देउवालाई भेटेर गगनले दिए दुई विकल्प- कि ओलीझैं मैदानमा आउनुस्, नत्र पिसफूल एक्जिट लिनुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई ‘कि केपी ओली झै मैदानमा उत्रन’ वा ‘पिसफुल एक्जिट’को बाटो रोज्न सुझाएका छन् ।

महामन्त्री थापाले बिहीबार सभापति देउवासँग भएको छलफलका क्रममा कार्यवाहक सभापतिको जिम्मेवारी तोकिसकेपछि पार्टीका आन्तरिक मामिला प्रभावित नगर्न देउवालाई सुझाएका हुन् ।

छलफलका क्रममा सभापति देउवाले विशेष महाधिवेशन गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नियमित महाधिवेशनबाटै निकास खोज्न सुझाव दिएका थिए । कात्तिक २८ मा सिंगापुरबाट फर्किएका सभापति देउवाले पार्टीका सबै नेतासँग बारम्बार छलफल गरिसकेपछि मात्रै महामन्त्री थापासँग संवाद गरेका हुन् ।

संवादका क्रममा महामन्त्री थापाले नेकपा एमालेका अध्यक्षको उदाहरण दिंदै मैदानमा उत्रन देउवालाई चुनौती दिएका थिए । ‘भदौ २४ गते केपी ओलीसँग साढे २ जना मात्रै थिए । शंकर पोखरेल र विष्णु रिमाल अनि आधा प्रदीप ज्ञवाली । साढे २ जना मान्छे लिएर केपी ओलीले आफ्ना कुरा राख्दै, सुनाउँदै एमालेलाई महाधिवेशनमा लैजादैंछन् । महाधिवेशनमा अध्यक्ष नै लड्दैछन् । सही गलत जे भएपनि एमालेको ठूलो पङ्‍क्ति आज ओलीसँग छ । तपाईंले त्यो मौका पनि गुमाउनुभयो । तपाईं पनि पहिलो दिनदेखि नै फ्रन्टमा आएर नेतृत्व गर्नुपर्थ्यो, पार्टीलाई महाधिवेशनमा लानुपर्थ्यो । कि अझै पनि मैदानमा उत्रनुस्, हामी प्रतिस्पर्धा गर्छौं ।’, बैठकमा गगनले भने ।

उनले पर्दापछाडि बसेर नखेल्न देउवालाई आग्रह गरे । ‘कार्यवाहक दिनुभयो तर निर्णय रोकिरहनुभएको छ । विशेष महाधिवेशनको मागलाई केही नि होइन भन्ने तपाईंलाई सुनाइएको छ । त्यस्ता कुरा सुनेर साइडमा बसेर नखेल्नुस् । अझै पनि समय छ, पार्टीलाई निकास दिएर ‘पिसफुल एक्जिट’ लिनुस् ।

छलफलका क्रममा संस्थापन पक्षले विशेष महाधिवेशन नगर्ने गरी सहमतिका विभिन्न विकल्प प्रस्तुत गरेका थिए । महामन्त्री थापाले भने ‘पुस २७ भित्र नियमित महाधिवेशन भए हुने, नभए पुस २८ गते विशेष महाधिवेशन हुने’ बटमलाइन प्रस्तुत गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *