लुम्बिनीले नभेटेको लय, फेरि समूह चरणबाटै बाहिरिने भय

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनमा खराब प्रदर्शन गर्दै पुछारमा रहेको लुम्बिनी लायन्सको दोस्रो सिजन पनि खासै सुखद भइरहेको छैन । अहिलेसम्म खेलेका ४ म्याचमा ३ हार व्यहोरेको लुम्बिनीको प्लेअफ सम्भावना जटिल बनेको छ ।

पहिलो खेलमा जित दर्ता गरे पनि त्यसपछिका ३ खेलमा लगातार हार खेपेको हो । पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्स, तेस्रो खेलमा काठमाण्डु गोर्खाज र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुन पुग्यो । पहिलो सिजनमा लुम्बिनीले दुई खेलमा मात्रै जित निकालेको थियो ।

चलेनन् विदेशी खेलाडी

लुम्बिनीले आश गरेका विदेशी खेलाडीबाट अहिलेसम्म बलियो आड पाउन सकेको छैन । पहिलो खेलमा आक्रामक ब्याटिङ गरेका गुल्बदिन नाइबको त्यसयता न ब्याटिङ चलेको छ न बलिङ । उनले पहिलो खेलमा २५ बलमा ४४ रन बनाएका थिए । त्यसयताका ३ खेलमा उनले मात्र २९ रन बनाएका छन् । पहिलो खेलमा २ विकेट लिएका गुल्बदिनले त्यसयताका ३ खेलमा पनि मात्र २ विकेट लिएका छन् ।

ओपनर डार्सी सर्ट पनि चल्न सकेका छैनन् । ४ खेलमा उनले ७० रन बनाएका छन् । बलिङ पनि उनको खासै प्रभावकारी छैन । टप अर्डरमा हुने ठूलो स्कोर बनाउन नसक्दा टोली ठूलो स्कोर बनाउन चुकिरहेको छ ।

नामिबियाका जेजे स्मिथले ३ खेलमा ३१ रन बनाउँदा उनी विकेटविहीन छन् । नामिबियाका बलिङ अलराउन्डर स्मिथ बलिङमै फ्लप भएका छन् । नामिबियाका तीब्र गतिका बलर बेन ट्रम्पलम्यानको प्रदर्शन औसत छ । उनले ४ खेलबाट ६ विकेट लिएका छन् । पहिलो खेलमा ३ विकेट लिएका उनले त्यसयताको ३ खेलबाट ३ विकेट लिएका हुन् । ब्याटिङमा दोस्रो खेलमा १४ बलमा २९ रन बनाउनुबाहेक उल्लेख्य योगदान दिन सकेका छैनन् । एक खेलमा मात्रै अवसर पाएका थोमस ड्राका पनि चल्न सकेनन् । चौथो खेलमा उनी ३ ओभर बलिङ गर्दै २२ रन खर्चिएर विकेटविहीन बने ।

अन्य टोलीमा विदेशी खेलाडीको दबदबा रहँदा लुम्बिनीमा भने विदेशी खेलाडी फ्लप भए । जसका कारण लुम्बिनी ४ खेलमा ३ खेलमा पराजित हुन पुग्यो ।

कप्तानले पाएनन् साथ

लुम्बिनीका कप्तान रोहित पौडेलले ४ खेलमा १३४ रन बनाएका छन् । पहिलो खेलमा ३९, दोस्रो खेलमा ४९, तेस्रो खेलमा ११ र चौथो खेलमा ३५ रन बनाए । अर्काेतर्फ लगातार विकेट गइरहँदा रोहितलाई विकेट होल्ड गरेर खेल्नुपर्ने बाध्यता आइलाग्यो । कुनै पनि खेलाडीले क्रिजमा टिकेर खेल्न सकेनन् । ४ वटै खेलमा लुम्बिनीका खेलाडीले ठूलो साझेदारी गर्न सकेनन् ।

पहिलो खेलमा गुल्बदिन र कप्तान रोहितले चौथो विकेटका लागि गरेको ६० रनको साझेदारी नै सर्वाधिक साझेदारी हो । उक्त खेलमा लुम्बिनीले ६ विकेटको जित निकालेको थियो । त्यसयता कुनै खेलमा ठूलो साझेदारी हुन सकेन । जसका कारण लुम्बिनी ठूलो स्कोरतर्फ लम्किन सकेन । दोस्रो खेलमा बनाएको १५६ रन नै लुम्बिनीको ठूलो स्कोर हो ।

मिडलअर्डरमा समस्या

चौथो खेलमा लुम्बिनी कुनै समय ठूलो स्कोरतिर उन्मुख थियो । १६ ओभर एक बलमा लुम्बिनी ३ विकेट गुमाएर ११९ रन बनाएको थियो । तर, त्यसपछि लगातार विकेट जाँदा लुम्बिनी १४३ रनमा समेटिन पुग्यो । मिडलअर्डरमा रहेका गुल्बदिन, सन्दीप जोरादेखि रुबेनसम्म चल्न सकेनन् । जसले लुम्बिनीको स्कोरलाई साँघुरो बनायो । अन्य सबै खेलमा फ्लप हुन पुग्यो । टपअर्डरमा ठिकठाक प्रदर्शन भएपनि मिडलअर्डर र लोअर्डरमा ब्याटिङ चल्न नसक्दा लुम्बिनी धरासायी बन्दै आएको छ ।

४ वटै खेलमा लुम्बिनीका कुनै पनि खेलाडीले अर्धशतक प्रहार गर्न सकेका छैनन् । कप्तान रोहितले दोस्रो खेलमा बनाएको ४९ रन नै लुम्बिनीका खेलाडीले बनाएको सर्वाधिक रन हो । टी–२० क्रिकेटमा एउटा खेलाडीले मात्रै ठूलो स्कोर बनाउन सकेको खण्डमा पनि टोलीको स्कोर उठ्न सक्छ । तर, कुनै पनि खेलाडीले ठूलो स्कोर बनाउन नसक्दा टोलीले हार बेहोनुपरेको छ ।

कप्तानले चिनेनन् स्पिनर

एनपीएल सिजन–२ को लिग चरणमा खेल सकिँदा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने सर्वाधिक विकेट लिने सूचीको पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा सुदूरपश्चिमका हरमित सिंह र तेस्रो नम्बरमा काठमाण्डुका मिलिन्द कुमार छन् । उनीहरू सबै स्पिनर हुन् ।

बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई पहिलो जित दिलाउन स्पिन बलरले उत्कृष्ट प्रदर्शन गरे । पोखराका स्पिनर विपिन खत्री एक्लैले ४ विकेट लिए । अर्का स्पिनर सुमित वर्माले २, कप्तान कुशल भुर्तेलले एक विकेट लिए । पेस बलर आकाश चन्द र डान डाउथवैट विकेटविहीन रहे । विराटनगरलाई पहिलो हार चखाउन चितवनका स्पिनर रञ्जितकुमार एक्लैले ५ विकेट लिए ।

यीबाहेक अन्य खेलमा स्पिन बलर हाबी भएका छन् । पिच स्पिन बलर अनुकूल हुँदा पनि लुम्बिनी कप्तान रोहितले आफ्ना स्पिन बलरलाई विश्वास गरेको देखिँदैन । युवा स्पिनर अभिषेक गौतमले एक खेलबाहेक अन्यमा आफ्नो स्पेल पुरा गर्न पाएका छैनन् । उनले चौथो खेलमा ४ ओभर बलिङमा २० रन खर्चेर एक विकेट लिए । लुम्बिनीको बलिङमा सबैभन्दा उत्कृष्ट इकोनोमी उनकै थियो । उक्त खेलमा अर्का स्पिनर तिलक भण्डारी र शेर मल्लले आफ्नो स्पेल पूरा गर्न पाएनन् ।

पहिलो खेलमा ३ ओभरमा २ विकेट लिएका अभिषेकले पूरा स्पेल बलिङ गर्न पाएनन् । दोस्रो खेलमा अभिषेकले मात्रै एक ओभर बलिङ गर्न पाए । शेर मल्ल पनि ३ ओभरमा रोकिए । तेस्रो खेलमा पनि अभिषेकले आफ्नो स्पेल पूरा गर्न पाएनन् । उनीसँगै स्पिनर तिलकले पनि आफ्नो स्पेल पूरा गर्न पाएनन् ।

आक्रामक ब्याटिङको अभाव

लुम्बिनीका लागि सर्वाधिक रन बनाएका कप्तान रोहित कमजोर स्ट्राइक रेटका कारण आलोचित बनिरहेका छन् । उनले रक्षात्मक शैलीमा ब्याटिङ गर्दा अन्य ब्याटरलाई ठूला सट हान्न दबाब हुन्छ । जसले गर्दा विकेट खस्ने गर्छ । दोस्रो खेलमा कर्णालीविरुद्ध रोहितले ४३ बलमा ४९ न बनाए । सोही खेलमा कर्णालीका मार्क वाटले ४४ बलमा ११४ रन बनाएका थिए । अन्य खेलमा पनि रोहितको ब्याटिङमा आक्रामकता छैन । यो उनको शैली र परिस्थितिको बाध्यता दुवै हो ।

पौडेलले पहिलो खेलमा ४४ बलमा ३९, तेस्रो खेलमा १६ बलमा ११ रन र चौथो खेलमा ३६ बलमा ३५ रन बनाए । उनी मात्रै होइन, लुम्बिनीका अन्य ब्याटरबाट पनि आक्रामक ब्याटिङ देख्न पाइएको छैन । ४ खेलमा लुम्बिनीले जम्मा १८ छक्का प्रहार गरेको छ । लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटले एक्लैले १२ छक्का प्रहार गरेका थिए । निकै आशा गरिएका स्वदेशी ब्याटर सन्दीप जोरा नचल्नु पनि लुम्बिनीको दुर्भाग्य बनिरहेको छ ।

साझेदारी तोड्न नसक्नु

कुनै पनि फर्म्याटको क्रिकेटमा साझेदारीले एकदमै महत्त्वपूर्ण भूमिका खेल्छ । साझेदारीबिना ठूलो स्कोर सम्भव हुँदैन । विपक्षीलाई लामो साझेदारी गर्न दिनु भनेको हारतर्फ उन्मुख हुनु हो । दोस्रो खेलमा लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाट र विलियम बोसिस्टोले १२३ रनको अविजित साझेदारी गरे । चौथो खेलमा सुदूरपश्चिमका विनोद भण्डारी र आरिफ शेखबीच ९९ रनको साझेदारी भयो । जुन लुम्बिनीका लागि घातक बन्यो । यी साझेदारी लुम्बिनीले तोड्न नसक्दा हारको भारी बोक्नुपर्‍यो ।

डेथ ओभरमा रन खर्चिनु

लुम्बिनीले अधिकांश खेलमा डेथओभरमा अत्यधिक धेरै रन खर्चिएको छ । पहिलो खेलमा चितवन राइनोजविरुद्ध अन्तिम २८ बलमा ५५ रन खर्चियो । दोस्रो खेलमा कर्णालीविरुद्ध लुम्बिनीविरुद्ध अन्तिम २७ बलमा ७५ रन बगायो । तेस्रो खेलमा काठमाण्डुविरुद्ध १४ बलमा ४० रन । चौथो खेलमा सुदूरपश्चिमविरुद्ध १४ बलमा २८ रन खर्चियो । जुन लुम्बिनीलाई हारको कारण बन्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *