साविक विजेता जनकपुर बोल्ट्सको बिर्सनलायक प्रदर्शन, समूह चरणबाटै बाहिरिने संघारमा  

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सिजनको विजेता जनकपुर बोल्ट्स दोस्रो सिजन भने नराम्ररी लड्खडाएको छ । टीयु मैदानमा जारी प्रतियोगितामा जनकपुरले हिजो लगातार चौथो हार व्यहोर्दै समूह चरणबाटै बाहिरने संघारमा पुग्यो ।

जनकपुरले अब प्लेअफमा स्थान बनाउन बाँकी सबै तीन खेल जितेर मात्रै पुग्ने छैन । अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्छ । पहिलो सिजनमा सुरुआतदेखि नै विजय यात्रामा रहेको टिम दोस्रो सिजनमा यो स्थितिमा पुगने अपेक्षित होइन । आखिर किन जनकपुर यस्तो दलदलमा पर्यो त ?

जनकपुरलाई पहिलो सिजनमा विजेता बनाउन विदेशी खेलाडीहरुको अहम् भूमिका थियो । तीमध्ये एक थिए न्यूजिल्यान्डका जिम्मी निसम । आइसीसीको नियमका कारण निसमलाई चाहेर पनि जनकपुरले रिटेन गर्न सकेन । उनी दोस्रो सिजनमा पोखरा एभेन्जर्समा आवद्ध भएका छन् । पहिला सिजनमा लयमा रहेका हर्ष थाकरलाई पनि जनकपुरले रिटेन गरेन । निशम र हर्षले ब्याटिङ र बलिङ दुवैबाट जनकपुरलाई योगदान दिएका थिए ।

पहिलो सिजनमा सर्वाधिक रन बनाएका जनकपुरका ओपनर लाहिरु मिलान्था यसपटक खासै चल्न सकेका छैनन् । पहिलो खेलमा काठमाण्डु गोर्खाजविरुद्ध ७ रन बनाएका उनी दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध २३ रनमा आउट भए । दुवै खेलमा जनकपुर पराजित भयो । त्यसपछि उनी बाँकी दुई खेलमा प्लेइङ–११ मा अटाएनन् । जनकपुरले अनुबन्ध गरेका दक्षिण अफ्रिकाका अनुभवी बलर इमरान ताहिर अहिलेसम्म पनि आइपुगेका छैनन् ।

दोस्रो सिजनको सुरुआती चार खेल हेर्दा जनकपुरको समस्या टपअर्डर ब्याटिङमै देखिन्छ । जनकपुरले कुनै पनि खेलमा राम्रो सुरुआत गर्न सकेको छैन । पहिलो खेलमा ३४ रनमा पहिलो विकेट गुमाएको जनकपुरले त्यसपछि थप १२ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमायो । दोस्रो खेलमा १९ रनमा पहिलो विकेट गुमाएको जनकपुरले त्यसपछि पनि विकेट सम्हाल्न सकेन । तेस्रो खेलमा ७ रन जोड्दा पहिलो विकेट गुमाएको जनकपुरले ४३ रन जोड्दा ६ विकेट गुमाउन पुग्यो । चौथो खेलमा पनि विकेट जाने क्रम रोकिएन । ५ रन जोड्दा पहिलो विकेट गुमाएको जनकपुरले ३५ रन जोड्दा ३ विकेट गुमाउन पुग्यो ।

पावर प्लेमा रन बनाउन सकेमा त्यसपछि आउने ब्याटरलाई खुलेर खेल्न सजिलो हुन्छ । तर, जनकपुरले पावर प्लेमा धेरै विकेट गुमाइरहेको छ । ४ खेलको पावर प्लेमा मात्रै १० विकेट गुमाएको अवस्था छ । जनकपुरको टप अर्डर यसपटक फ्लप भएको छ । ओपनर आसिफ शेख एउटा खेलमाबाहेक चल्न सकेका छैनन् । अनिलको ब्याटबाट कुनै पनि खेलमा रन आउन सकेको छैन । खराब प्रदर्शनका कारण अघिल्लो म्याचमा उनी स्वयम् टिममा अटाएनन् ।

ओपनिङसहित टपअर्डर चल्न नसक्दा जनकपुरले विभिन्न प्रयोग गरिरहेको छ । तर, सफल हुन सकेको छैन । पहिलो र दोस्रो खेलमा लाहिरु मिलान्था र आसिफ शेखले ओपनिङ गरे । तेस्रो नम्बरमा कप्तान अनिलकुमार साह आए । तेस्रो र चौथो खेलमा लाहिरुलाई बेन्चमा राख्दै जनकपुरले आसिफ र माज सदाकतलाई ओपनिङमा पठायो । त्यो पनि सफल हुन सकेन । तेस्रो खेलमा तेस्रो स्थानमा शुभ कंशाकारलाई पठायो । त्यो रणनीति पनि काम लागेन । चौंथो खेलमा कप्तान अनिललाई बेन्चमा राख्दै वायन पार्नेललाई कप्तानको जिम्मेवारी दियो । चौथो खेलमा तेस्रो नम्बर पुनः परिवर्तन गर्दै मयन यादवलाई पठायो । तर हारको श्रृंखला टरेन ।

मिडल अर्डरमा कुनै खेलाडीले विकेट होल्ड गर्न कोसिस गरेपनि अन्य खेलाडीले साथ नदिँदा टोलीले ठूलो स्कोर बनाउन चुकिरहेको छ । पहिलो खेलमा ओपनर आसिफ शेखले ५४ रन बनाए । दोस्रो खेलमा मिडलअर्डरमा आएर जोन निकोल लोफ्टी इटोनले ४१ रन बनाए । तेस्रो खेलमा लोअर्डरमा आएर वायन पार्नेल चम्किए । उनले ३८ बलमा ५० रन बनाए । चौथो खेलमा सञ्जयले ३८ बलमा ५० रन बनाए । तर, लामो साझेदारी हुन नसक्दा स्कोर ठूलो बन्न सकेन । हालसम्मका कुनै पनि खेलमा जनकपुरका ब्याटरले लामो साझेदारी गर्न सकेका छैनन् । चौथो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध सञ्जय र आदित्य मेहताले गरेको ५५ रनको साझेदारी नै जनकपुरको सर्वाधिक ठूलो साझेदारी हो ।

जनपकुरलाई च्याम्पियन बनाउँदा उत्कृष्ट प्रदर्शन गरेका ललित राजवंशी र किशोर महतो यसपटक चल्न सकेका छैनन् । पहिलो सिजनमा ललित सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दुई र किशोर शीर्ष ४ मा थिए । मोहम्मद मोहसिन र हर्ष थाकर पनि शीर्ष १० मा अटाएका थिए । नेपाली राष्ट्रिय टिमकै भरपर्दा स्पिनर ललित यसपटक फिका देखिएका छन् । पहिलो सिजनमा १० खेलबाट १७ विकेट लिएका ललितले यसपटक पहिलो ४ खेलमा मात्र २ विकेट लिए । दुई खेलमा एकएक विकेट लिँदा दुई खेलमा उनी विकेटविहीन छन् ।

यस्तै पहिलो सिजनमा १० खेलमा १४ विकेट लिएका किशोर पनि यसपटक महंगो बनेका छन् । ४ खेलमा किशोरले मात्र एक विकेट लिए । ३ खेलमा न विकेट लिन सके न रन गतिमा नियन्त्रण गर्न । ललित र किशोर नचल्दा विदेशी बलरको अवस्था पनि त्यस्तै छ । तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सञ्जय कृष्णमूर्तिले ३ विकेट लिनुबाहेक अन्य बलरको प्रदर्शन खासै देखिँदैन । ब्याटरको रुपमा रहेका अनिल र अलराउन्डर रुपेश सिंहले बरु विकेट लिइरहेका छन् । जनकपुरले कुनै पनि खेलमा कडा चुनौति दिन सकेको छैन । जनकपुरविरुद्ध सबै टिमले एकपक्षीयरूपमा जितिरहेका छन् ।

यो बिन्दूबाट जनकपुरले कमब्याक गरेर प्ले अफमा स्थान बनाउन चमत्कार नै हुनुपर्छ । दक्षिण अफ्रिकाका इमरान ताहिर आइनपुग्दै उनको सान्दर्भिकता समाप्त हुन लागेको देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *