
काठमाडौं । मनमोहक हिमशृङ्खलाले लोभ्याउने लाङटाङ पदमार्ग काठमाडौंबाट नजिकको पदमार्ग हो । असोज र कात्तिक यहाँ पदयात्राको लागि राम्रो सिजन मानिन्छ । यहाँ हिजोआज विदेशीभन्दा बढी नेपाली भेटिन्छन् ।
लाङटाङ खोला सँगसँगै अघि बढ्छ लाङटाङ पदमार्ग । बीचबीचमा भेटिने अनुपम झरना, हिमश्रृङ्खलाहरुले पर्यटकहरूलाई आकर्षित गरिरहेको हुन्छ।

काठमाडौंबाट नजिक पर्ने पदमार्ग भएकाले पनि आन्तरिक पर्यटकको भिड लाग्ने गरेको हो । नजिकैबाट प्राकृतिक सौन्दर्य अवलोकन र अनुभूत गर्नका लागि लाङटाङ पदमार्ग प्रसिद्ध रहेको छ ।
क्यामेराका लेन्सले सुन्दर हिमाल, झरना, नदीनाला र प्राकृतिक सौन्दर्य कैद गर्दै यात्रा गर्नु यस पदमार्गको अर्को आकर्षण हो ।
‘एकैपटक आधा दर्जन हिमशृङ्खलाहरूको अवलोकन गर्न पाइने, क्यान्जी गुम्बाबाट वरिपरि हिउँले ढाकेका हिमाल हेर्न पाइयो र सहज पदमार्ग र बसोबासका लागि पर्याप्त होटलहरू भएकाले पनि यस पदमार्गमा आन्तरिक र बाह्य पर्यटकहरुको आवागमन उस्तै देखिन्छ ।
काठमाडौंबाट जानका लागि भने बालाजु माछापोखरीबाट सार्वजनिक यातायात वा निजी सवारीसाधनमा जान सकिन्छ । माछापोखरीमा बिहान ६ बजेदेखि ९ बजेसम्म सार्वजनिक बस पाइन्छ ।
बालाजु, कलंकी, थानकोट, गल्छी, नुवाकोट धुन्चे हुँदै ६–७ घण्टामा स्याफ्रुबेँसी पुगिन्छ । त्यसपछि सुरु हुन्छ पैदलयात्रा । स्याफ्रुबेँसीबाट ३ घण्टाको पैदल यात्रापछि ब्याम्बोमा बास बस्न सकिन्छ । तर, समय रहेमा लामा होटल वा रिइभरसाइडमा गएर बास बस्दा उपयुक्त हुन्छ ।
भोलिपल्ट उकाली ओराली गर्दै लाङटाङ वा क्यान्जिङ गुम्बा पुगिन्छ । यात्रामा लाङटाङ खोलाले साथ छोड्दैन । पहाडको चेपबाट झरिरहेका झरना,चरा चुरुङ्गीको चिरबिरचिरबिर आवाजले मन शान्त बनाउँछ ।
यसरी अर्को दिन बिहानै क्यान्जिङ उपत्यकाबाट क्याजिङ री जान सहज हुन्छ । कतिपय भने क्यान्जिङ पुगेपछि यलापिक अथवा सेर्गोरीतर्फ जाने गर्दछन् ।
हेरौं केही तस्बिर

तस्बिर : क्षितिज तामाङ/ नेपाल फोटो लाइब्रेरी ।

Leave a Reply