एमाले महाधिवेशन : प्रतिनिधि बन्न कोशीमा कडा प्रतिस्पर्धा, अधिकांश जिल्लामा प्यानलगत निर्वाचन हुने

विराटनगर । एमाले महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न कोशीका अधिकांश जिल्लामा निर्वाचन हुने पक्का पाएको छ । महाधिवेशन प्रतिनिधिका लागि तोकिएको कोटाभन्दा बढी उम्मेदवार भएपछि निर्वाचन गर्नुपर्ने भएको हो ।

सर्वसम्मतरुपमा प्रतिनिधि छनौट हुन नसके लोकतान्त्रिक पद्धति अपनाउने तयारी भएको नेकपा एमाले कोशी प्रदेशका सचिव राजकुमार भण्डारीले बताए । हालसम्म हिमाली जिल्ला सोलुखुम्बुमा मात्रै सर्वसम्मत प्रतिनिधि छनौट सम्पन्न भएको छ । एमालेको महाधिवेशनका लागि सोलुखुम्बुबाट खुल्लातर्फ बुद्धिकुमार राजभण्डारी र डुफकुमार बास्तोला सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनौट भएका छन् ।

यस्तै उत्पीडिततर्फ डिबी रानापाल, महिलातर्फ कल्पना राई र मोहनकुमारी कार्की तथा ४० वर्षमुनिका युवाबाट जगन्नाथ बास्तोला महाधिवेशन प्रतिनिधिमा छनौट भएको एमाले कोशीका सचिव भण्डारीले बताए । पाँचथर र इलामबाट पनि सर्वसम्मत प्रतिनिधि छनोट हुने उनको दाबी छ ।

भण्डारीले भने, ‘इलाम र पाँचथरमा सर्वसम्मत प्रतिनिधि छनौट हुनेछन् । यसका लागि तयारी पूरा भएको छ । अन्तिम नामावली प्रकाशन गर्न मात्रै बाँकी छ ।’

एमालेको महाधिवेशनमा पाँचथरबाट ७ जना र इलामबाट ९ जना महाधिवेशनका लागि प्रतिनिधि चयन हुनेछन् । भोजपुरमा पनि शुक्रबार बेलुकासम्म सर्वसम्मत प्रतिनिधि छनौट हुने सम्भावना रहेको भण्डारीले बताए ।

अन्य जिल्लामा भने सर्वसम्मत प्रतिनिधि चयनमा सकस भएको छ । तोकिएको प्रतिनिधि सङ्‍ख्याभन्दा तेब्बरले मनोनयन दर्ता गराएपछि सर्वसम्मत नेतृत्व चयन गाह्रो हुने देखिएको हो । पार्टीमा काम गरेका नेता तथा कार्यकर्ता अत्यधिक रहेको र महाधिवेशन प्रतिनिधि जान आकांक्षी धेरै देखिएको एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले बताए ।

उनले भने, ‘प्रतिस्पर्धाका लागि मनोनयन दर्ता गराउने साथीहरूको सङ्‍ख्या ठूलो छ । हामीले सर्वसम्मतको प्रयास जारी राखेका छौं ।’

कोशी प्रदेशमा केन्द्रीय गुटभन्दा पनि स्थानीय रूपमा प्यानलहरू तय भएका छन् । महाधिवेशन प्रतिनिधि कसरी जित्ने भन्ने हिसाबले स्थानीय स्तरमा प्यानलहरू बनेका हुन् । केन्द्रमा भन्दा फरक–फरक प्यानल बनेको एमाले झापाका एक नेताले बताए ।

उनले भने, ‘माथि एउटै गुट भए पनि तल भने फरक–फरक प्यानलहरू बनेका छन् । सुनसरीमा पनि सोही अनुसारका प्यानलहरू छन् ।’

क्षेत्रअनुसार प्यानलगत प्रतिस्पर्धा हुने देखिएको एमाले सुनसरीका इञ्चार्ज जगदीश कुसियैतले बताए । उनका अनुसार माथिको प्यानल भनेर हल्ला पिटाइएको भए पनि अवस्था त्यस्तो होइन ।

कोशी प्रदेशमा सबैभन्दा बढी मोरङबाट महाधिवेशन प्रतिनिधि छनोट हुने छन् । ४६ जना प्रतिनिधि छनौट हुनु पर्नेमा मोरङमा १४५ जनाले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराएकाहरूले मनोनयन फिर्ता गर्ने अवस्था नभएको एमाले मोरङको उपाध्यक्ष सागर थापा बताउँछन् ।

एमाले प्रदेशको अधिवेशनदेखि नै प्रदेशमा प्यानल भिडन्त भएको थियो । महाधिवेशनमा प्यानल भिडन्तभन्दा पनि क्षेत्र अनुसार समूह तय भएको देखिएको छ । थापाले भने, ‘यहाँ प्यानल भन्दा पनि स्थानीय स्तरमा समूहहरू बनेका छन् । समूहअनुसार प्रतिनिधिका लागि मत माग्न पाटी सदस्यहरूका बीचमा नेताहरू पुग्ने गरेका छन् ।

झापामा सबैभन्दा बढी उम्मेदवार

धेरै सदस्य भएको र प्रतिनिधिसमेत बढी छनोट भएर जाने झापामा पनि अवस्था उस्तै रहेको छ । झापाबाट ३८ जना प्रतिनिधिका लागि १४८ जनाले उम्मेदवारी दर्ता गरेको एमाले झापा सचिव तुलसी कार्कीले बताए ।

झापाबाट ११ औँ राष्ट्रिय महाधिवेशनमा खुल्लातर्फ १९ जना, महिला १२, युवा ५ र दलित २ जना प्रतिनिधि सहभागी हुनेछन् । कार्कीका अनुसार खुल्लामा १०२ जना, महिला ४२, युवा ३३ र दलितमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

झापा क्षेत्र नं १ को खुल्लामा ३ जनाका लागि ६, महिलामा २ जनाका लागि ३, युवामा १ जनाका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै क्षेत्र नं. २ को खुल्लामा ५ जनाका लागि ३३, महिलामा ३ जनाका लागि ६, युवामा १ जनाका लागि ९ जनाले उम्मेदवारी दिएका हुन् । क्षेत्र नं ३ को खुल्लामा ३ जनाका लागि १३, महिलामा २ जनाका लागि ५, युवामा १ जनाका लागि ७ जनाले उम्मेदवारी दिए ।

क्षेत्र नं ४ को खुल्लामा ४ जनाका लागि १०, महिलामा २ जनाका लागि ४, युवामा १ जनाका लागि २ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं ५ को खुल्लामा ४ जनाका लागि २१, महिलामा ३ जनाका लागि १२, युवामा १ जनाका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि छनौटका लागि मङ्सिर १२ गते उम्मेदवारी फिर्ताको समय रहेको छ । आज रातिसम्ममा सर्वसम्मत प्रतिनिधि टुङ्गो नलागे १३ गते निर्वाचनबाट प्रतिनिधि छनौट गरिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *