चर्का नारालाई भन्दा कोमल आत्मालाई सुन्ने कवि हुँ : रिजन मायालु

पेसाले बैंकर रहेका इलामका कवि तथा गीतकार रिजन मायालुको कवितासंग्रह ‘घुम्ती बिक्रीमा छ’ सार्वजनिक हुँदैछ । यसअघि ‘चुचुरो अनि स्वास्नी मान्छेहरू’ नामक कवितासंग्रह सार्वजनिक गरेका उनको यो दोस्रो कवितासंग्रह हो । यही संग्रहको वरिपरि रहेर अर्का कवि शुभचन्द्र राईले रिजन मायालुलाई पाँच प्रश्न सोधेका छन् । प्रस्तुत छ कवितालाई कविकै प्रश्न अन्तर्गत गरिएको वार्ताको सम्पादित अंश  :

 प्रकृति र पर्यावरण अनि पर्यटनको केन्द्र इलामको जीवन–परिवेशले तपाईँको कविताको विचार निर्माण र लेखनमा कतिको भूमिका खेलेको छ ?

बाल्यकालमा अदुवाको सुकेको झ्यास बटुलेर त्यसलाई बाँसको भाटाले दुईपट्टिबाट च्यापेर बार बनाउँथ्यौ । बारकै भित्ता र छानो लगाएर त्यही झ्यासकै डसना ओच्छ्याएर घर बनाउँथ्यौँ । सिमलको रातो गुलाबी फूल टिपेर, ढुङ्गाको भाँडाकुँडा बनाएर, जंगलको थरी थरीका फूल टिपेर र घरमा भएका काम नलाग्ने सामानहरू बटुलेर दोकान थाप्यौँ । कालीझारको पात टिपेर त्यसलाई पैसा भन्दै भाँडा कुटी खेल्थ्यौँ ।
बिहानै पारिपट्टि घामले कञ्चनजंघालाई सिधै ताक्थ्यो । त्यो टल्केको घाम बिस्तारै सर्दै सर्दै तिनघरे, जहरसिँहगाउँ, मलिम, सिरवानी, मलबाँसे हुँदै घरसम्म आइपुग्थ्यो । हामी त्यही घामले चालेको पाइला हेर्दै कति बज्यो भनेर अन्दाज लाउन सक्थ्यौँ ।
बिहान बस्तुभाउलाई एक भारी घाँस काटेर दुई/अढाई घण्टाको उकालो बाटोमा चियाका बुट्यान समाउँदै, धुपीका बोटमा अडेस लाग्दै, मार्से खोलामा हिलो र पसिना पखाल्दै अनि झरीमा मानेको पात ओढेर विद्यालय जान्थ्यौँ ।
एक छाक मिठो मसिनो खानको लागि ठेला उठेको हात, पिल्सिएको ढाडले गरेको मेहनत देखेर होला, इलामको प्रकृतिले मलाई शान्त र संवेदनशील रहन सिकाएको छ । तसर्थ पक्कै पनि इलामको प्रकृति पर्यावरण अनि जीवन परिवेशले मेरो विचार निर्माण र लेखनमा प्रभाव पारेको छ । यहाँको परिवेश र जीवनशैलीको उपज नै मेरा कविताका मुख्य केन्द्र हुन् ।

‘चुचुरो अनि स्वास्नीमान्छेहरू’देखि ‘घुम्ती बिक्रीमा छ’सम्म आइपुग्दा तपाईँले आफ्नै लेखनमा के कस्ता रूपान्तरण वा फरक देख्नुभएको छ ?

घर बनाउनु परेमा सबैभन्दा पहिला घरको नक्सा बनाइन्छ । त्यही नक्सा अनुरूप राम्रो मिस्त्री, गुणस्तरीय सामान प्रयोग गरेर, बलियो जग गाडेर, रंगरोगन गरेपछि राम्रो घर बन्छ । यसर्थ ‘चुचुरो अनि स्वास्नी मान्छेहरू’ नक्सा हो भने बनेको घर हो ‘घुम्ती बिक्रीमा छ’ ।

 ‘घुम्ती बिक्रीमा छ’ सम्ममा आइपुग्दा आफैलाई आलोचनात्मक र बहुआयामी भइरहेको देखेँ । शब्दको मितव्ययी प्रयोग, अस्तित्ववादी प्रश्नहरू थपिए । समय सँगै कविको चेत पनि फराकिलो हुँदै जाँदो रहेछ । म पनि त्यसमा अछुत रहन सकिनँ । म चाहिँ नाराभन्दा आत्मालाई सुन्ने कवि बन्न खोजेँ । र त्यसलाई आत्मसात् गर्दै अघि बढ्दैछु  ।

हाल नेपाली कविता परिदृष्यामा विषयगत विविधता, शैली–शिल्पका प्रयोग र डिजिटल माध्यमको प्रभाव तीव्र छ । आजको पुस्ताका लेखक र कविहरूका अवसर र चुनौती के के हुन् ?

कुनै पनि कुराको विकासको लागि हरेक कुरामा नयाँ प्रयोग आवश्यक छ । कवितामा पनि त्यस्तो प्रयोग हुनु नौलो कुरा होइन । तर यसो भन्दैमा विविधता, शैली–शिल्पका प्रयोग र डिजिटल माध्यमको प्रयोगले अन्य लैगिंक, भाषिक, राजनैतिक र सामाजिक सहिष्णुतालाई असर पुर्‍याउने खालको लेखनलाई कहिल्यै प्राथमिकतामा राख्नु हुँदैन ।
सत्तालाई सधैँ प्रश्न गरिरहनु र दलनमा परेको भुईँमान्छेको आवाज बनेर बोल्नु कविको जिम्मेवारी हो । साथै आफैँले बाँचिआएको समय, परिवेश, रीतिथिति आदिबारे काव्यमार्फत बचाइराख्नु जिम्मेवार कविको लागि अवसर हो ।

आजको राजनैतिक, सामाजिक र पर्यावरणीय उथलपुथलले नेपाली समाज नयाँ मोडमा पुगेको छ । यस्तो परिवर्तन बीचमा कविको भूमिकालाई तपाईँले कसरी हेर्नुहुन्छ ?

आजभोलि लेखकले भन्दा धेरै पुस्तक पाठकले पढ्ने गरेको भेटेको छु । पाठकहरू  धेरै बाठा छन् । त्यसो हुँदा चाहे राजनीतिक उथलपुथल होस् वा सामाजिक वा पर्यावरणीय उथलपुथल, पाठकले त्यस्ता हरेक उथलपुथलमा कविले कवितामार्फत् आवाज उठाइदेओस् भन्ने आस राख्छन् । र कवि, लेखकले जिम्मेवार तवरले जनताको आवाज बोल्नुपर्छ ।

स्रष्टाले सत्ता र समयका विकृत संरचनाहरूसँग कति आलोचनात्मक हुनुपर्ने हो ? कविता प्रतिरोधको स्वर मात्रै हो कि, अरु केही पनि हो ?

सत्ता भन्नाले केवल सरकार मात्र नबुझौँ । पुँजीवादको सत्ता, परम्पराको सत्ता, भेदभाव र मौनताको सत्ता इत्यादिको संरचनाप्रति आलोचनात्मक नहुने हो भने त्यो सिर्जना अपुरो रहन्छ । त्यस्ता बेतिथिलाई झाँगिन दिनु हुँदैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *