शेरधनले प्रतिशोध साँधेर आफूलाई कारबाही गराएको कृपाशुरको दाबी

भोजपुर । एमाले नेता एवं पूर्व पर्यटनमन्त्री कृपाशुर शेर्पाले कारबाहीको हल्ला चलाएर आफूबारे भ्रम फैलाएको बताएका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै शेर्पाले ४८ वर्षदेखि निरन्तर सक्रिय रहेको पार्टीमा इमान र निष्ठाको साथ दृढताको साथ उभिँदै आएको प्रष्टीकरण दिएका छन् ।

एमाले मोरङको अधिवेशनमा संस्थापनइतिरको जितपछि शेर्पाले लेखेको स्टाटसलाई लिएर उनलाई जिल्ला कमिटी भोजपुरले निलम्बन गरेको छ ।

‘मलाई जुन स्टाटस र टिप्पणीका आधारमा कारबाही गरिएको भनिएको छ । म चुनौतीका साथ सोध्न चाहन्छु- त्यहाँ उल्लेखित कुन शब्द, वाक्य वा आशयले पार्टीलाई असर गरेको छ ?’ पार्टीको आन्तरिक प्रतिस्पर्धाको विषयमा गरिएको टिप्पणीले पार्टीलाई असर गर्दैन भन्नेमा म अहिले पनि दृढ छु’, शेर्पाले भनेका छन् ।

कारबाहीको विषयमा जिल्ला कमिटी र नेतृत्वसँग जानकारी माग्दा निरिहता प्रकट गरेको भन्दै उनले कोशी अञ्चल इन्चार्ज शेरधन राईले आफूलाई प्रतिशोध साँधेको आरोप लगाएका छन् ।

शेर्पाले विज्ञप्तिमा भनेका छन्, ‘यसअघि देखि नै केवल व्यक्तिगत आग्रहका आधारमा ममाथि गैरराजनीतिक तरिकाले प्रतिशोध राखिरहनु भएका कोशी प्रदेश कमिटीका इन्चार्ज कमरेड शेरधन राईको प्रत्यक्ष निर्देशनको आधारमा यो कदम चालिएको जिल्ला कमिटीका नेताहरूले मलाई बताउनुभएको छ । म यति स्पष्ट पार्न चाहन्छु, ‘कसैले कारबाही गरेर वा निकालेर पार्टीप्रतिको मेरो निष्ठा मर्ने छैन । मेरो विचार बदलिने छैन ।’

उमेरको हिसाबले आफू बयोबृद्ध उमेर समूहतिर लाग्दै गरेको र व्यक्तिगत महत्वकाङ्क्षा केही नरहेको भन्दै शेर्पाले भनेका छन्- जीवनपर्यन्त मेरो पार्टीको झन्डा ओढेर बिदा हुने मेरो सपनामा यस्ता कारबाहीले केही असर नगर्ने प्रष्ट पार्दछु ।

भोजपुरबाट संविधानसभा सदस्य जितेका शेर्पा पर्यटनमन्त्रीसमेत भएका थिए । उनी गत वर्ष भएको जिल्ला अधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए ।

भोजपुरमा लामो समयदेखि पूर्वमुख्यमन्त्री शेरधन राई र शेर्पाबीच टसल रहँदै आएको छ । यो द्वन्द्वले आन्तरिक क्षति हुने भन्दै नेताहरू बसेर मिलेर जान कार्यकर्ताहरूले सुझाव दिएका छन् । कारबाहीको भोलिपल्टै शेर्पाले गुण्डुमा गएर केपी ओलीसँग भेट गरेका थिए । उनले ‘म छु’ भनेर ढाडस दिएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *