
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले ‘साकोस शिखर गोष्ठी–२०८२’ आयोजना गर्ने भएको छ । संघले आगामी पुस ३ र ४ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा उक्त गोष्ठी आयोजना गर्न लागेको हो ।
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाका अनुसार विगत ३८ वर्षदेखि बचत तथा ऋण सहकारी अभियानको नेतृत्व गर्दै आएको नेफ्स्कूनले बदलिँदो नियामक परिवेशमा साकोस अभियानको निरन्तरता र अनुपालनका विषयमा छलफल गर्न गोष्ठी आयोजना गर्न लागेको हो । विशेषगरी सहकारी ऐन तथा नियमावलीका संशोधनहरू, सदस्यको बचत सुरक्षा, जोखिम न्यूनीकरण र कर्जा सूचना केन्द्रको स्थापना मार्फत बढेको नियामकिय दायराको सन्दर्भमा यो गोष्ठी केन्द्रित रहनेछ ।
गोष्ठीमा स्वदेशी तथा विदेशी विज्ञहरूबाट विभिन्न ६ वटा महत्त्वपूर्ण विषयमा कार्यपत्रहरू प्रस्तुत हुनेछन् । जसमा नियामकिय मार्गचित्र, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनी व्यवस्था र नेतृत्व परिवर्तन, वित्तीय सहकारीको स्वनियमन अभ्यास, वित्तीय सहकारी संस्थाहरूका लागि सञ्चालन मानकीकरण ढाँचा र वित्तीय सहकारीमा स्रोत परिचालन, वर्तमान प्रवृत्ति र आगामी मार्ग दिशा रहेका छन् ।
गोष्ठीमा नेफ्स्कूनका सदस्य संघ संस्था, नियामक निकाय, विकास साझेदार लगायतबाट करिब ७०० जनाको उपस्थिति रहने अपेक्षा गरिएको छ । सहभागिताका लागि संघले अनलाइन दर्ता खुला गरेको छ ।
नेफ्स्कूनले सहभागिता शुल्क समेत तोकेको छ । जसमा मंसिर २० गतेभित्र दर्ता गर्नेहरूको लागि छुट सहितको ६ हजार रुपैयाँ शुल्क तोकिएको छ । नियमित शुल्क तर्फ सात हजार र गैर–सदस्यलाई ८ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

Leave a Reply