
काठमाडौं । समानुपातिक निर्वाचन प्रणाली प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सोमबार आयोगको कार्यालय कान्तिपथस्थित निर्वाचन आयोगमा कार्यालय स्थापना गरिएको हो ।
समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ ।
निर्वाचन अधिकृतको पदभार ग्रहण गर्दै सचिव पन्थले समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन पद्धति कायम गर्न र सञ्चालन गर्नका लागि आयोगको सचिवलाई निर्वाचन अधिकृत तोकेर समानुपातिक निर्वाचन प्रणालीका कार्यक्रम अघि बढाउने व्यवस्था रहेको बताए ।
त्यसै बमोजिम सोमबार आयोगले आयोगमा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ समानुपातिक निर्वाचन प्रणाली निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुका साथै आयोगका सचिव पन्थलाई निर्वाचन अधिकृत तोकेको आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए । आयोगमा कार्यालय स्थापनासहित निर्वाचन अधिकृत पन्थले पदभार ग्रहण समेत गरेका छन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न आयोगमा कार्यरत कर्मचारीलाई निर्देशन दिएका छन् ।
उनले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भए पनि विगतमा काम गरेका व्यक्तिबाट सुझाव लिएर काम गर्न सके कठिन नहुने बताए ।
निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा कुनै पनि झन्झट नमानीकन प्रणाली अनुसार अघि बढ्न भण्डारीले आग्रह गरे । उनले संवैधानिक व्यवस्था बमोजिम नेपालमा दुई वटा निर्वाचन प्रणाली रहेको बताउँदै आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि सोमबारदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र अब समानुपातिक निर्वाचन प्रक्रियाका काम सुरु हुने बताए ।

Leave a Reply