
रुपन्देही । रुपन्देहीको भैरहवामा १२ औँ संस्करणको स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
शुक्रवार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सुरु प्रतियोगितामा न्यू मुन एकेडेमी र एभरेष्ट स्कुल विजयी भएका छन् । न्यु मुनले न्यू लाइट सेकेन्डरी स्कुललाई ८ विकेट र एभरेष्टले मुनलाइट बोर्डिङ स्कुललाई ४ विकेटले पराजित गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको न्यू लाइटले निर्धारित २० ओभरमा १४ ओभर २ बलमा अलआउट हुँदै ६५ रन बनायो । उसका लागि गगन अर्यालले १४ र शुसल खरेलले १० रन बनाए । बलिङमा न्यू मुनका आषिश यादवले ४ र इमरान शेखले ३ विकेट हात पारे ।
जवाफमा न्यु मुनले ७ ओभर ३ बलमा २ विकेट गुमाएर ६६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा आषिश यादवले नटआउट ३३ र श्रीधर न्यौपानेले १६ रन जोडे । बलिङमा न्यु लाइटका भुवन ज्ञवाली र गगन अर्यालले १–१ विकेट लिए । खेलमा आशिष यादव प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।
यस्तै, शुक्रवार नै भएको अर्को खेलमा टस जितेर ब्याटिङ गरेको मुनलाइटले ५ विकेटको क्षतिमा १ सय ३ रन बनायो । उसका लागि भानुबहादुर पाण्डेले २८, सुमन विष्टले नटआउट २४ र हर्षित शाहीले १९ रन जोडे । बलिङमा एभरेष्टका सौगात अर्याल र आदित्य देवकोटाले समान २-२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको एभरेष्टले १९ ओभर १ बलमा ६ विकेट गुमाएर १ सय ५ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सुशान्त गौतमले २० र पुरण न्यौपानेले नटआउट १४ रन बनाए । बलिङमा मुनलाइटका सुमन विष्ट र भानुबहादुर पाण्डेले २-२ विकेट लिए । खेलमा आदित्य देवकोटा प्लेयर अफ द म्याच भई पाँच सय प्राप्त गरे ।
यसअघि प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, सल्लाहकार महेश भुर्तेल, सदस्य प्रथम पराजुलीलगायतले बोल्दै क्रिकेटले नेपाललाई विश्वमाझ चिनाएको जनाए ।
उनीहरूले भोलिका राष्ट्रिय खेलाडी भनेकै विद्यालय तहबाट उत्पादन हुने भन्दै अनुशासित र लगनशील भएर खेल्न खेलाडीहरूलाई आग्रह गरे । विद्यालय तहका यस्ता प्रतियोगिताले नयाँ प्रतिभाहरू बाहिर ल्याउन सहयोग पुग्ने उनीहरूको भनाइ छ । रुपन्देही शिक्षासँगै पछिल्लो समय खेलकुदमा समेत हब बनेको उनीहरूले जनाए ।
विद्यालय तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा रुपन्देहीका ३० वटा विद्यालयको सहभागिता रहेको खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५-५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुशासित टीमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्ने छ ।

Leave a Reply