लुम्बिनीबाट एमालेका प्रतिनिधि– निर्वाचन भन्दा सर्वसम्मत भएका ठाउँमा असन्तुष्टि, संस्थापन पक्षकै वर्चश्व

रुपन्देही । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये ११ मा शनिवारै प्रतिनिधि छनौट भएका छन् भने रोल्पामा आज निर्वाचन भइरहेको छ ।

मंसिर २७ गतेदेखि २९ गतेसम्म हुने एघारौँ महाधिवेशनका लागि प्रदेशबाट १९० जना प्रतिनिधि छनौटमध्ये रोल्पाको बाहेक सबै क्षेत्रको टुंगो लागेको हो । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले रोल्पाका केही क्लष्टरमा अहिले निर्वाचन भइरहेको र अन्य सबै स्थानमा सकिएको जानकारी दिए ।

लुम्बिनी प्रदेशमा एमालेका ८२ हजार १ सय ३५ सङ्गठित सदस्य छन्। तीमध्येबाट भूगोल, कमिटी र जनसङ्गठनबाट गरी १ सय ९० जना प्रतिनिधि छनौटका लागि केन्द्रबाट दिइएको समयमा नै सबै स्थानमा सकिएको र रोल्पामा मात्रै बाँकी रहेको कँडेलले जनाए ।

धेरै स्थानमा सर्वसम्मत र केही स्थानमा निर्वाचन भएको भए पनि सर्वसम्मत प्रतिनिधि चयन गरिएका दाङ र बाँकेमा विवाद बढेपछि केन्द्रमा नै उजुरी परेको छ । ती जिल्लामा प्रतिनिधि छनौटको क्षेत्राधिकार नै मिचेर गरिएकाले उजुरी दिइएको असन्तुष्ट पक्षले जनाएका छन् ।

एमालेको केन्द्रीय कमिटीमै सात जना पदाधिकारी रहेको लुम्बिनी प्रदेशमा प्रतिनिधि चयनको विषय सबैका लागि चासोको विषय बनेको हो ।
लुम्बिनीमा अहिले केन्द्रमा देखिएजस्तै गरी ओली पक्ष र ईश्वर पक्ष कसका प्रतिनिधि कति भन्ने प्रष्ट नभए पनि अधिकांश जिल्लामा धेरै प्रतिनिधि अध्यक्ष केपी ओली पक्षकै वर्चस्व देखिएको छ ।

तर, पहिले संस्थापन पक्षमा देखिएर प्रतिनिधि छानिए पनि पछि केन्द्रीय समीकरणअनुसार फेरिन सक्ने आङ्कलन पनि केही नेताहरूले गरेका छन्। पहिले एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको नाममा जिल्ला तहका कार्यकर्ताहरू भने समूह बनाएरै विभाजित बन्दै आएकोमा अहिले केन्द्रमै एकै समूहमा रहेकाले जिल्लामा गुट बनाउन ती पक्षका नेता कार्यकर्ताहरूलाई सङ्कट आइलागेको हो ।

लुम्बिनी प्रदेशबाट एमालेका उपाध्यक्ष विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र टोपबहादुर रायमाझी (निलम्बित) रहेकाले उनीहरूमध्ये अधिकांश संस्थापन पक्षमै देखिएकाले प्रतिनिधिहरू पनि त्यही पक्षबाट धेरै आएका हुन् । तर संस्थापन पक्षले अपेक्षा गरेअनुसार सबै क्षेत्रमा कमजोर बनाउन भने नसकेका हुन्।

लुम्बिनी प्रदेश कमिटी, मजदुर, दाङ, पाल्पा, रुपन्देहीबाट अपेक्षा गरेभन्दा धेरै प्रतिनिधि आफ्नो पक्षमा आएको ईश्वर पक्षमा बोल्ने नेताहरूको आङ्कलन छ । संस्थापन पक्षमा असन्तुष्ट भएकाहरू पनि उपाध्यक्ष विष्णु पौडेलको पक्षमा रहेकाले ईश्वर पक्षमा कति खुले अझै पुष्टि नभएको उनीहरुको भनाइ छ ।

एमालेको केन्द्रीय सङ्गठन विभागले जारी गरेको सर्कुलर अनुसार लुम्बिनी प्रदेशका लागि खुलाबाट ८० जना, महिला ५३, युवा २६, दलितबाट १९, मजदुरबाट ७ र प्रदेश कमिटीबाट ५ जना गरी १ सय ९० जना प्रतिनिधि तोकिएको छ। महाधिवेशन प्रतिनिधिका लागि बिहीबार उम्मेदवारी दर्ता भएको थियो। कतिपय जिल्ला र क्षेत्रमा सर्वसम्मत रूपमा प्रतिनिधि चयन भए पनि सहमति जुट्न नसकेका जिल्ला र क्षेत्रमा निर्वाचन भएको हो।

१२ जिल्ला रहेको लुम्बिनी प्रदेशका ५ जिल्लामा सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन्। सर्वसम्मत हुन नसकेका ४ जिल्लामा निर्वाचनबाट प्रतिनिधि छनोट गरिएको छ भने रोल्पामा अहिले निर्वाचन हुँदै छ।

प्रदेशका अध्यक्ष कँडेलका अनुसार पूर्वी रुकुम, प्युठान, बर्दिया, कपिलवस्तु र गुल्मीमा सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका हुन्। सर्वसम्मत प्रतिनिधि चयन गरिएको भनिएको दाङ र बाँकेमा विवाद निम्तिएको छ। दाङमा निर्वाचनको प्रक्रियामै नगई विधि विपरीत एकलौटी ढङ्गले प्रतिनिधि चयन गरिएको भन्दै लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुसालले पार्टीको केन्द्रीय सङ्गठन विभागमा उजुरी हालेका छन्।

प्रतिनिधि चयनका लागि केन्द्रीय सङ्गठन विभागले जारी गरेको सर्कुलर विपरीत मतदाता नामावली र निर्वाचन कार्य तालिका नै प्रकाशित नगरी प्रतिनिधि छानिएको भन्दै भुसालले उजुरी हालेका हुन्। यहाँको विषयमा अरू धेरै प्रदेश कमिटी र जिल्ला कमिटीमै रहेका नेताहरूले असन्तुष्टि जनाएका छन् ।

प्रदेश कमिटी सदस्य तथा प्रचार विभाग उपप्रमुख सरिता सुवेदीले प्रतिनिधि छनौटको मापदण्ड बाहिर गएर गरिएकोले समस्या आएको जनाइन् । एमाले प्रदेश अध्यक्ष कँडेलले पनि प्रतिनिधि चयनको विषयमा दाङ र बाँकेमा विवाद देखिएकाले त्यो विषयमा तत्कालै केन्द्रमा जानकारी दिएका जनाए ।

‘बाँके र दाङको समस्याका विषयमा मैले तत्कालै केन्द्रमा जानकारी गराएको छु, कम्तीमा ती जिल्लाको नेतृत्व र त्यहाँ रहेको निर्वाचन समितिले प्रतिनिधि छनौटका आधारभूत विषयमा बुझ्नुपर्ने थियो’ उनले नेपाल प्रेससँग भने –कति वर्ष सदस्यताको समय भयो हेर्नुपर्थ्यो, प्रक्रियामै नगई प्रतिनिधि चयन गरिएको भए सङ्गठन विभागले रद्द गर्छ र समयमा भए त्यो स्थानमा अर्को प्रतिनिधि चयन हुनेछ ।’

दाङबाट २३ जना र बाँकेबाट १५ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएको त्यहाँको निर्वाचन समितिले रिपोर्ट सार्वजनिक गरेको छ । रोल्पामा भने युवा र दलित प्रतिनिधि सर्वसम्मत चयन भए पनि खुला र महिला प्रतिनिधिमा सहमति नजुटेपछि अहिले निर्वाचन हुँदै छ। रोल्पाबाट खुला २, महिला २, युवा १ र दलित १ गरी ६ जना प्रतिनिधि चयन हुनेछन्।

दुई जना खुला प्रतिनिधिका लागि तीन जना र दुई जना महिलाका लागि चार जनाको उम्मेदवारी परेपछि अहिले निर्वाचनको प्रक्रिया अगाडि बढाइएको एमाले रोल्पाका अध्यक्ष अमृत बुढाले बताए। यस्तै रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा र अर्घाखाँचीमा भने शनिवार निर्वाचनबाट प्रतिनिधि चयन गरिएको छ।

लुम्बिनीमा सबैभन्दा बढी रुपन्देहीबाट ३४ जना प्रतिनिधि चयन भएका छन्। रुपन्देहीका क्षेत्र नं। ३ र ५ मा सर्वसम्मत रूपमा प्रतिनिधि चयन भए पनि क्षेत्र नं। १, २ र ४ मा भने निर्वाचनबाट छनोट गरिएको हो। त्यस्तै गुल्मीबाट २०, बर्दियाबाट १५, कपिलवस्तुबाट १५, पाल्पाबाट १४, अर्घाखाँचीबाट १३, पश्चिम नवलपरासीबाट ११, प्युठानबाट ८ र पूर्वी रुकुमबाट ५ जना प्रतिनिधि चयन भएका हुन्।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *