव्य बगेको छ ।
महासकाव्य २३ सर्गमा प्रस्तुत छ । त्यसमध्ये पहिलो सर्गको ६५ औँ हरफमा उनी यसरी पेश भएका छन्–
खोज्छौ छोरा किन सफलता कामसम्मै नपुग्दै
खौज्छौ छोरा किन सब कुर धामसम्मै नपुग्दै
देख्छौ आर्जै लहर परको लामसम्मै नपुग्दै ?
गर्छौ काम्ने थुरथुर चिसो यामसम्मै नपुग्दै
भूमिका लेखक पुरुषोत्तम सिग्देलका अनुसार मंगलचरणका प्रयोजन राष्ट्रवन्दनाबाट काव्य अघि बढेको छ । आफ्नै गाउँका शिष्ट र सरल परिवार, जसमा बाबा महेश, आमा गंगा, छोरा रमेश र बुहारी सानी नामाकरण गरेर कवि उत्पाद्य पात्रहरु तीन अक्षर भएका पुरुष र दुई अक्षरका नारी र छोरो ज्ञानु छन् । सरल नामका पात्र चयन गर्नुमा पात्रहरुको जीवन चरीत्र सामान्य गाउँले छ भन्ने अभिलक्षणा पाइन्छ ।
६८ औँ हरफमा उनी भन्छन्–
साना नानी रहस छ उडौँ भेट्न आकाश भन्छन्
डाली डालीतिर वनचरी मुग्ध आवास बुन्छन्
हेरौँ ऐले हर चिज यहाँ काम लागी रहेछ
आँखा छोपी किन पर हुने ? त्रास–जागी रहेछ ।
समाजको सामाजिक जीवनमात्रै होइन, राजनीतिक र सांस्कृतिक पनि अस्तव्यस्त छ । यद्यपि, कवि निराश छैनन् । उनका काव्यिक हरफमा आशाहरु सञ्चारित छन् । लेख्छन्–
छैनन् कानूनका कुरा तर सधैँ निर्धा दपेट्ने कुरा
छैनन् निर्धनका कुरा तर हुने सोझा लखेट्ने कुरा
छैनन् काख बसाउँदै भर भुँडी खाना दिने को चुने
हेर्ने हो सबले खिसी नजरले के स्वच्छता आउने ?
(पृष्ठ २९३)
महाकाव्यकार सेवा निवृत्त प्रशासक हुन् । उनले निजामती सेवामा ४० वर्ष बिताए । महाकाव्यलाई प्रशासनिक सेवामा बसेर गरिएको समाज अध्ययनको संग्रह पनि मान्न सकिन्छ । उनको जन्म २०२१ चैत १० गते सिन्धुपाल्चोक जिल्लाको इन्द्रवाती गाउँपालिका– १०, सिपाबडहरेमा भएको छ । हाल बूढानीलकण्ठ नगरपालिका– १२, कपनका बासिन्दा हुन् ।
प्राध्यापक ज्ञवालीले भूमिकामै लेखेका छन्, ‘महाकाव्य कवि त्रिलोचन आचार्यको समाजबोध र जीवनदृष्टिको प्रबन्धकाव्यिक अभिव्यक्ति पनि हो । सबैजसो सर्गमा कवि आफ्नो युगबोध र जीवन दर्शन प्रस्तुत गरिरहन्छन् । कवि भौतिक सुखसुविधा र धनसम्पत्तिका निम्ति मरिहत्ते गरिरहेको मान्छे र पुँजीवादी प्रवृत्तिका विरुद्ध प्रश्न उठाइरहन्छन् र व्यंग्इ पनि गरिरहन्छन् ।’

Leave a Reply