योजना कमिसन मागिएको वा लिइएको छैन, प्रमाण भए कारबाही गर्छौ : भूमि मन्त्री थापा

कैलाली । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले कुनै पनि योजनामा कमिसन मागेको वा लिएको पाइएका कडा कारबाही हुने बताएका छन् ।

आज धनगढीमा पत्रकार भेटघाट कार्यक्रममार्फत आफ्नो कार्यकालमा कुनै पनि कमिसनको खेल नभएको उनले दाबी गरे । ‘मेरो कार्यकालमा यो मन्त्रालयबाट कुनै कमिसनको खेल भएको छैन ’ उनले भने ‘त्यस्तो कहीँ कतै भएको प्रमाणसहित दिनुभयो भने कडा कारबाही हुनेछ । ’

नवजीवन सहकारी धनगढीका अध्यक्ष देवबहादुर बमले प्रदेश सरकारले खुलेआम घुस माग्ने गरेको आरोप लगाएका थिए । पाँच करोड अनुदान दिँदा एक करोड घुस मागेको आरोप लगाएपछि भूमि मन्त्री थापाले त्यस्तो नभएको प्रस्टीकरण दिएका हुन् ।

‘भ्रष्टाचारको अखडा भनेको सुदूरपश्चिम प्रदेश सरकार, पैसा नदिई कुनै काम हुँदैन । नवजीवनले कोल्ड स्टोर बनाउन प्रपोजल हाल्यो, डेढ बिघा जग्गा किन्यो र प्रदेश सरकारले पाँच करोड विनियोजन गर्‍यो। नवजीवनले दस करोड हाल्छ भन्दाखेरी एक करोड घुस मागियो,’ सामाजिक सुरक्षा दिवसको अवसरमा बिहीबार धनगढीमा आयोजित कार्यक्रममा उनले भनेका थिए ‘त्यसको प्रत्यक्षदर्शी म छु काँ गएर भन्नुपर्छ, म भन्छु।’

सहकारी अध्यक्षले सार्वजनिक कार्यक्रममै रकम तोकेर घुस मागेको आरोप लगाएपछि मुख्यमन्त्री कमल बहादुर शाहले तत्काल नै त्यस विषयमा चासो राखेका थिए । उनले विभागीय मन्त्रीलाई सत्यतथ्य बुझ्न निर्देशन दिएका थिए ।

आज मन्त्री थापाले आफूले २ वर्षको बजेट ल्याएको प्रस्ट पार्दै बजेटमा कोल्ड स्टोर सम्बन्धी कुनै अनुदान नरहेको बताएका थिए । उनले आफूभन्दा अघिल्लो कार्यकालमा उक्त रकम विशेष अनुदानमार्फत रहेको जानकारी दिँदै त्यो रकम फ्रिज भएको बताए ।

‘मेरो कार्यकालमा त्यो विषयको कुनै बजेट छैन । त्यस अघि सोही रकमको बजेट देखिएको छ। त्यो काम नभएर फ्रिज भयो’ मन्त्री थापाले भनेका थिए ‘त्यसमा कसैले घुस मागेको भए प्रमाण दिनुहोस् हामी कारबाही गर्छौ ।’

आफूले यस विषयमा आरोप लगाएका व्यक्तिलाई पनि प्रमाण भए दिन भन्दै गल्ती गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको बताएका थिए ।उनले अहिलेसम्म प्रमाण पेस गर्न नसकेको मन्त्री थापाको भनाइ थियो ।

कसैको निराधार आरोपमा मात्रै केन्द्रित नभएर त्यसमा खोजीनिती गरेर समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *