
रूपन्देही । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै आधार नभएको जिकिर गरेका छन् । केपी शर्मा ओली नै एमालेको विवादरहित विकल्प रहेको उनको भनाइ छ ।
प्रेस चौतारीले रूपन्देहीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले अहिले प्रतिस्पर्धा गर्ने समय नै नभएको र केपी ओलीलाई टक्कर दिने नेतृत्व पार्टीमा कोही हुन नसक्ने दाबी गरे ।
थापाले ईश्वर पोखरेलले पनि महाधिवेशनको तयारी नगरेकाले अहिले प्रतिस्पर्धाको प्रसंग उठाउनु उपयुक्त नभएको बताए । उनले भने, ‘भदौसम्म कुनै तयारी थिएन, अहिले प्रतिस्पर्धा गर्ने समय होइन ।’
सडकबाट उठेका मागका आधारमा पार्टी नेतृत्व परिवर्तन नहुने भन्दै उनले एमालेभित्र ओलीकै सशक्त पकड़ रहेको बताए ।
‘एमालेको अध्यक्ष केपी ओली हुनु हुँदैन भनेर सडकमा आवाज उठ्यो भन्दैमा नेतृत्व फेरिँदैन । देउवा र प्रचण्डले पनि नेतृत्व छाड्नुपर्छ भन्ने कुरा गर्छन्, तर अरूको एजेन्डा पूरा गर्न हामी बाध्य छैनौँ,’ उनले भने ।
एमाले र ओली राष्ट्रहितमा उभिएको कारण विभिन्न कोणबाट प्रहार भइरहेको उनको भनाइ छ । केन्द्रीय कमिटीमा ३७८ मध्ये १६ जनाले मात्रै फरक मत राखेको उदाहरण पेश गर्दै उनले ओलीमाथि समर्थन बलियो रहेको दाबी गरे ।
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई विद्या भण्डारीलाई सहज बनाउन अघि सारिएको टिप्पणी गर्दै उनले प्रचण्डको ‘सके मिल्ने नभए निल्ने’ प्रवृत्तिले नै अहिलेको राजनीतिक अस्थिरता देखिएको उनको टिप्पणी छ ।
फागुन २१ को निर्वाचनमा पनि कुनै विशेष तयारी नभएको उल्लेख गर्दै थापाले जित्दा क्या वात्, हार्दा मुर्दावाद भन्ने स्वभाव भएका व्यक्तिहरूले प्रतिस्पर्धामा जानु नै व्यर्थ हुने टिप्पणी गरे ।

Leave a Reply