
काठमाडौं । रास्वपामा प्रवेश गरेकी विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले आफूहरू बिलाउन नभएर मिलाउन आएको बताएकी छन् । आज एकता घोषणा कार्यक्रममा बोल्दै उनले रास्वपामा आएर भाँडभैलो नगर्ने प्रतिबद्धता जनाइन् ।
आफूहरूले टुटफुटबाट ठूलो पाठ सिकेर आएको दर्शनाको भनाइ छ । अबको राजनीति टुटेर होइन जुटेर हुनुपर्ने उनले बताइन् । आउँदो निर्वाचनबाट रास्वपाले बहुमत ल्याउनै पर्ने भन्दै उनले त्यसपछि मात्रै देशले आर्थिक उन्नतिको बाटो समात्ने दाबी गरिन् ।
उनको अभिव्यक्तिका प्रमुख अंशः
यिनीहरूले रास्वपामा आउनेवित्तिकै भाँडभैलो मच्चाउँछन् कि भनेर कतिपयलाई आशंका छ । हामीले टुटफुटबाट ठूलो पाठ सिकेका छौँ । टुटेर होइन, जुटेर हुन्छ भनेर हामीले सिक्यौँ । त्यसैले अबको राजनीति जुट्ने हुनुपर्छ । अब आउने निर्वाचनबाट यो पार्टीले बहुमत ल्याउनै पर्छ । तब मात्रै हामी एक दशकमा आर्थिक उन्नतिमा पुग्न सक्छौँ । त्यही लोभले पनि मिल्नैपर्छ भन्ने जोड आएकै हो ।
१७ वर्षको उमेरमा राजनीतिमा लागेको म । १२ वर्षपछि यस्तो अवस्था व्यहोर्छुहोला भन्ने कल्पना गरेको थिइनँ । विवेकशील नेपालीको जग बनाउँदै गर्दा त्यही जगमा टेकेर रास्वपाले यति ज्वलन्तरुपमा संसदमा हस्तक्षेपकारी भूमिका खेल्छ भन्ने पनि त लागेको थिएन । रवि लामिछानेले छोटो समयमै देशका सार्प ब्रेनहरूलाई एउटा प्लेटफर्ममा कलेक्ट गरेर संसदमा पठाउनुभयो । त्यो कुरा गर्न ठूला पार्टीसँग धेरै समय थियो नि, उहाँहरूले गर्नुभएन, रास्वपाले गर्यो । त्यसको प्रशंसा सधैँ गरिरहनेछु ।
हामीले स्वतन्त्र उम्मेदवार पनि धेरै देखेउँ । स्वतन्त्र हुन्छु भन्ने साथीहरूलाई भन्न चाहन्छु, संगठनमै भएर काम गर्नुभयो भने एकताको बल बलियो हुन्छ, आउनुस् मिलेर काम गरौँ । मिलेर गरे मात्रै केही रिजल्ट देखाउन सकिन्छ । म विश्वास दिलाउन चाहन्छु, भाँडभैलो हुँदैन । भाँडभैलो गर्न आएको होइन । टुटफुटबाट राम्रै पाठ सिकिसकेका छौँ ।
म १७ वर्षको कलिलो उमेरमा राजनीति गरेको, १२ वर्षपछि एउटा सशक्त पार्टीमा आउन पाउँदा निकै हर्षित महसुस भएको छ । यो क्षण निकै भावनात्मकरुपमा भारी क्षण पनि हो । आफैँले बनाएको घर, आफैँले बोकेको तराजु… केही परिवर्तन भएका छन् । तर यो विवेकशील राजनीतिको निरन्तरता हो ।
भोलि अरू कुनै पार्टीले नेपाल बन्द गर्यो भने हामीले नेपाल खुल्ला छ भनेर र्याली निकाल्दा रास्वपामा कारबाही हुँदैन होला । हामी एजेन्डालाई मिलाउन अगाडि आएका छौ । पद गौण हो । पदका लागि साथीहरू क्यापेबल हुनुहुन्छ । महाधिवेशन आउँदैछ । महाधिवेशनमा ल्याकत देखाऊँ । अहिलेका लागि चुनाव केन्द्रित होऊँ ।

Leave a Reply