
काठमाडौं । उज्यालो नेपाल पार्टीको ‘पर्दापछाडिका नायक’ कुलमान घिसिङले मन्त्री पद त्यागेर आमनिर्वाचनमा भाग लिने निश्चित भएको छ । उनी काठमाडौंको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारीमा छन् ।
निर्वाचन आयोगको उम्मेदवारी दर्ता कार्यतालिका अघि बढेपछि कुलमानले मन्त्री पदबाट राजीनामा दिएर चुनावमा होमिने स्रोतले बतायो । प्रधानमन्त्री सुशीला कार्कीले कुलमानलाई चुनाव लड्न अनुमति दिइसकेकी छन्, तर अहिले नै राजीनामाको हतार नगर्न उनको सुझाव छ ।
सम्भवतः उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा मात्र कुलमानले मन्त्रीबाट राजीनामा दिनेछन् । उनी प्रधानमन्त्रीकै तयारी गरेर राजनीतिमा होमिएका कारण सकेसम्म रवि लामिछाने र बालेन शाहसहितको लोकप्रियतावादमा आधाररित एउटै पार्टीबाट चुनावमा जान चाहन्छन् । यही मङ्सिर १७ गते कुलमानकै उपस्थितिमा ‘उज्यालो नेपाल पार्टी’को औपचारिक घोषणासमेत हुँदैछ ।
रामेछाप घर भए पनि कुलमानले पहिलो चुनाव काठमाडौं क्षेत्र नम्बर ३ बाट लड्ने तयारी गरेको स्रोतले बतायो । यसअघि रामेछापको सुनापति गाउँपालिका बेथानबाट मतदान गर्दै आएका कुलमानले यसपटक काठमाडौं ३ बाटै चुनाव लड्ने गरी मतदाता नामावलीसमेत सारिसकेका छन् । यद्यपि उनलाई उनको ससुराली जिल्ला धादिङ र जन्मस्थल रामेछापबाट पनि उम्मेदवार बन्न प्रस्ताव आइरहेको एक नेताले जानकारी दिए ।
२०७९ सालको चुनावमा काठमाडौं ३ बाट कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए । यस क्षेत्रमा रास्वपाका उम्मेदवार दुर्गाविक्रम थापाले ५ हजार ८ सय ६५ मत ल्याएर तेस्रो भएका थिए । रास्वपासँग मिलेमा यस क्षेत्रमा कुलमानको दाबेदारी बलियो भन्ने छ ।
अहिले कुलमान पार्टीको विकास–विस्तार सँगसँगै रास्वपासँग सहवरणका लागि पनि प्रयासरत छन् । रास्वपा स्रोतले पनि कुलमानको पार्टीसँग संवाद जारी रहेको पुष्टि गर्यो । यद्यपि, अहिलेसम्मको संवाद उपलब्धीपूर्ण बनिसकेको छैन ।
रास्वपाका एक पदाधिकारीले भने, ‘चुनावअघि नै मिल्नुपर्छ भनेर लागिरहेका छौं । सम्भावना म नजिक देख्छु ।’
कुलमानले सुरुमा रास्वपामा रवि लामिछानेलाई संरक्षक राखेर र आफू अध्यक्ष बन्ने ध्येय राखेका थिए । तर, पछिल्लो समय उनी पदको विषयमा ‘रिजिड’ नरहेको ती पदाधिकारीको दाबी छ ।
‘उहाँले रविलाई अध्यक्ष मान्दिनँ भन्ने खालको कुरा गर्नु भएको छैन, अरु सबै कुरामा सहमति जुट्यो भने पदले मात्रै अड्काउँछ जस्तो लाग्दैन,’ उनले भने ।
कुलमानको तर्फबाट डा. तारा जोशी, डा. विशाल भण्डारीलगायतका नेताहरुले विभिन्न स्वतन्त्र समूह तथा व्यक्तिहरुसँग पनि छलफल गरिरहेका छन् । पूराना स्थापित दलभित्र रहेका लोकप्रिय व्यक्तिहरुलाई समेत समेटेर चुनावमा उम्मेदवार बनाउन पहल भइरहेको कारण कुलमान अहिले नै मन्त्री छाडेर होमिने पक्षमा छैनन् ।

Leave a Reply