
काठमाडौं । हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले आइतबार चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा चलचित्रका सबै मुख्य पात्रलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको यहीँ चलचित्रबाट अभिनेता गणेश उप्रेती लामो समयपछि सिने जगतमा कमव्याक गर्दैछन् । यो चलचित्र छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपाल फर्किएका थिए ।
चलचित्रमा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायतका कलाकारको अभिनय छ ।
यो चलचित्रमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । बाल कलाकारमा दिप्सन चिलवालले अभिनय गरेका छन् भने चलचित्रको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।
निर्देशक घिमिरे स्वयंको कथा रहेको चलचित्रको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले मिलेर लेखेका छन् । अनिशा सेन्दाङ लिम्बुले निर्माण गरेको चलचित्रमा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह(निर्माता रहेका छन् ।

Leave a Reply