
काठमाडौं । शहीद परिवारका बालबालिकाको अध्ययनका लागि गोल्याण ग्रुपले शैक्षिकवृत्ति योजना ल्याएको छ । जेन-जी आन्दोलनका कारण शहीद भएका परिवारका बालबालिकाको अध्ययन र अतिरिक्त क्रियाकलापमा गोल्याण ग्रुपले छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
ग्रुपले मंगलबार विद्यालय र अभिभावबीच त्रिपक्षीय सम्झौता गरेको छ । सम्झौतामा बालबालिकाको कक्षा १२ सम्म अध्ययनका लागि आवश्यक खर्च बेहोरिने उल्लेख छ । शैक्षिकवृत्तिका लागि घोषित आर्थिक प्याकेजको सीमाभित्र रहेर विद्यार्थीको अध्ययनमा खर्च गरिने गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स, पब्लिक रिलेसन एण्ड कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेले जानकारी दिइन् । बालबालिका अध्ययनरत विद्यालयका प्रधानाध्यापक र बालबालिकाका संरक्षक (अभिभावक) सँग त्रीपक्षीय हस्ताक्षर गरेको प्रमुख गैह्रेले बताइन् ।
पहिलो चरणमा छ जना शहीदका ९ बालबालिकालाई शैक्षिकवृत्ति प्रदान गर्ने गरी सम्झौता भएको छ । सम्झौताअनुसार गोल्याण ग्रुपले बालबालिकाको शिक्षामा मासिक ४० हजारका दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँ खर्च बेहोर्ने छ ।
‘उक्त छात्रवृत्तिमा विद्यार्थीको मासिक शैक्षिक शुल्क, खाना तथा खाजाको शुल्क, छात्रावास शुल्क, यातायात शुल्क, विद्यालयद्वारा सञ्चालित अतिरिक्त क्रियाकलापका शुल्क, वार्षिक भर्ना शुल्क, प्रशासनिक शुल्क, पुस्तक तथा स्टेशनरी खर्च, विद्यालयको पोशाक शुल्कलगायत विद्यालयको बिल–बिजकमा उल्लिखित सम्पूर्ण शुल्कहरू समावेश रहनेछ,’ त्रिपक्षीय सम्झौतामा भनिएको छ, ‘छात्रवृत्ति रकम विद्यालयले समय–समयमा जारी गरेको बिल–विजकबमोजिम गोल्याण ग्रुपद्वारा सोझै विद्यालयलाई भुक्तानी गरिनेछ ।’
कर्पोरेट एण्ड कम्युनिकेशन्स प्रमुख गैह्रेले २४ परिवारका ३२ जना बालबालिकालाई शैक्षिकवृत्ति प्रदान गरिने बताइन् । तीमध्ये मंगलबार ९ बालबालिकाको त्रिपक्षीय सम्झौता भएको हो । अन्य बालबालिकाको पनि छात्रवृत्ति सम्झौताको तयारी भइरहेको उनले बताइन् । उनका अनुसार गोल्याण ग्रुपले शैक्षिकवृत्तिको लागि वार्षिक करिब १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
गोल्याण ग्रुपले छात्रवृत्ति रकमको सीमाभित्र रहेर विद्यार्थीलाई उनीहरुको रुचिअनुसार अतिरिक्त क्रियाकलापमा खर्चसमेत बेहोर्ने बताइएको छ । विद्यालयले अतिरक्त क्रियाकलाप प्रदान नगरेको खण्डमा विद्यार्थीले उक्त क्रियाकलाप अन्य संस्था/संगठनबाट सिक्न सक्ने र सोवापतको रकम गोल्याण ग्रुपले छात्रवृत्ति रकमको सीमाभित्र रहेर भुक्तानी गर्ने सम्झौतामा भनिएको छ ।
सम्झौतापछि गोल्याण ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्याणले शहीद परिवारका बालबालिकाहरुको शिक्षाको दायित्व लिने प्रतिबद्धता कार्यान्वयनको महत्वपूर्ण चरण सुरु भएको बताए । जेन–जी आन्दोलनका शहीदहरुको योगदानको कदर स्वरुप उनीहरुमा आश्रित बालबालिकाको शिक्षाको जिम्मेवारी लिइएको उनले बताए ।

Leave a Reply