कांग्रेसभित्रको विवाद टर्याे कि सर्याे ? माघ मसान्तसम्म कार्यकाल थपिँदा आशङ्का

काठमाडौं । उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै सक्रियतामा पार्टीभित्र चर्किएको महाधिवेशनको मिति विवाद टुङ्गिएको छ।

लामो रस्साकस्सीपछि असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठकले आज पुस २६–२८ गते महाधिवेशन गर्ने तालिका पारित गर्‍यो। कांग्रेसमा महाधिवेशन चुनावपछि गर्ने कि अघि भन्ने विषयमा विवादले उग्र रूप लिएपछि बैठक महिनौँसम्म लम्बिएको थियो।

आज टुङ्गिएको बैठकले विशेष महाधिवेशन पक्षधरको मागलाई समेत सम्बोधन गर्ने गरी महाधिवेशनको कार्यतालिका ल्याएको भए पनि कार्यान्वयन हुनेमा नेताहरू ढुक्क हुन सकेका छैनन्।

असोज २८ देखि आजसम्म बैठक बसेको कांग्रेसले अबको डेढ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्नेछ। महाधिवेशनको मिति तोकेसँगै बैठकले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिनाका लागि थप गरेको छ।

१४ औँ महाधिवेशन २०७८ मंसिर २४–२८ गतेसम्म काठमाडौंमा सम्पन्न भएको र पार्टीको विधान अनुसार पार्टीको सबै तहका पदाधिकारी र सदस्यहरूको अवधि २०८२ मंसिर २३ गतेसम्म कायम रहनेछ।

बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशन तयारीका क्रममा गर्नु पर्ने सम्पूर्ण कार्यहरू गर्न समेत थप समय आवश्यक भएकोले यस अवस्थालाई असाधारण स्थिति ठहर गरी, नेपाली कांग्रेसको विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि २०८२ मंसिर २४ गतेदेखि लागू हुने गरी २०८२ माघ मसान्तसम्मका लागि थप गर्ने निर्णय गर्दछ।’

बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका ल्याएको भए पनि माघ मसान्तसम्मको कार्यकाल थप गरेको हो। त्यसले तोकिएकै समयमा महाधिवेशन हुनेमा शङ्का जन्माउँछ।

महाधिवेशनको मितिलाई लिएर देउवानिकट नेताहरू नै विभाजित बनेका छन्। पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्ण सिटौलासहित आफूनिकट नेताहरूलाई खड्काले ल्याउने प्रस्तावको पक्षमा उभिने देउवाले निवासमै बोलाएर निर्देशन दिएपछि आज सहमति जुटेको थियो। त्यसैले कांग्रेसभित्र गर्माएको महाधिवेशन विवाद पूर्ण रूपमा नभई अस्थायी रूपमा बिराम भएको समेत नेताहरू नै स्वीकाछन्।

तर, प्रवक्ता डा. प्रकाशशरण महतले अब महाधिवेशन धकेल्ने आफूहरूको कुनै रणनीति नभएको बताए। अब विशेष महाधिवेशन हस्ताक्षरकर्ताको आशय समयमा महाधिवेशनको माग नै रहेको बताए।

बैठकपछि सञ्चारकर्मीहरूसँग उनले भने, ‘आशंका गर्नुपर्ने कारण त थिएन, तैपनि उहाँहरूले आशंका राख्नुभयो। अब अधिवेशन नै हुने भइसकेपछि विशेष महाधिवेशनको मागको औचित्य रहँदैन।’

माघ मसान्तसम्मको लागि देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्ने सर्वसम्मत निर्णय भएको बताए।

चुनावअघि महाधिवेशन गर्ने नहुने पक्षमा रहेका महतले भने, ‘आम निर्वाचनमा जानुपर्ने बेलामा आपसमा प्रतिस्पर्धा गर्दा नतिजा राम्रो आउँदैन भन्ने मत पार्टीभित्र जबरजस्त छ। त्यसमा सत्यता पनि छ । समय पनि अत्यन्त कम छ। त्यसले सहज रूपमा सुनिश्चित पनि कम हुनसक्छ।’

‘नियमित नभए विशेष महाधिवेशन हुन्छ’

केन्द्रीय सदस्य मधु आचार्यले आजको निर्णय सर्वसम्मत भएको बताए। सिङ्गो पार्टीपंक्ति एकताबद्ध भएर लागे तोकिएको समयमा महाधिवेशन गर्न सकिने उनको विश्वास छ।

गगननिकट रहेका नेता आचार्यले भने, ‘उहाँहरूले मिति तोक्नको लागि मात्रै तोकेको हो भने हामीलाई स्वीकार्य हुँदैन। हामीले विशेष महाधिवेशनको प्रस्ताव गर्दा गराउँदा पनि नियमित हुन्छ भनेर स्वीकार गर्छौँ भनेकै हौँ। अब तोकिएको समयमा नियमित महाधिवेशन नभए विशेष हुन्छ।’

उनले विशेष महाधिवेशनको लागि भएको आफूहरूको प्रस्ताव फिर्ता हुने जनाए।

उनले थपे, ‘पुस २८ गतेभित्र विशेष महाधिवेशन हुनुपर्छ नियमित नगर्ने हो भने, हाम्रो प्रस्तावको औचित्य सकिएको छैन। जब महाधिवेशन हुन्छ तोकिएको समयमा त्यसपछि मात्रै सकिने हो, नत्र अघि बढ्छ। फिर्ता लिने कुनै सम्भावना छैन। यो कार्यतालिका ल्याउने बेलामा पनि उहाँहरूले फिर्ता लिनुपर्ने कुरा राख्नुभएको थियो। तर, हामीले स्वीकार नगरेपछि उहाँहरू नै त्यो प्रस्तावबाट पछि हटिसक्नुभयो।’

महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेको निर्णय अनुसार पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउने बताए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘नियमित महाधिवेशन मिति तोकिसकेको अवस्थामा त्यसलाई धकेल्ने प्रयास गरे विशेष महाधिवेशनको अवस्था आउँछ। अझै पनि विशेष महाधिवेशन माग गर्दै गरिएको हस्ताक्षर केन्द्रीय कार्यालयमा सुरक्षित रहेको हेक्का राख्नुपर्छ।’

सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशनबाट आफू बिदा लिन्छु भनिसकेको अवस्थामा सभापतिलाई विशेष महाधिवेशनमा तान्न नहुने उनको भनाइ छ ।

नेताहरू नै छैनन् आश्वस्त

अर्का केन्द्रीय सदस्य रामहरि खतिवडाले अब पार्टी एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरे। दुवै पक्षले आ–आफ्नो अडान राख्दै बैठक लम्ब्याउनु गलत भएको उनको तर्क छ।

उनले भने, ‘दुवै पक्षले अडान राखिरहेको बेलामा सभापतिले मलाई केही चाहिएको छैन, पार्टी नफुटोस् भनेर सक्रियता देखाउनुभएको हो। सबैलाई एकैठाउँमा ल्याउन प्रयास गर्नुभयो।’

उनले तोकिएको मितिमा महाधिवेशन हुने दाबी गरे। उनले थपे, ‘कसलै आशंका गर्नुपर्ने कारण छैन। सबै मिलेर आउँदा महाधिवेशन सम्भव छ।’

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि महाधिवेशनबारे पार्टीले सर्वसम्मत निर्णय गरेको बताए। उनले बैठकको दोस्रो दिनमा आफूले बोल्दा पनि पुसभित्र महाधिवेशन गर्नुपर्ने गरी र महामन्त्रीले प्रस्ताव समेत राखेको विषयमै आज पार्टीले निर्णय गरेको बताए।

उनले भने, ‘महामन्त्रीले प्रस्ताव गरेको बेलामा यही निर्णय गरेको भए हामीलाई समयको दबाब हुँदैनथ्यो। त्यस बेला गरिएको प्रस्ताव आज आएर गरियो। हामीलाई समयको दबाब छ। समयको दबाब भए पनि निर्णय लागू गर्न कार्यकारी भूमिकामा रहेका नरहेका सबैले भूमिका खेल्नुपर्छ।’ युद्ध स्तरमा काम गर्न सके मात्रै प्रस्तुत कार्यतालिकामा महाधिवेशन सम्भव हुने बताए।

तोकिएको समयमा महाधिवेशन नहुने आशंकाबारे उनले भने, ‘यो शंकालाई अनावश्यक रूपमा लिन मिल्ने स्थिति छैन। जम्मा समय डेढ महिना पनि छैन। हामीले धेरै काम गर्नुपर्नेछ। सदस्यतासम्बन्धी पहिला धेरै समस्या हुन्थ्यो। अहिले सरल गरिएको छ। त्यसले सदस्यतासम्बन्धी विवाद कम हुन्छ। त्यसैले त्यो आशङ्कालाई मिथ्या साबित गर्नको लागि कार्यतालिका अनुसार काम गर्नुपर्छ।’

विशेष महाधिवेशनको प्रस्ताव फिर्ता नभएको भन्दै तोकिएको समयमा महाधिवेशन भएमात्रै सान्दर्भिकता सकिने जिकिर गरे।

संस्थापन पक्षका नेता गुरु बरालले सहमतिकै लागि बैठक लामो भएको बताए। जीवन्त पार्टीमा मतमतान्तर हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए।

उनले भने, ‘सबैलाई समेटेर आज कार्य तालिकासहित आएका छौँ। केन्द्रीय समितिमा धेरै प्रस्ताव आएको भए पनि कार्यवाहक सभापतिले सबैलाई एकैठाउँमा ल्याउनुभएको छ।’

विशेष महाधिवेशनको प्रस्ताव केन्द्रीय कार्यालयमा दर्ता भए पनि बैठकमा प्रस्तावको रूपमा नआएको दाबी गरे। १५ औँ महाधिवेशनका कार्यतालिका आइसकेकाले त्यता ध्यान केन्द्रित गर्दै प्रस्ताव फिर्ता लिन सुझाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *