पूर्णबहादुरले फोनबाट वार्तामा बोलाएपछि महाधिवेशन पक्षधरले भन्यो पार्टीको लेटरहेडमा पत्र पठाउनुस्

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएका नेताहरूले अनौपचारिक वार्ता प्रस्ताव अस्वीकार गरेका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर अभियानको संयोजन गरेका नेता गुरुराज घिमिरेलाई सम्पर्क गरी शनिवार बिहान साढे ८ बजे वार्ताका लागि बोलाएका थिए ।

कांग्रेसका ५४ प्रतिशत विशेष महाधिवेशन पक्षधर महाधिवेशन प्रतिनिधिहरूको संयोजक गरिरहेका नेता घिमिरेले आफूहरूको माग औपचारिक भएकाले वार्ता पनि औपचारिक हुने बताएका छन् ।

‘हामीले निवेदन लेखेर हस्ताक्षर गरेर पार्टी कार्यालयमा दर्ता गराएर बुझाएको मागबारे अनौपचारिक होइन औपचारिक वार्ता हुनुपर्छ । पार्टीले पनि पत्र लेखेर वार्तामा बोलाउनुपर्छ । तब मात्रै संवाद हुन्छ’, घिमिरेले नेपाल प्रेससँग भने ।

उनले विशेष महाधिवेशन पक्षधरलाई केन्द्रीय नेतृत्वले नजरअन्दाज गर्ने, होच्याउने र महत्त्व नदिने गर्दै आएको भन्दै अब केन्द्रीय समितिसँग खुला र औपचारिक वार्ता हुने बताए । उनले विशेष महाधिवेशन पक्षधरहरुको मागबारे अरू नेताहरुबीच हुने छलफल र सहमति पनि स्वीकार नहुने बताए ।

‘विशेष महाधिवेशन पार्टीका महाधिवेशन प्रतिनिधिहरूको आवाज हो । उनीहरूको आवाज उनीहरूको सहमतिबाट मात्रै निष्कर्षमा पुग्छ । अमुक नेताहरूको सहमतिलाई हस्ताक्षरकर्ताको सहमति मान्न सकिँदैन’, घिमिरेले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *