उद्योगी/व्यवसायीलाई सहजीकरण गर्ने सरकारको लक्ष्य : अर्थमन्त्री खनाल

रुपन्देही । रुपन्देहीका उद्योगी/व्यवसायीसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनालले तीन घण्टा खुलेर अन्तरसंवाद गरेका छन् । सबै क्षेत्रका उद्योगी व्यवसायीका प्रतिनिधि तथा उद्योगीहरू सहभागी त्यो कार्यक्रममा अर्थमन्त्रीले पहिले समस्या सुने र त्यसको समाधानमा सरकारले थालेका योजना सुनाए ।

सिद्धार्थ उद्योग वाणिज्य संघले रुपन्देहीमा बिहीबार आयोजना गरेका कार्यक्रममा सहभागीले उद्योगी–व्यवसायीलाई भरोसा दिलाउँदै अर्थमन्त्री खनालले अब सहजीकरणमै सरकार अघि बढ्ने प्रतिबद्धता गरेका छन् ।

‘अर्थमन्त्रीले हाम्रा कुरा ध्यान दिएर सुन्नुभयो, विभागीय टीम पनि भएकाले केही कुरा तत्काल पनि समन्वय भयो, केही नीतिगत कुराहरू टिपोट गरेर जानुभएको छ, व्यवसाय सहजीकरण, कर प्रशासनका झमेला हटाउन पहल गरिने, विधिमै रहेर कसरी काम गर्न सकिन्छ भन्ने विषय र डेडिकेटेट तथा ट्रंकलाइनको समस्या दीर्घकालीन समाधानको विषय व्यवसाय केन्द्रित छलफल भयो’ कार्यक्रममा सहभागी बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले भने ।

उनले प्राकृतिक साधन स्रोतको उपयोग गर्नुपर्ने भन्दै अन्तरपालिकाको समन्वय नहुँदा नेपालमा विकास र निर्माणमा समस्या भएको भन्दै यसलाई सहजीकरण गर्नका लागि आग्रह गरे । अर्यालले राजस्व अनुसन्धान कार्यालयले व्यवसायीलाई तर्साउने गरेको भन्दै त्यस्ता कार्य बन्द गर्न अनुरोध गरे ।

रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले संकटग्रस्त उद्योगीलाई चल्नसक्नेगरी सरकारले योजना बनाउनु पर्ने र नीतिगत रूपमा अघि सारेका योजना कार्यान्वयनमा आग्रह गरे । उनले डेडिकेटड र ट्रंक लाइनको विषयमा पनि सरकारले पुनर्विचार गर्नुपर्ने सुझाव दिए ।

अर्थमन्त्री खनालले उद्योगी–व्यवसायीलाई धरपकड नगरी सहजीकरणतर्फ सरकार लागेको जनाएका छन् । उनले कुनै व्यवसायको कमजोरी नहुने जनाउँदै गलत गर्ने व्यक्ति भएको जनाए । त्यसैले कुनै अनुसन्धान हुँदा व्यवसाय बन्द नगरी गरिने बताए । यस्तै, उनले फूल अडिट वा कुनै पनि बहानामा उद्योगी–व्यवसायीलाई दुःख नदिइने जनाए । तर, आवश्यकता आधारमा अनुसन्धान भने गरिने स्पष्ट पारे ।

बोल्दै अर्थमन्त्री खनालले आर्थिक क्षेत्र सुधारमा सरकारले ध्यान केन्द्रित गरेको बताए । ‘यो सरकार निर्वाचन गर्नका लागि बनेको हो । हामीले फागुन २१ भित्रै निर्वाचन गर्न लागिपरेको छौँ’, उनले भने, ‘तर, छोटो समयमा भए पनि आर्थिक क्षेत्रमा सुधारका काम गर्छौँ ।’ उनले राजस्व चुहावट नियन्त्रणका लागि सरकारले भन्सारदेखि कर प्रशासनसम्म सुधारका काम गरिरहेको बताए ।

यस्तै, मन्त्री खनालले ढुंगा–गिटीको निर्यात खोल्ने विषयमा सरकार सकारात्मक रहेको जनाए । ‘लुम्बिनी प्रदेशबाट सहज रूपमा ढुंगा– गिटी निर्यात गर्न सम्भव छ । राम्रोसित उत्खनन गरिए पर्यावरणीय क्षति नहुने भएकाले उद्योगीले पनि लामो समयदेखि यही माग दोहोर्‍याई रहेकाले आफू मैले सकारात्मक भूमिका खेल्छु ।’ यस विषयमा उद्योग मन्त्रीसित कुराकानी गरेर बाँकी अवधिमा माग पूरा गर्न पहल गर्ने उनले बताए । ‘ढुंगा–गिटी निर्यात गर्ने कुरा वर्षौदेखिको माग हो,’ उनले भने, ‘वर्तमान सरकारको बाँकी अवधिमा यसलाई निष्कर्षमा पुर्याउनेगरी काम गर्छ ।’

उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा सकारात्मक रहेको जनाए । ‘सरकार गठन भएको छोटो समय भयो । विमानस्थलबारे केन्द्रित हुन पाएका छैनौँ’, उनले भने, ‘बाँकी अवधिमा राज्यको यति धेरै लगानी भएको विमानस्थल सञ्चालनका विषयमा केन्द्रित हुन्छौँ ।’

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले बिना भन्सार भारतीय बजारमा किनेर ल्याउने सामानका कारण रुपन्देहीका स्थानीय बजार प्रवर्द्धन हुन नसकेको बताए । वर्षौँदेखि मलको चोरी तस्करी भइरहेकाले भन्सार राजश्व संकलनमा असर परेको बताए । रुपन्देहीको बेलहियाबाट मुलुकमै धेरै पर्यटक भित्रिने भएकाले त्यसलाई पर्यटनमैत्री नाका बनाउन माग गरे ।

मुलुकमा जेन–जी आन्दोलनपछि उद्योग सञ्चालनमा चुनौती देखिएकाले उद्यम–व्यवसायका लागि अनुदान र लगानीकर्ताको मनोबल उकास्ने कार्यक्रम ल्याउन माग गरे । ‘कर पक्रिया सरल र पारदर्शी बनाउनुपर्छ,’ उनले भने, ‘उद्योग व्यापारलाई उकास्न नीति निर्माण तहमा निजी क्षेत्रको अर्थपूर्ण सहभागिता गराउन हाम्रो माग छ ।’

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले ढुंगा–गिट्टीको भारत निर्यात खुलाउन माग गरे । स्थानीय तहलाई जिम्मेवारी दिएर वा सरकारले नै निगरानी निकाय तयार गरेर भए पनि ढुंगा–गिट्टी निकासी खुला गर्न माग गरे । नेपालमा खेर गइरहेका यस्ता सामाग्री भारतमा चर्को मूल्यमा विक्री हुने र भन्सार राजश्वमा पनि उल्लेख्य वृद्धि हुने भएकाले गिट्टी, बालुवा निकासी खुला गर्न माग गरे ।

उद्योगी उज्ज्वल कसजुले विशेष आर्थिक क्षेत्र (सेज)को भाडादर घटाएकोमा सरकारलाई धन्यवाद दिए । सरकारले सेजको भाडा ७५ प्रतिशत घटाएर प्रति वर्गमिटर ५ रुपैयाँ कायम गरेको छ । यसले उद्योगीको घाउमा मलहमपट्टि लगाएको उनले बताए । साथै सेजका उद्योगले गरेका उत्पादनको निर्यातमा सहजीकरण गरिदिन माग गरे ।

नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले निजी क्षेत्रको मनोबल उकास्न सरकारले कुनै कसर बाँकी नराखोस् भनेर अनुरोध गरे । ‘तपाईँले गरेका राम्रा कामले आगामी दिनमा निर्वाचित हुने सरकार पनि दबाब पुर्‍याओस्,’ उनले भने, ‘गौतमबुद्ध विमानस्थल चलाउन के–के गर्नुपर्छ सबै गरिदिनुस् ।’ जनताले महशुष गर्नेगरि आर्थिक क्षेत्रको उन्नतिका लागि काम गरिदिन उनले आग्रह गरे । यसबाट मुलुक उन्नतिको मार्गमा लम्किने उनले बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ठाकुरकुमार श्रेष्ठले रुपन्देही–परासी क्षेत्र आर्थिक हबका रूपमा विकास भए पनि भैरहवास्थित एकीकृत जाँच चौकी (आईसीपी) भारतीय रेल मार्गसित नजोडिएकाले आगामी दिनमा समस्या हुन सक्ने बताए । भारत सरकारसित उच्चस्तरीय वार्ता गरेर भए पनि आईसीपीसम्म रेल मार्ग पुर्‍याउन पहल गरिदिन अनुरोध गरे । कार्यक्रममा सहभागी रुपन्देहीका उद्योगी व्यवसायीले भोग्नु परेका समस्याबारे सुनाएका थिए । चोरी तस्करी नियन्त्रण र मूल्य समायोजनका लागि भन्सार दर घटाउनुपर्ने व्यवसायीको भनाई थियो ।

व्यवसायी रबी रौनियारले अहिलेसम्म नक्कली बिलबिजक परीक्षण गर्ने संयन्त्र तयार नभएकाले धेरै जना समस्यामा परेको बताए । पर्यटन व्यवसायी सञ्जय बजिमयले बुद्ध जन्मस्थल लुम्बिनीका लागि प्रवेश बिन्दुका रूपमा रहेको बेलहिया नाकाको सुधार गर्न माग गरे । ‘ओभर ट्राफिक र लोडको समस्या छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा भुक्तानी माध्यम सहज तुल्याइदिनु पर्‍यो ।’

नेपाल रेडिमिक्स व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष भरतकुमार पोखरेलले बैंकिङ प्रणालीलाई सहज र व्यवसायी मैत्री बताउनका लागि अर्थमन्त्रीलाई आग्रह गरे । उनले कृषिक्षेत्रलाई उत्पादनमुखी र जग्गाको नयाँ वर्गीकरण गर्ने कार्यलाई वैज्ञानिक किसिमले गर्न आग्रह गरे । बैंकहरुले लिने सेवा शुल्क पूर्ण खारेज गर्नुपर्न भन्दै वार्षिक नवीकरण शुल्कलाई मिनाहा गर्नुपर्ने उनको माग छ ।

महिला उद्यमी पुनमकुमारी अग्रवालले उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टले बैंक ग्यारेन्टी गरेर लगेको १५ करोड बराबरको कोइलाको भुक्तानी नगरेको गुनासो गरिन् । आफू महिला भएका कारण नेपालमा व्यापार व्यवसायी तथा उद्योग सञ्चालनमा कठिन भएको गुनासो उनको थियो । तिलोत्तममा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले अर्थमन्त्रीले फुलअडिटको चेकजाँचलाई लिखित निर्देशन गर्नुपर्ने सुझाव दिए । सीमाक्षेत्रमा पछिल्लो समयमा अवैध तस्करी बढ्दो रहेको भन्दै यसलाई रोक्न नीतिगतरुपमा पहल गर्न कार्कीले आग्रह गरे । गार्मेन्ट उद्योगहरूमा अन्डर बिलिङको समस्या रहेको भन्दै त्यसलाई न्यूनीकरण र कानुनी दायरामा ल्याउन अनुरोध गरे ।

युवा उद्यमी सिद्धार्थ अग्रवालले भारतबाट नेपालमा रासायनिक मल ल्याउँदा भन्सार शुल्क नलाग्ने तर नेपालमा नै मल निर्माण गर्नका लागि आफूले उद्योग स्थापना गरेको तर मल बनाउने कच्चा पदार्थ ल्याउँदा भन्सार शुल्क लाग्ने गरेको जनाए । उनले यस्तो व्यवस्था हटाउन आग्रह गरे ।

भन्सार विभागमा महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार, व्यवसायी र ग्राहक मिलेर काम गर्ने हो भने चोरी तस्करी नियन्त्रण हुने जनाए । खुल्ला नाका भएका कारण चोरी तस्करीलाई नियन्त्रण गर्न सबै व्यवसायीलाई भन्सार भित्रबाट निकासी पैठारी गर्न आग्रह गरे ।

राजस्व अनुसन्धान विभागमा महानिर्देशक तीर्थ चिलुवालले उद्योगी व्यापारीका कुनै समस्या भएमा आफूलाई खबर गर्न आग्रह गर्दै अहिले व्यवसायीमैत्री वातावरण सिर्जना भएको दाबी गरे । उनले अहिले नक्कली विलविजकको भयावह अवस्था रहेको जनाए ।

बिहीबार बिहान बेलहिया नाकामा रहेको आईसीपीलगायत औद्योगिक क्षेत्रको निरीक्षण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *