
काठमाडौं । नेपाल एसीसी यू–१९ एसिया कपमा छनोट भएको छ । युएईमा जारी एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेसँगै नेपालले आगमी डिसेम्बर १२ देखि २१ सम्म हुने एसिया कपमा स्थान पक्का गरेको हो ।
शनिबार भएको खेलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइनलमा स्थान पक्का गर्न सफल रह्यो । मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७ ओभर ५ बलमा पूरा गर्यो । नेपालका लागि ओपनर वन्श क्षेत्रीले अविजित २३ रन बनाए । निरजकुमार यादव ४ रनमा आउट हुँदा निञ्चल क्षेत्री १५ रनमा अविजित रहे। बलिङमा मलेसियाका मोहम्मद अक्रामले एक विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ मलेसिया १७ ओभर २ बलमा ५१ रनमा समेटिएको थियो। मलेसियाका लागि मम्जाह पंगीले सर्वाधिक १३ रन बनाए । बलिङमा नेपालका नितेशकुमार पटेलले सर्वाधिक ४ विकेट लिए। चन्दन रामले ३, पराजित पौडेल, अशोक धामी र रोशन विश्कर्माले एकएक विकेट लिए । अब नेपालले उपाधिका लागि युएई र ओमानबीचको विजेतासँग खेल्नेछ।

Leave a Reply