समिक्षा र रञ्जु दर्शनालाई ‘संघीय नेतृत्व मञ्च’मा समेट्दै रास्वपा, केन्द्रीय सदस्यसरह हैसियत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज एकता घोषणा हुँदैछ । कुनै पनि पदीय बार्गेनिङबिना निशर्तरुपमा विवेकशीलको नेतृत्व रास्वपामा समाहित हुन लागेको दुवै पक्षका नेताहरुले बताएका छन् ।

आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम हुन लागेको हो । एकताका लागि लामो समयदेखि विभिन्न चरणमा वार्ता र छलफलहरु भएका थिए । तर, विवेकशीलको नेतृत्व रास्वपामा कसरी मर्ज हुन्छ भन्ने अहिलेसम्म सार्वजनिक गरिएको छैन । रास्वपामा समाहित भएसँगै विवेकशीलको अस्तित्व भने मेटिने छ ।

रास्वपाले गत १२ मंसिरमा भर्चुअल बैठक गरेर विवेकशील साझासँग एकीकरण प्रस्तावलाई अनुमोदन गरेको थियो । त्यससँगै पार्टीले ‘संघीय नेतृत्व मञ्च’ नामक एउटा नयाँ संयन्त्र निर्माण गर्ने प्रस्ताव पनि सो बैठकले गरेको थियो । रास्वपामा समाहित हुन आउने वैकल्पिक धारका नेताहरुलाई यो मञ्चमा समेट्ने रणनीति रास्वपाले बनाएको छ । पार्टीका प्रवक्ता मनिष झाका अनुसार यो संरचना अस्थाइ हो, जुन पार्टीको आगामी महाधिवेशनसम्म मात्रै कायम रहनेछ ।

रास्वपामा १२१ सदस्यीय केन्द्रीय समिति रहने विधानमा व्यवस्था छ । तर, अहिले केन्द्रीय सदस्य ५८ जना मात्रै छन् । महाधिवेशनअघि केन्द्रीय सदस्य थप्नु वाञ्छनीय नहुने भएकाले नयाँ संरचना निर्माण गरिएको प्रवक्ता झा बताउँछन् ।

उनले भने, ‘अब हामी महाधिवेशनसम्म नयाँ केन्द्रीय सदस्य थप्दैनौं । रास्वपामा आउने वैकल्पिक धारका नेताहरुलाई संघीय मञ्चमा समेटिने छ भने पार्टीभित्रैका केन्द्रीय सदस्य बन्न योग्य नयाँ साथीहरुलाई पनि यसमा राखिने छ ।’

संघीय नेतृत्व समितिका सदस्यहरुको केन्द्रीय सदस्य बराबर नै राजनीतिक हैसियत रहने छ । समितिमा रहेका नेताहरुले रास्वपामा आवश्यकता अनुसार विभिन्न जिम्मेवारी र भूमिका पाउन सक्नेछन् ।

स्रोतका अनुसार विवेकशील साझाबाट रास्वपामा आउने प्रमुख नेताहरुलाई संघीय नेतृत्व समितिमा स्थान दिने तयारी छ । विवेकशील साझाकी अध्यक्ष समिक्षा बास्कोटा र महासचिव रञ्जु दर्शना यसै समितिमा रहने छन् । अरु कोको नेताहरुलाई स्थान दिने भन्ने टुंगो लागिसकेको छैन ।

संघीय नेतृत्व समितिमा ५१ जनाको आसपासमा सदस्य रहने बुझिएको छ । रास्वपाका केन्द्रीय सदस्यहरु यो समितिमा रहने छैनन् । पार्टी पदाधिकारीमध्ये एक जनालाई संयोजकको जिम्मेवारी दिइने छ ।

विवेकशीलले आफूहरुलाई यति नै भाग चाहिन्छ भनेर मागदावी गरेको छैन । यद्यपि, विवेकशीलका नेतृत्वपंतिलाई उनीहरुको क्षमता, अनुभव हेरेर सम्मानजनक स्थान दिइने रास्वपा नेताहरुले बताएका छन् । यो विषयमा तत्काल छलफल र सहमति भने हुने छैन ।

निशर्त एकता भनिएकाले तत्काली विवेकशीललाई पार्टीभित्र दिने हिस्साबारे कुनै सहमति नगरिने एक पदाधिकारीले जानकारी दिए । विवेकशीलका नेताहरुलाई तत्काल केन्द्रीय सदस्यमा मनोनित गरिने छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *