विराटजंग शाहीले गरे एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । भूतपूर्व राष्ट्रिय फुटबल खेलाडी तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वउपाध्यक्ष विराटजंग शाहीले एन्फा अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै उनले संकटग्रस्त अवस्थामा रहेको नेपाली फुटबललाई उकास्न एन्फाको आगामी निर्वाचनमा अध्यक्षको उम्मेदवार बन्न लागेको बताएका हुन् ।

नेपाली फुटबलको दुरावस्था दर्शाउँदै शाहीले भनेका छन्, ‘हामीले रगत र पसिना बगाएर बनाएको नेपाली फुटबलको साख आज इतिहासकै गम्भीर मोडमा छ । भ्रष्टाचार र अनियमितताका चर्चा व्याप्त छन् । कुशासनको रोगले फुटबललाई कोमामा पुर्‍याइसकेको छ ।

मैदानबाट पूरा देशलाई जोड्ने फुटबल आज आफैँमा थुप्रै गुटमा विभाजित छ । घरेलु लिगको संरचना अस्तव्यस्त छ । खेल्न नपाएर विदेश जाने खेलाडीको एयरपोर्टमा लर्को लाग्न थालेको धेरै भयो । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको सहभागिता अब हार्नका लागि मात्र जस्तो हुन थालिसक्यो । नयाँ पुस्ताले फुटबलमा कुनै क्रेज र आशा देख्न छाडिसके । समर्थकहरूले फुटबलको चासो लिन छोडिसके ।’

शाहीले यस्तो पीडादायी यथार्थका बीच आफ्नो खेलाडी मन चुप लागेर बस्न नमानेका बताएका छन् । अब पनि नेपाली फुटबललाई यी सबै बेथिति र विसङ्गतिबाट मुक्त नगर्ने हो भने नेपालमा फुटबल इतिहासको पानामा सीमित हुने उनको भनाइ छ ।

‘सुशासन स्थापना गर्दै नेपाली फुटबलको ओरालो लागेको यात्रालाई रोक्न र यसको गुमेको गरिमा फर्काउन इमान्दार र सक्षम नेतृत्व पहिलो आवश्यकता हो । नेपाली फुटबलको यही आवश्यकता पूर्तिका लागि म, पूर्वराष्ट्रिय खेलाडी विराटजंग शाही एन्फाको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दछु,’ उनले विज्ञप्तिमा लेखेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *