‘विशेष महाधिवेशनको अडानबाट महामन्त्री ब्याक हुन्छन्, चुनावी टिकटमा देउवाकै हस्ताक्षर’

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान गर्नको लागि सभापति शेरबहादुर देउवा आफैँ सक्रिय भएपनि अहिलेसम्म सहमतिको मिलनबिन्दु भेटिएको छैन।

देउवाले बिहिबारदेखि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित आफू निकट नेताहरूसँग निरन्तर संवाद गरिरहेका छन् ।

छलफलमा कुनै सहमति बन्न नसकेपछि देउवाले शुक्रवार आफूनिकट नेता कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिसँग पनि छलफल गरेका थिए। यद्यपि, देउवा विशेष महाधिवेशन पक्षधरको मागलाई सम्बोधन गर्न पुसभित्र कार्यतालिका ल्याउनुपर्नेमा सकारात्मक देखिएका छन्।

तर, महामन्त्रीद्वयले आफूहरूलाई महाधिवेशनको कार्यतालिका नभई महाधिवेशन नै चाहिएको भन्दै अडान नछाडेपछि सहमति बन्न सकेको छैन । नियमित महाधिवेशनको सम्भावना टरेको भन्दै अब विशेष महाधिवेशनको विकल्प नभएको उनीहरूको अडान छ।

महाधिवेशन विवाद चर्किँदै गएपछि देउवानिकट नेताहरू पनि विभाजित भएका छन्। अधिकांश पदाधिकारी चुनावअघिकै पक्षमा उभिँदा पूर्वपदाधिकारी विपक्षमा उभिएका छन्।

चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने उभिएका मध्ये एक हुन् पूर्वउपसभापति निधि। त्यसो त पूर्वपदाधिकारीहरूले पार्टीको महाधिवेशन रोकेको आरोप छ। कांग्रेसभित्र महाधिवेशन मितिमा चलिरहेको चुनावअघि कुनै महाधिवेशन गर्न नहुने पक्षमा उभिएका निधिसँग नेपाल प्रेसले गरेको संक्षिप्त कुराकानी–

– महाधिवेशनको मितिमा कांग्रेस अल्झिरहेको छ, तपाईँहरूले किन महाधिवेशन चाहिराख्नुभएको छैन ?
हाम्रो धारणा क्लियर नै छ, फागुन २१ को लागि निर्वाचनको मिति घोषणा भएर प्रक्रिया अघि बढिसकेको छ। धेरै समय छैन। त्यसैले हाम्रो सम्पूर्ण समय र शक्ति चुनावमा नै केन्द्रित हुनुपर्छ।
महाधिवेशनतिर अलमल नगरी रुख छापलाई कसरी विजयी गराउन सकिन्छ त्यता एकताबद्ध भएर लाग्नुपर्छ भन्ने हाम्रो कुरा हो। चुनावपछि मात्रै महाधिवेशनबारे छलफल गर्नुपर्छ भन्ने हाम्रो धारणा हो।

– तपाईँहरूले चुनावपछि मात्रै महाधिवेशन भन्दा त पार्टीमा विवाद भइरहेको छ नि?
हामीले चुनावलाई प्राथमिकता दिनको लागि अहिले महाधिवेशन गर्न हुँदैन भनेका हौँ। हाम्रो अरू कुनै स्वार्थ छैन। अहिलेको चुनाव सामान्य अवस्थामा हुने प्रतिनिधि सभाको चुनाव होइन। चुनावपछि सरकार बनाउने र सत्तामा जाने भन्ने खालको यो चुनाव होइन।
अहिलेको चुनाव भनेको क्षतिग्रस्त संविधानलाई रक्षा गर्ने, ट्र्याकमा ल्याउनुपर्छ। त्यसैले यसलाई प्राथमिकता दिनुपर्छ भनेका हौँ। अब कबिर दुई महिना बाँकी छ। त्यो समयमा प्रतिनिधि सभाको १६५ क्षेत्रको लागि उम्मेदवार तय, समानुपातिकको कुरा छ। अब महाधिवेशनका लागि समय छैन। अब सबै चुनावमा नै लाग्ने हो।

– सभापतिसँग हिजोको भेटमा तपाईँहरूले के कुरा राख्नुभयो, उहाँको कस्तो जवाफ पाउनुभयो ?
हामीले महाधिवेशनको लागि समय छैन, चुनावमा लाग्नुपर्छ भन्ने कुरा राख्यौँ। उहाँले मिलेर जानुस् भन्नुभएको छ। चुनावलाई प्राथमिकता दिनुपर्छ भन्नुभएको छ।

– तपाईँहरूले महाधिवेशन हुँदैन भन्दैगर्दा महामन्त्रीहरू विशेष महाधिवेशनको विकल्प छैन भन्न थाल्नुभएको छ ?
हामी विशेष महाधिवेशनमा जान्दैनौँ। हामी अब चुनावमा जाने हो महामन्त्रीले अब विशेष महाधिवेशनको अडान छाड्नुपर्छ। छाड्नुहुन्छ।

– त्यसो भए विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन कसरी हुन्छ ?
त्यस्तो अहिले मध्यमार्गी विकल्प भन्ने नै छैन। प्रतिनिधि सभाको निर्वाचनलाई नै सर्वोपरि महत्वको विषय मानेर केन्द्रित हुनु नै अहिलेको आवश्यकता हो। अहिले कांग्रेसको विकल्प नै त्यही हो।

– तपाईँहरू महाधिवेशन नचाहने, विशेष महाधिवेशन पक्षधर अडान नछाड्ने भएपनि पार्टी विभाजनतिर गएको हो ?
पार्टी विभाजनतिर जाँदैन, हामी जान दिँदैनौँ। विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने सदस्यहरू पनि पार्टीको जिम्मेवार व्यक्ति नै हुनुहुन्छ। उहाँहरू कसैले पार्टी विभाजन चाहनुभएको छैन। पार्टी फुट्छ भन्ने कुरामा म सहमत छैन।

– तर, पार्टीभित्रको विवादमा कार्यवाहक जिम्मेवारी दिनुभएको सभापति पनि सक्रियता बढाउनुभयो ?
पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउनुभएको छ। रामवरण यादव पनि आफ्नो ठाउँमा सक्रिय हुनुहुन्छ नै।
शेरबहादुर देउवा त अहिले पनि पार्टी सभापति नै हुनुहुन्छ। सक्रिय हुनुपनि पर्छ, देशको राजनीतिमा पनि उहाँको प्रभाव हुन्छ। पछि पनि सक्रिय रहन सक्नुहुन्छ। आगामी महाधिवेशनबाट पदीय राजनीतिमा बिदा भएपनि उहाँको सक्रियता घट्दैन।

– भनेपछि कांग्रेस सभापति देउवाकै हस्ताक्षरमा चुनावमा जान्छ ?
हो, अबको चुनावमा टिकट सभापतिकै हस्ताक्षर हुन्छ, उहाँकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जान्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *