वनभोज स्थलका रुपमा विकास हुँदै इटहरीको तालतलैया

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया वनभोज स्थलका रूपमा लोकप्रिय बन्दै गएको छ ।

पाँच सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक वनभोजका लागि तालतलैया आउने गरेको तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीले बताए ।

एकैपटक ७० भन्दाबढी समूहले वनभोज कार्यक्रम आयोजना गर्न सक्ने तालतलैया क्षेत्रको क्षमता रहेको अध्यक्ष रायमाझी बताउँछन् । वनभोजमा आउनेले दुई–चार दिन अगाडि बुकिङ गराउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

जाडो छल्न तालतलैयामा पाहुना चराको चहलपहल

पर्यटकको आकर्षणलाई ध्यानमा राखी तालतलैया परिसरभित्र छ वटा पोखरी निर्माण गरिएको छ । दुई वटा मोटरबोट सञ्चालनमा ल्याइएको छ । मङ्सिरदेखि माघसम्म पर्यटकको चाप अत्यधिक हुने गरेको छ । अध्यक्ष रायमाझीका अनुसार भारतका विभिन्न सहरदेखि पर्यटक आउने गरेका छन् । नेपालका सिरहा, सप्तरी क्षेत्रबाटसमेत आन्तरिक पर्यटक आउँछन् ।

आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयबाट विनियोजन भएको ८५ लाख रुपैयाँले तालतलैयाभित्र पर्यटकीय संरचना थप निर्माण गरिएको छ । उक्त बजेटबाट शौचालय, चिडियाखानाका थप संरचना, तथा अन्य पर्यटकमैत्री सुविधा निर्माण गरिएको छ । तालतलैयाभित्र नर्सरी, वाटरफाउन्टेन, बालबालिकाका लागि चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।

स्कुल बिदाका समयमा अभिभावकले बालबालिकालाई खेलाउन ल्याउनेको सङ्ख्या पनि उल्लेखनीय छ ।

इटहरी आसपासका आठ आकर्षक पर्यटकीय गन्तव्य

तालतलैया पूर्वक्षेत्रका प्रमुख मनोरञ्जन र वनभोज गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । यहाँ रहेका विभिन्न संरचनाको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण तथा प्रवर्द्धनका लागि प्रदेश र सङ्घीय सरकारबाट सहयोग प्राप्त भइरहेको अध्यक्ष रायमाझी बताउँछन् । तालतलैयाभित्र अहिले घुम्न आउने पर्यटक विश्राम गर्न दर्जनौँ चौतारा, बगैँचा साथै अवलोकनका लागि विभिन्न प्रकारका मूर्तिसमेत सरकारी सहयोगमा निर्माण गरिएको छ ।

तालतलैया २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

-रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *