तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा ३५ दशमलव चार प्रतिशत वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । यही समीक्षा अवधिमा कूल वस्तु व्यापार घाटा भने १२ दशमलव दुई प्रतिशतले वृद्धि भएर तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११ दशमलव नौ प्रतिशतले वृद्धि भई चार खर्ब आठ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भई एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबर पुगेको थियो ।

यस्तै, भदौ महिनामा विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई तीन खर्ब ५२ अर्ब आठ करोड रुपैयाँ पुगेको थियो । चालु आवको पहिलो त्रैमासमा चालु खाता दुई खर्ब ३७ अर्ब ५९ करोड रुपैयाँ र शोधनान्तर दुई खर्ब ६४ अर्ब तीन करोड रुपैयाँले बचतमा छ । अघिल्लो आवको सोही अवधिमा चालु खाता एक खर्ब १५ अर्ब ३६ करोड रुपैयाँ र शोधनान्तर एक खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा थियो ।

यसैगरी, चालु आवको पहिलो तीन महिनामा कूल वस्तु निर्यात ८९ दशमलव छ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ । यो अवधिमा वस्तु आयात १९ दशमलव आठ प्रतिशतले बृद्धि भई चार खर्ब ६८ अर्ब आठ करोड रुपैयाँ कायम भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *