
काठमाडौं । वैकल्पिक शक्तिहरूबीचको ध्रुवीकरण प्रयास तुहिँदै गएको बेला हिजो ऊर्जामन्त्री कुलमान घिसिङको फेसबुकबाट अर्थपूर्णरूपमा एउटा तस्बिर पोस्ट भयो । तस्बिर थियो, घिसिङ र काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र साहबीचको भेटघाटको ।
खासमा यो भेटघाट हिजोको नभएर अस्तिको हो । बालेन्द्रलाई भेट्न ऊर्जामन्त्री घिसिङ उनको निवासमा पुगेका थिए । भेटवार्तामा वैकल्पिक शक्तिहरूबीचको ध्रुवीकरणकै विषयमा कुराकानी केन्द्रित भएको बुझिएको छ ।
आगामी निर्वाचनमा भाग लिने उद्देश्यसहित ‘उज्यालो नेपाल’ पार्टी स्थापना गरेका कुलमान बालेनको साथ र समर्थन लिन चाहन्छन् । यही सन्दर्भमा उनी बालेनलाई भेट्न गएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार बालेनले भेटवार्तामा वैकल्पिक शक्तिहरू एक ठाउँमा आएमा आफूले बाहिरै बसेर समर्थन गर्न सक्ने जनाउ दिएका थिए । उनले रास्वपा र उज्यालो नेपाल पार्टी एक हुनुपर्ने राय समेत प्रस्तुत गरेको स्रोतको भनाइ छ ।
‘यदि रास्वपा र उज्यालो नेपाल मिल्ने हो भने आफू निकट व्यक्तिहरू त्यसमा सहभागी हुन सक्ने र आफूले बाहिर बसेर समर्थन गर्ने आशय उहाँको छ,’ स्रोतले भन्यो ।
बालेनले निर्वाचन प्रयोजनका लागि कुनै पनि दल दर्ता गरेनन् । त्यसैले भएका दलमध्ये एउटालाई समर्थन गर्ने वा तटस्थ बस्ने उनको रणनीति छ । विवेकशील साझा पार्टीलाई मर्ज गरेपछि रास्वपा उत्साहित देखिन्छ । अन्य नयाँ पार्टी र समूहलाई पनि ल्याउने रास्वपाको प्रयास छ ।
रास्वपा र उज्यालो नेपालबीच एकताका लागि भरमग्दुर पहल भए पनि कुनै टुंगोमा पुग्न सकेको छैन । हिजो दल दर्ता गर्ने अन्तिम दिनसम्म सहमति जुटाउने प्रयास जारी थियो । तर, त्यो सफल भएन । तर, निर्वाचन आयोगले दुई पार्टीहरू एकता भएमा २० गतेसम्म विवरण अद्यावधिक गर्न सकिने भनेपछि फेरि अर्को चरणको प्रयासमा केही नेताहरू जुटेका छन् ।
दुई पार्टीबीच सैद्धान्तिकरूपमा खासै समस्या नरहे पनि पदीय बाँडफाँटमा कुरा नमिलेको हो । कुलमानले रवि कारगारमै रहँदाको अवस्थासम्म आफूले पार्टी कमाण्ड लिन चाहेका छन् । रास्वपा नेताहरू यसमा तयार छैनन् । उनीहरूले कुलमानलाई उपसभापति बन्न प्रस्ताव गरेका छन् ।

Leave a Reply