
नेपाल हिमाल जस्तै उचाइमा उभिएको, परम्पराले सिँगारिएको र भावनाले बाँधिएको देश हो। यही माटोमा जन्मेका हाम्रा सन्तान जब आफ्नो कर्म र अवसरका लागि टाढा जान्छन्, तब उनीहरूले साथमा लैजान्छन्- आफ्नो पहिचान, संस्कार र सिंगो नेपाल। आज विश्वका कुनाकाप्चामा पुग्दा पनि ती नेपाली हृदय नेपालमै धड्किरहेको हुन्छन् । यही आत्मीय सम्बन्धले उनीहरूलाई गैरआवासी नेपाली बनाउँछ। भौगोलिक रूपमा टाढा, तर भावनात्मक रूपमा मातृभूमिसँग अटुट रूपमा बाँधिएका नेपाली।
तर, यही सम्बन्ध कहिलेकाहीँ कानूनी व्याख्याको भुमरीमा पारेर कमजोर पारिन्छन्। दोहोरो नागरिकताको सीमित प्रावधान र कागजी प्रतिबन्धले कतिपय नेपालीलाई आफ्नै देशमा ‘पराई’ बनाइदिन्छ। यो केवल कानुनी प्रश्न होइन, यो अस्तित्व, पहिचान र आत्म सम्मानको प्रश्न हो। जन्मिँदा नेपाली भएर जन्मेको मान्छे, नेपाली नै भएर मर्न पाउनुपर्छ– यो केवल भावनात्मक नारा होइन, यो जन्मसिद्ध अधिकारको घोषणा हो।
आमा–बुबा फेर्न नसकिने जस्तै, देश र वंशजको नाता पनि फेर्न सकिँदैन। जन्मको आधारमा नेपाली भएको सन्तानले विदेशमा कर्म गर्न गए पनि उसले आफ्नो नेपालीपन कायम राख्न पाउनुपर्छ। उसको पासपोर्ट बदलियो होला,उसको नागरिकता बदलियो होला तर उसको माटो र मन बदलिँदैन।
आज विश्वमा लाखौँ नेपालीहरू विदेशमा छन्। कसैले आफ्ना बौद्धिक क्षमता लिएर, कसैले आफ्नो श्रम (मसल्स) लिएर। कतिले विश्वविद्यालयमा नेपाललाई गौरवान्वित बनाइरहेका छन्, कतिले निर्माण स्थलमा पसिना बगाएर नेपालको अर्थतन्त्र चलाइरहेका छन्। यही कारणले ‘ब्रेन ड्रेन’ र ‘मसल ड्रेन’ शब्द केवल पलायनका सूचक होइनन्, ती नेपालको अदृश्य शक्ति र समर्पणका प्रतीक हुन्।
यदि ईगल आईबाट हेर्ने हो भने, यी गैरआवासीय नेपालीहरू नेपालको विकासका पाँच आधार स्तम्भ- शिक्षा, स्वास्थ्य, आय, वातावरण र सामाजिक सुरक्षा अर्थात् (फाइभ ह्युमन इन्डेक्स) का वास्तविक चालक हुन्। विदेशबाट पठाएको रकमले गाउँका विद्यालय बन्दछन्, विदेशमा सिकेको सिपले उद्योग चल्छ। र त्यही अनुभवले नेपालको नीति सुधारमा प्रेरणा दिन्छ। उनीहरूले आफ्नो जीवन विदेशमा बिताए पनि सपना भने नेपालकै देखेका हुन्छन्।
विश्वका धेरै मुलुकहरू जस्तै अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत, फ्रान्स, जर्मनी, इटली, इजरायल, न्युजिल्यान्ड जस्ता देशले दोहोरो नागरिकताको नीति मार्फत आफ्ना नागरिकलाई विश्वव्यापी अवसरको ढोका खोलिदिएका छन् । तर, नेपालमा अझै पनि यस विषयमा बहस जारी छ । यो बहस केवल कानूनको होइन, हाम्रा सन्तानको आत्मसम्मानको बहस हो। किनकि, गैरआवासी नेपालीलाई नागरिकताको सहुलियत दिनु भनेको उनीहरुलाई देश प्रेमको मान्यता दिनु हो, उनीहरूलाई नेपालीपनको आशीर्वाद दिनु हो।
यदि तिनै गैरआवासीय नेपालीहरूलाई नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा बोल्ने, खेल मैदानमा नेपालको झण्डा ओड्ने वा वैज्ञानिक सम्मेलनमा ‘म नेपाली हुँ’ भनेर चिनाउने अवसर दियो भने त्यो नेपालको लागि केवल गौरव होइन, विकासको ठूलो फड्को हुनेछ। उनीहरूको सीप, अनुभव र अन्तर्राष्ट्रिय पहुँचले नेपाललाई विश्व नक्सामा नयाँ उचाइमा पुर्याउने छ।
नेपालले आफ्नो गैरआवासीय सन्तानलाई अँगालो हाल्न ढिलो गर्नु हुँदैन। किनकि उनीहरू पैसा पठाउने मात्र होइनन्, गर्व पठाउने नेपाली हुन्। उनीहरू आफ्नो मातृभूमिसँग जोडिएको बन्धन कहिले टुट्न नदिने बलियो बन्धन हो, चाहे दूरी जति नै लामो किन नहोस्।
आज आवश्यकता छ, नागरिकता सम्बन्धी कानूनलाई समयानुकूल र संवेदनशील बनाउने। वंशजका रूपमा जन्मिएका सन्तानलाई मातृभूमिसँग जोड्ने कानूनी र भावनात्मक सेतु निर्माण गर्ने। जन्मिँदा नेपाली भएर जन्मेकाले मर्ने बेलामा पनि नेपालीको सम्मान पाउने अधिकार सुनिश्चित गर्ने।
गैर आवासीय नेपाली हाम्रो राष्ट्रिय सम्पदा हुन्।, उनीहरू हाम्रो शक्ति हुन् र हाम्रो गौरव हुन्। जब नेपालले आफ्ना सन्तानलाई आत्मीयता र अधिकारसहित फर्काउन सक्नेछ, तब मात्र नेपाल साँच्चै समृद्धिको दिशामा अघि बढ्नेछ।
गैर आवासीय नेपालीको मताधिकार
जन्मिँदा नेपाली भएर जन्मिएको मान्छे नेपाली नै भएर मर्न पाउनुपर्छ। यो भावना केवल जन्मभूमि प्रतिको माया मात्र होइन। पहिचान, अधिकार र अस्तित्वको प्रतीक हो। तर विडम्बना यो छ कि आज हजारौँ नेपाली आफ्नै देशको लोकतान्त्रिक प्रक्रियाबाट टाढा परेका छन्।
सर्वोच्च अदालतले करिब आठ वर्षअघि विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्न आदेश जारी गरेको थियो। त्यो निर्णय ऐतिहासिक थियो, जसले नेपाललाई विश्व लोकतन्त्रको मूलधारमा उभ्याउने दिशामा एक ठूलो कदम चालेको थियो। तर त्यसपछि सरकार र नीति निर्माण गर्ने निकायहरू मौन रहे। निर्णय कार्यान्वयनको स्पष्ट नीति नबनाउँदा ती नागरिकहरू अझै पनि ‘मताधिकार विहीन नेपाली’ का रूपमा सीमित भएका छन्।
नेपालका हजारौँ युवा, श्रमिक, विद्यार्थी र व्यवसायी विभिन्न कारणले विदेशमा छन्। उनीहरूले आफ्नो पसिना र श्रमले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेका छन्। तर जब देशको भविष्य तय गर्ने बेला आउँछ, उनीहरूको आवाज मौन गरिन्छ। यो लोकतन्त्रको आत्मा माथिको अन्याय हो।
सम्मानित सर्वोच्च अदालतले नै विदेशमा रहने नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा भाग लिन पाउने अधिकार देउ भनेको छ, तर योजना, प्रविधि र इच्छा शक्तिको कमीले यो अधिकार केवल कागजमा सीमित रहेको छ। सरकारको ढिलासुस्तीले उनीहरूलाई राजनीतिक प्रतिनिधित्वबाट टाढा राख्ने मात्र होइन, मातृभूमिसँगको सम्बन्ध पनि बिस्तारै कमजोर बनाइरहेको छ।
अब समय आएको छ, सरकारले सर्वोच्च अदालतको आदेशलाई केवल कागजी निर्देशिकाको रूपमा होइन, व्यवहारमा उतार्ने प्रतिबद्धता देखाओस्। प्रविधिको युगमा अनलाइन मतदान प्रणाली वा सुरक्षित दूतावास केन्द्रित मतदान प्रक्रिया कार्यान्वयन गर्न असम्भव छैन। प्रश्न केवल चाहना र प्राथमिकताको हो
विदेशमा रहेका नेपालीहरूलाई मताधिकार दिलाउनु भनेको उनीहरूको अधिकार मात्र होइन, नेपालको लोकतन्त्रप्रति सम्मान र राष्ट्रिय एकताको पुन: स्थापना हो। जुन दिन विदेशमा बसेको नेपालीले गर्वका साथ भन्न सक्नेछ, ‘जन्मिँदा नेपाली भएर जन्मे, र नेपाली नै भएर मेरो देशमा मत दिए।’ त्यस दिन नेपालको लोकतन्त्र साँच्चिकै परिपक्व हुनेछ।
जन्मिँदा नेपाली भएर जन्मेको मान्छे, नेपाली नै भएर मर्न पाउनुपर्छ– यही चेतना, यही आत्मीयता र यही नीति नै समृद्ध नेपालको आत्मा बन्नुपर्छ।

Leave a Reply