क्यालिफोर्नियामा गोली चल्दा चार जनाको ज्यान गयो

काठमाडौं । क्यालिफोर्नियाको स्टकटनस्थित एक बैंक्वेट हलमा पारिवारिक जमघट चलिरहेका बेला भएको भीषण गोलीकाण्डमा चारजनाको मृत्यु भएको छ । १० जना घाइते भएको सान जोआक्विन काउन्टी शेरिफ अफिसले जनाएको छ ।

मृतक र घाइतेमध्ये बालबालिकादेखि वयस्कसम्म समावेश रहेको शेरिफ अफिसका प्रवक्ता हिथर ब्रेन्टले जानकारी दिए ।

प्रारम्भिक तथ्याङ्कका आधारमा घटनालाई लक्षित हमलाका रूपमा हेर्न सकिने सङ्केतहरू भेटिएको ब्रेन्टले घटनास्थलमै आयोजित पत्रकार सम्मेलनमा बताए । यद्यपि, घटनामा संलग्न संदिग्ध बन्दुकधारीलाई अधिकारीहरूले अझै पक्राउ गर्न सकेका छैनन् । सम्बन्धित व्यक्तिको पहिचान तथा उद्देश्यमाथि जासुसहरूले तीव्र रूपमा अनुसन्धान जारी राखेका छन् ।

सान जोआक्विन काउन्टीका जिल्ला अधिवक्ता रोन फ्रिटासले जनतासँग सहयोगको अपिल गर्दै भने, ‘यदि तपाईँसँग यस व्यक्तिबारे कुनै पनि जानकारी छ भने तुरुन्तै सम्पर्क गर्नुहोस् । यदि तपाईं नै सो व्यक्ति हुनुहुन्छ भने तत्काल आफूलाई आत्मसमर्पण गर्नुहोस् ।’

घटनाको समय साँझ ६ बजेभन्दा केहीअघि थियो । बैंक्वेट हल एक यस्तो स्थानमै अवस्थित छ, जसले छेउछाउका अन्य व्यवसायहरूसँग साझा पार्किङ क्षेत्र प्रयोग गर्छ । स्याक्रामेन्टोबाट करिब ४० माइल (६४ किलोमिटर) दक्षिणतर्फ पर्ने करिब ३२ हजार जनसङ्ख्या भएको स्टकटनमा यस प्रकारको भीषण घटनापछि स्थानीयबासी आत्तिएका छन् ।

स्टकटनकी मेयर क्रिस्टिना फुगाजीले घटनाप्रति दुःख व्यक्त गरिन् । ‘परिवारहरू अस्पतालको वार्डमा होइन, एकअर्कासँगै घरमै हुनुपर्छ । उनीहरू आफ्ना प्रियजनको जीवन बचोस् भनी प्रार्थना गरिरहेका छन्, यो अत्यन्त पीडादायी स्थिति हो ।’

अधिकारीहरूले घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण भने तत्काल सार्वजनिक गरेका छैनन् । प्रारम्भिक सूचनाअनुसार धेरै घाइतेलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ ।

रासस/एपी

 

 

To download file please go through following link:

http://rssnepal.org.np/api/fetch/file?renderType=download&path=image_text%5C202511%5C202511301305-e985e5ad-1947-4783-809c-ee767b60082d.jpg

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *