
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा ७५ वटा मतदान स्थल थपिने भएका छन् ।
निर्वाचन आयोग उच्च स्रोतका अनुसार २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता हुँदा १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र रहेका थिए ।
अहिले करिब ८ लाख मतदाता थपिएसँगै ७५ वटा मतदान स्थल र थपिएका मतदान स्थलको करिब दोब्बरदेखि तेब्बर मतदान केन्द्र थप हुने अनुमान गरिएको छ ।
आयोगका अनुसार एउटा मतदान स्थलमा एउटादेखि ८ वटासम्म मतदान केन्द्र रहँदै आएका छन् । जसमा एउटा मतदान केन्द्रमा १०६४ जना मतदाताले एक दिनमा मतदान गर्ने गरी मतदान केन्द्र स्थापना गरिँदै आएको छ । आयोगका अनुसार मतदान स्थल ७५ वटा थपिने भए पनि मतदान केन्द्र भने कति हुने भन्ने आगामी २० गतेसम्म मात्रै निर्क्यौल हुने जनाइएको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् । यसमा निर्वाचन कार्यालय पुगेर बायोमेट्रिक दिने मतदाताको संख्या ३ लाख ४४ हजार ९ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत दर्ता हुनेको संख्या ४ लाख ९२ हजार १८० गरेर ८ लाख भन्दा बढी मतदाता थपिएका हुन् ।
थपिएको मतदाता सबै कायम भएको अवस्थामा आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा मतदाताको संख्या १ करोड ९० लाख ५ हजार ३ सय १४ पुग्नेछ । आयोगका अनुसार पछिल्लो पटक मतदाता नामावली दर्ता खुलाउनुअघि कात्तिक १६ सम्म १ करोड ८१ लाख ६८ हजार २ सय ३० मतदाता थिए ।

Leave a Reply