
काठमाडौं । क्रिकेटमा कसले पहिले ब्याटिङ वा बलिङ गर्ने भन्ने निर्णय लिन टस गरिन्छ । दुई टिमका कप्तानले सिक्काको दुई पाटो (हेड वा टेल) मध्ये एउटा रोज्छन् र एकजनाले सिक्का फ्याँक्छन् । जसले रोजेकोतिर पल्टिन्छ, उसले टस जित्छ र बलिङ वा ब्याटिङमा एउटा छान्न पाउँछ ।
सिद्धान्त छ टस गर्दा कुनै पनि टिमले जित्ने सम्भावना ५० प्रतिशत हुन्छ, किनकि यो क्षमताको नभएर भाग्यको खेल हो । तीन-चार खेलसम्म लगातार टस हार्नु दुर्भाग्य मान्न सकिन्छ । तर, एउटै टिमले लगातार १९ पटक टस हार्यो भने त्यसलाई के मान्ने ? हजुर, यही अपत्यारिलो रेकर्ड राखेको छ, एक दिवसीय अन्तर्राष्ट्रियमा हाम्रो छिमेकी भारतले ।
दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज अन्तरगत पहिलो म्याचमा आज भारतले टस हार्यो । यो भारतले लगातार टस हारेको १९ औँ पटक हो । सन् २०२३ मा आयोजित विश्वकप फाइनल यता भारतले एउटा पनि ओडिआईमा टस जितेको छैन । यसको अर्थ दुई वर्षदेखि भारतीय टिमले बलिङ वा ब्याटिङ रोज्न पाएको छैन । गणितीय रूपमा भन्ने हो भने एउटा टिमले लगातार १९ औं पटक टस हार्ने सम्भावना ०.०००१९ प्रतिशत हुन्छ ।
सन् २०२४ मा भारतले एकदिवसीय मात्र नभएर टी २० र टेस्टमा पनि अधिकांश टस हार्यो । तर, पनि २०२४ यता सर्वाधिक टस हार्ने टिम भारत होइन । सबैभन्दा बढी वेस्ट इन्डिजले ५४ पटक टस हारेको छ । दोस्रोमा रहेको भारतले ५१ पटक र तेस्रोमा बंगलादेशले ४५ पटक टस हारेका छन् ।

Leave a Reply