
बुटवल । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि हिजो सम्पन्न भएको प्रतिनिधिहरूको निर्वाचनमा उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र रहेको रुपन्देही– २ मा स्वस्थ एवम् लोकतान्त्रिक अभ्यास अवलम्बन गरिएको छ ।
सबै आकांक्षीहरुलाई सहमतिको नाममा पूर्ववत् समयपछि निर्वाचनको कार्यतालिका प्रकाशन गरेर निर्वाचन प्रक्रियामा गएपछि धेरै पार्टी सदस्यले अपनत्व गरेको जनाएका छन् ।
मतदाताले व्यक्तिको योग्यता, योगदान, निष्ठा र इमान्दारितालाई निर्वाचनको मुख्य आधार बनाएको र निर्वाचनबाट आफ्ना प्रतिनिधि छान्न पाएको मतदातासमेत रहेका विश्लेषक ऋषि आजादले जनाएका छन् ।
यो निर्वाचनबाट गोपाल राना, वासुदेव घिमिरे, राजु गुरुङ, तेजेन्द्र केसी, बाबुराम भट्टराई, कुमार थापा, ज्ञानु केसी, कल्पना थापा, विमला श्रेष्ठ र बालकृष्ण पाण्डे प्रतिस्पर्धाद्वारा निर्वाचित भएका छन् ।
जिल्लास्तरको निर्वाचन क्षेत्रबाट सोही निर्वाचन क्षेत्रका एकराज विश्वकर्मा र बाबुराम विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । जसअनुसार बाहुन क्षेत्री चार जना (बाहुन दुई जना, क्षेत्री दुई जना), जनजाति पाँच जना (मगर तीन जना, गुरुङ एक जना, नेवार एक जना), महिला तीन जना, ४० वर्ष मुनीको युवा एकजना र दलित दुईजना निर्वाचित भएका छन् ।
प्रतिनिधिहरूको अनुहारमा निर्वाचन क्षेत्रको सामाजिक बनोट प्रतिबिम्बित भएको र लोकतान्त्रिक अभ्यासले सबैलाई चित्त बुझाएको एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जनाए ।
‘बुटवल क्षेत्रमा भएको निर्वाचनले जित्नेलाई पनि सम्मान भएको र जित्न नसक्नेलाई पनि सहज ढंगले स्वीकार गराएको छ, मलाई यस्तो निर्वाचनले कसैलाई अहित गर्दैन भन्ने लाग्छ’ उनले भने ।

Leave a Reply