२४ वर्षमै निर्वाचन लडेर महाधिवेशन प्रतिनिधि बनेका सन्देश

रुपन्देही । पाल्पाको रामपुर नगरपालिका-५ का २४ वर्षीय सन्देश ढकाललाई शनिवारको दिन जीवनकै निर्णायक मोड बनेर आयो।

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधि बनेका उनी प्रदेशभर मात्र नभई देशमै सबैभन्दा कम उमेरका महाधिवेशन प्रतिनिधि भएको दाबी गर्छन्।

पाल्पा घर भएका नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार अहिलेसम्म प्राप्त विवरणमा ढकाल उमेरका हिसाबले सबैभन्दा ‘युवा’ प्रतिनिधि हुन्। ‘सन्देश मेरो नोटिसमा कम उमेरमै निर्वाचित भएका प्रतिनिधि हुन्। लुम्बिनीबाट त छैनन् नै,’ कँडेलले भने ।

ढकालले पनि आफू देशभर सार्वजनिक भएका सूचनामध्ये सबैभन्दा कम उमेरका प्रतिनिधि भएको बताउँछन् । अनेरास्ववियु पाल्पाका अध्यक्षसमेत रहेका उनी किशोरावस्थादेखि नै राजनीतिमा सक्रिय हुँदै आएका कारण पार्टी सदस्यहरूले विश्वासका साथ आफूलाई युवा क्लस्टरबाट अघि बढाएको बताउँछन्।

उनले यो निर्वाचनबाट जेन-जेडको प्रतिनिधित्व हुनुको साथै पार्टीमा नयाँ पुस्ताको उचाइ बढाएको जनाए ।

एमाले पाल्पाका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ ढकालको उदयलाई ‘जेन-जेड पुस्ताको राजनीतिक प्रवेशको जीवन्त उदाहरण’का रूपमा लिन्छन्। श्रेष्ठका अनुसार उनले आफू स्वेच्छाले पछि हटेर ढकाललाई प्रतिनिधिको स्थान सुरक्षित गरिदिए।

‘पार्टीमा नयाँ पुस्तकै नेतृत्वमा ल्याउनै पर्छ भन्ने सोच थियो। क्षमतावान् र मेहनती युवालाई अघि बढाउन सन्देश सही पात्र लाग्यो’ श्रेष्ठले भने।

ढकालले निजी विद्यालयमा अध्ययन गरेका कारण अंग्रेजी र नेपाली दुवै भाषामा सशक्त धारणा प्रस्तुत गर्ने क्षमता राख्छन्। निर्वाचनमा प्रतिस्पर्धीहरूको बीच उनले दिएको संयमित तर तर्कपूर्ण मन्तव्यले धेरैको ध्यान तानेको स्थानीय कार्यकर्ताहरू बताउँछन्।

युवा पुस्ताबाट उठेका मुद्दा, डिजिटल परिवर्तन, उद्यमशीलता र समावेशी नेतृत्वबारे उनले प्रस्तुत गरेका धारणा पार्टीभित्र जेन–जेड समूहका आकांक्षा झल्काउने खालका थिए। उनले नेतृत्वको आधार राजनीति मान्छेको भरोसा जित्न सक्नुपर्ने बताउँछन् ।

प्रतिनिधि निर्वाचित भएपछि ढकालले कार्यकर्तामाथि आभार व्यक्त गर्दै भविष्यमा पार्टीप्रति अझ जिम्मेवार, अनुशासित र सक्रिय भूमिका खेल्ने बताएका छन्।

‘कलिलो उमेरमा मप्रति देखाइएको विश्वास जीवनभरको जिम्मेवारी हो। संघर्ष, इमानदारी र समर्पणबाट पार्टीलाई योगदान दिन प्रतिबद्ध छु’ ढकालले भने।

ढकालले सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका कारण स्थानीयहरू बीच ‘युवा अनुहार’ मात्र होइन, ‘काम गर्ने मान्छे’का रूपमा पहिचान बनाएको पाल्पाका कार्यकर्ताहरू बताउँछन्। बालबालिका तथा महिला सशक्तीकरण, सामुदायिक सहयोग र शैक्षिक क्षेत्रमा गरेको संलग्नताले उनले सुरु करेकै वेलामा लोकप्रियता पाएको देखिन्छ। उनी निर्वाचित भएपछि पार्टीभित्र प्रशंसा गर्दै ‘भविष्यको नेता भएको प्रतिक्रिया आउन थालेको छ ।

एमाले लुम्बिनी स्कुल विभागका उपप्रमुख दलबहादुर गुरुङ भन्छन्, ‘सन्देश क्षमतावान् छ, संयमित छ, अभिव्यक्तिमा दम छ। युवालाई कसरी अघि बढाउने भन्ने उदाहरण हो उनी। भविष्यको नेता यिनै हुन्।’

गुरुङका अनुसार ढकालले संगठनभित्र नयाँ ऊर्जा भर्ने क्षमता बोकेको छन्। युवाहरूलाई राजनीतिप्रति आकर्षित गर्ने शैली, कार्यक्रम सञ्चालन गर्ने दक्षता र समस्यालाई सकारात्मक ढंगले प्रस्तुत गर्ने कौशलका कारण उनलाई आगामी पुस्ताको प्रतिनिधि मानिएको हो।

लुम्बिनी प्रदेशका रुपन्देही, अर्घाखाँची र नवलपरासीका साथै पाल्पामा पनि शनिवार महाधिवेशन प्रतिनिधि चयनका लागि उत्साहपूर्वक मतदान भएको थियो।

पाल्पाका दुई निर्वाचन क्षेत्रबाट गरेर १४ जना प्रतिनिधि चयन हुँदा ढकालको नाम ‘सबैभन्दा चर्चित, सबैभन्दा चर्चिएको’ पात्र बनेर अगाडि आयो।

विशेष गरी पाल्पामा युवाको राजनीतिक भूमिकाबारे आवश्यक बहस भइरहेकै बेला ढकालको विजयले स्थानीय तहमा नयाँ पुस्ताको प्रभाव र उपस्थिति देखाएको पर्यवेक्षकहरूको मत छ। उनलाई मत दिन लाइन लाग्ने अधिकांश युवा, विद्यार्थी र महिला समूह रहेको देखिनु पनि ‘विश्वासको आधार’का रूपमा लिइएको छ।

उनका साथीहरूका अनुसार ढकाल विनम्र, संवादमा सहज र समूहलाई नेतृत्व गर्न सक्षम छन्। नेतृत्व शैली, भाषणकला, सामाजिक कामप्रतिको झुकाव र संगठनात्मक सक्रियताले उनी ‘महाधिवेशनसम्म पुग्ने’ बाटो आफ्नो क्षमताले बनाएर आएका हुन्।

उनीबारे कार्यकर्ताहरूले प्रायः यसरी मूल्यांकन गर्छन्, ‘अंग्रेजी-नेपाली दुवै भाषामा सरल, स्पष्ट र प्रभावकारी भाषण दिने युवा नेता। विवाद होइन, समाधान खोज्ने शैलीका उम्मेदवार। सानैदेखि संगठनमा जिम्मेवारी लिने र निभाउने अनुहार।’

ढकालको प्रतिनिधि विजयले एमालेभित्र नयाँ पुस्ताको उचाइ, अवसर र प्रभाव दुवै बढ्दै गएको संकेत गर्दैछ। उनी जेन-जेड उमेर समूहबाट महाधिवेशनसम्म पुग्ने दुर्लभ उदाहरण बनेका छन्, जसले युवालाई नेतृत्वमा स्थान दिने पार्टीगत सोचलाई पनि मजबुत बनाएको छ।

सन्देश ढकालका लागि यो विजय यात्रा केवल पद होइन-एक प्रतिबद्ध जिम्मेवारी, भविष्यको नेतृत्वको सम्भावना र युवाको सामर्थ्यको प्रतिनिधित्व बनेर उदाएको छ। पार्टीभित्र राम्रो भाषण, काम गर्ने शैली, विनम्रता र क्षमताको पहिचान बनेका ढकाल आगामी दिनमा एमालेभित्र महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा पाल्पाभरि मात्र होइन, प्रदेशभरि देखिन थालेको छ।

०५८ फागुन महिनामा जन्मेका सन्देश १६ वर्षको उमेरबाटै राजनीतिमा जोडिएका हुन् । ०७४ मा एमाले निकट अनेरास्ववियुमा आबद्ध भएका उनी ०७६ सालमा सहिद बहुमुखी क्याम्पस रामपुरमा स्नातक भर्ना भएका थिए ।

०७९ मा स्ववियु सभापतिको उम्मेदवार भए पनि थोरै मतले पराजित भएका थिए । बीबीएस सकाएर एमबीसको अध्ययन थालेका उनी ०८०मा अनेरास्ववियुको कोषाध्यक्ष, ०८१ मा उपाध्यक्ष र ०८२ साउनबाट अध्यक्षको जिम्मेवारीमा छन् ।

रामपुरमा बुवाआमाले सामान्य किराना पसल गरेर बसेपनि राजनीतिमा सामान्य कार्यकर्ता मात्रै छन् । ११ वर्षीय बहिनी रहेको उनी आफ्नै संकल्पले राजनीतिमा जोडिएको बताउँदै अध्ययनसँगै यसैलाई अघि बढाउने बताउँछन् ।

सन्देशले भूकम्पपीडितलाई राहत संकलनका लागि रुकुममा १५ दिन बसेर श्रमदान गरेपछि नेता कार्यकर्ताबाट पाएको स्याबासीले थप उत्साहित भएर लागेको बताउँदै अहिलेको छनोटले आगामी दिनमा काम गर्न प्रेरणा मिलेको जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *