प्राकृतिक जलायशमा प्रदूषणः मेलामा २० दिनसम्म थुप्रेकाे फाेहाेर नारायणी किनारमा जलाइयो

चितवन । जिल्ला खेलकुद विकास समिति चितवनको आयोजनामा भएको वृहत खेलकुद तथा व्यापारिक महोत्सव–२०८२ का क्रममा २० दिनसम्म थुप्रेको फोहोर नारायणी नदी किनारामा लगेर जलाइएको पाइएकाे छ । भरतपुर महानगरपालिकाको स्वीकृतिमा आयोजित महोत्सवले प्राकृतिक स्रोतमाथि प्रदूषण गरेपछि वातावरण क्षेत्रमा क्रियाशील व्यक्तिले प्रश्न उठाएका छन् ।

प्राकृतिक जलाशय रुपमा रहेको नारायणी नदीकाे स्वच्छतामा भरतपुर महानगर संवेदनशील नरहेकाे आराेप लागिरहँदा यसलाई पुष्टि गर्ने अर्को तथ्य फेला परेको हाे ।  महानगर आफैंले पनि प्लाष्टिकजन्य (नसड्ने) फोहोर नदी किनारामा पुर्ने गरेकाे पाइएकाे छ ।

नारायणी नदी घडियाल गोही, डल्फिनलगायतका दुर्लभ जलचरको बासस्थान हो । उक्त क्षेत्र दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायतका जङ्‍गली जनावरको विचरण स्थल पनि हो । तर भरतपुर महानगरले मेला महोत्सवको नाममा समेत पटक पटक प्रदूषण गर्ने गरेको छ ।

अनुमति शुल्क, मनोरञ्जन कर र स्टल भाडाको रुपमा बहाल कर लिएर महानगरले कात्तिक १८ गतेदेखि मंसिर २ गतेसम्म १५ दिन मेला सञ्चालन गर्न स्वीकृति दिएको थियो । तोकिएको अवधिभन्दा दुई हप्ता बढी सञ्चालित मेलामा लाखौँ दर्शकले अवलोकन गरेको आयोजकको आँकडा छ । लाखौँले अवलोकन गरेको मेलाबाट उत्सर्जित फोहोरको सही व्यवस्थापन आयोजकले गर्न सकेन ।

२ गते महोत्सव सक्किएपछि नदी किनाराको फोहोरको थुप्रोमा आयोजकले आगो लगायो । सार्वजनिक टिप्पणी तथा सामाजिक सञ्जालमा तस्बिर आएपछि जग्गा भाडामा दिने भरतपुर महानगरपालिकाले जिल्ला खेलकुद विकास समितिलाई पत्र काट्यो । किन फोहोर जलाएको हो ? जानकारी गराउन निर्देशन दियो । तर, चितवन जिल्ला खेलकुद विकास समितिले विज्ञप्ति निकालेर अज्ञात समूहले आगो लगाएको भन्दै जिम्मेवारीबाट पन्छिन खोज्यो ।

समितिका अध्यक्ष राजन कार्कीका अनुसार विक्रम गुरुङको समूहलाई फोहोर व्यवस्थापनको जिम्मा दिइएको थियो । राति नचिनेका मान्छेले आगो लगाएर फोहोर जलाएको उनीहरुको भनाइ छ । समितिका अध्यक्ष कार्कीले नेपाल प्रेससँग कुरा गर्दै भने,’हामीले फोहोर व्यवस्थापनको जिम्मा ठेकेदारलाई दिएका थियौँ । उनीहरुले आगो लगाएको थाहा भएन । तर, हाम्रो उद्देश्य नारायणी फोहोर गर्नु होइन । आगो लगाउनु गलत हो ।’

फोहोरमैला व्यवस्थापन ऐन २०६८ ले तोकिएको स्थानभन्दा बाहिर फोहोर फाले वा नष्ट गरे कारबाही तथा जरिवाना र सजायको व्यवस्था गरेको छ । ऐनको दफा ३८ र ३९ अनुसार ‘स्थानीय तहले तोकेको स्थानभन्दा बाहिर’ फोहोरमैला फालेमा वा नष्ट गरेमा पाँच हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ ।

फोहोर जलाएको थाहा पाएपछि प्रमाणसहित बेटर चितवन र जेन–जी समूह चितवनले कारबाहीको माग गर्दै भरतपुर महानगरपालिकालाई ध्यानाकर्षण-पत्र बुझाएको थियो । बेटर चितवनका संस्थापक सागर कार्कीले प्रमाणसहित ध्यानाकर्षण पत्र बुझाएको बताए । नारायणीमा फोहोर जलाउनेलाई कारबाहीको माग गरेको कार्कीले बताए ।

जिल्ला खेलकुद विकास समितिलाई फोहोरमैला व्यवस्थापन ऐन र महानगरपालिकाको आर्थिक ऐन अनुसार कारबाही किन नगर्ने ? भनेर पत्र पठाएको भरतपुर महानगरपालिकाका वातावरण महाशाखा प्रमुख बिसुराम कुँवरले जानकारी दिए । महानगरपालिकाले पत्र पठाएपछि चितवन जिल्ला खेलकुद विकास समितिले भने विज्ञप्ति निकालेर आफूहरुको गल्ती नभएको दाबी गर्दै स्थानीय प्रशासनलाई छानबिन गर्न अनुरोध गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *