
सुर्खेत। कर्णाली प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा कांग्रेस नेता यज्ञबहादुर बुढाक्षेत्रीको सोमबार निधन भएको छ।
७१ वर्षीय बुढाक्षेत्रीको मिर्गौला रोगको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो । पश्चिम सुर्खेतको बराहताल–६ ब्यूरेनीका स्थायी बासिन्दा बुढाक्षेत्रीको निधनप्रति कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलगायत नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
बुढाक्षेत्रीले करिब १५ वर्ष शिक्षण पेशामा बिताए । २०२९ सालमा शिक्षक बनेका उनले २०४३ सम्म निरन्तर पढाए । त्यसपछि पोखरीडाँडा पञ्चायतका प्रधानपञ्च भएर उनले राजनीतिक यात्रा थाले ।
२०४९ मा पोखरीकाँडा गाविस अध्यक्ष बने । २०५२ देखि २०७२ सम्म उनी कांग्रेस क्षेत्रीय सभापति रहे । २०७४ मा प्रदेशसभा सदस्य बनेका उनी २०७८ मा दुई कार्यकाल गरेर करिब १६ महिना कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री बने ।
शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकता दिने नेताका रुपमा बुढाक्षेत्री परिचित थिए । उनले गाउँ, गाउँमा विद्यालय तथा स्वास्थ्य संस्था विस्तारमा सक्रिय भूमिका खेलेका थिए । २०६२/६३ को जनआन्दोलन र कर्णालीलाई छुट्टै प्रदेश बनाउन गरिएको आन्दोलनमा पनि उनी अग्रमोर्चामा देखिएका थिए ।

Leave a Reply