
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले आफू र प्रचण्ड प्रधानमन्त्री हुँदा गरेका राम्रा कामहरू जनताको बीचमा लैजान नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै आफूहरूसहित सबै नेताहरूले गरेको काम जनताको बीचमा लगेर राख्नुपर्ने बताए।
उनले भने, ‘मैले मेरो मात्रै होइन, अब सबैले सबैको प्रचार गर्नुपर्छ, एकीकृत पार्टी भइसकेपछि हामीले सङ्कटको बेलामा खेलेको भूमिका पनि जानकारी गराउनुपर्छ, अहिले पनि जेनजी पुस्तालाई पनि सही दिशामा अघि बढ्नुपर्छ भनेर उत्प्रेरित गरिरहेका छौँ।’
उनले जेनजी आन्दोलनपछि प्रचण्ड र आफू राष्ट्रपतिकहाँ गएर रातभरि बसेर सङ्कटमा देश बचाउन भूमिका खेलेको जिकिर गरे।
उनले भने, ‘राष्ट्रपतिले हामीलाई सम्झिनुभयो। अरू नेताहरूको अत्तोपत्तो भएन। हामी पुग्यौँ। अहिले बन्नुभएको प्रधानमन्त्रीलाई पनि तपाईँ अघि बढ्नुस्, राम्रो काम गर्नुस् भनेर सन्देश पठायौँ। समयमा निष्पक्ष चुनाव गराउनुस्, हामी साथ दिन तयार छौँ। त्यसैले सबै नेताहरू उस्तै हुन् होइन, राम्रा पनि छन्।’
उनले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै आफ्नो मात्रै प्रशंसा चाहनेहरू पनि रहेको टिप्पणी गरे। उनले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे।

Leave a Reply