भदौ २३ लाई ‘जेनजी शहिद दिवस’ का रुपमा मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी सहीद दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी सहीद दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बैठकले जेनजी आन्दोलनका क्रममा सहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी/अविवाहित छोरालाई गृहमन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख रुपैयाँ वा सो भन्दा माथिको सेवा, बस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैङ्किङ उपकरणबाट गर्नुपर्नेगरि नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले श्रीलंकामा हालैको बाढी पहिरोले धनजनको ठूलो क्षति भएको सन्दर्भमा नेपाल सरकारको तर्फबाट श्रीलंका सरकारलाई सहायता स्वरूप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय भएको छ भने विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञान बहादुर थापालाई नियुक्त गर्ने निर्णय भएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *