
काठमाडौँ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई आज मंगलबारभित्र विश्वासको मत लिन सर्वोच्चको आदेशपछि नयाँ सरकार गठनबारे बहस शुरु भएको छ ।
सात दलका ७३ सांसद एकतिर भएर सभामुखसमेत हटाउने सामर्थ्य राख्ने गठबन्धनसँग २४ सिटको नेकपा एमाले एक्लो र निरीह छ । उसले प्रदेश प्रमुख, सभामुख हुँदै मुख्यमन्त्री पनि गुमाउने अवस्था बनिरहँदा सात दलको गठबन्धनमा भने अब के हुन्छ भन्ने चर्चा शुरु भएको छ ।
कात्तिक २२ गते मुख्यमन्त्रीमा विश्वासको मत लिने वातावरण नबनेपछि गिजोलिएको मधेशको राजनीतिक बाटो कस्तो हुने भन्ने अझै प्रष्ट छैन । मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतले सरकार निर्माणबारे अब दलहरु जुट्ने र पुरानै कोर्समा जाने या नयाँ कोर्स शुरु गर्ने भन्ने विषय मंगलबारको घटनाक्रमपछि शुरु हुने बताए ।
उनले पुरानै अवस्थामा सात दल एक ठाउँ भएकाले जितेन्द्र सोनलकै नेतृत्वमा सरकार बनाउने विषयमा दलहरुबीच सहमति बन्नसक्ने या यो भन्दा फरक सरकार बनाउने भन्ने विषय अहिलेसम्म सात दलमा कुनै छलफल नभएको बताए । दुवै पक्षमा छलफल चल्ने उनको भनाइ छ ।
सात वर्ष मधेश प्रदेश सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिवसमेत रहेका राउतले सरकार निर्माणबारे दलहरु छिट्टै निष्कर्षमा पुग्ने बताए । उनले मधेशमा मन, विचार र सिद्धान्त मिल्ने दलहरुबीच एकता र सहकार्य गर्ने पार्टीको निर्णय भएकाले लोसपासँग जसपाको छलफल चलिरहेको पनि बताए ।

Leave a Reply