प्रेस पास ठूलो कि पासपोर्ट ?

नमस्कार आवाज विहीनहरूको आवाजमा यहाँहरूलाई स्वागत छ म युवराज न्यौपाने

झन्डै १८ वर्ष पहिले धनगढी मोहनपुरमा रहेको रेडियो खप्तडमा प्रत्येक दिन गुन्जिन्थ्यो । समाचार ,अन्तर्वार्ता, साहित्य कार्यक्रम मात्रै होइन रेडियोका विज्ञापनमा पनि सबैभन्दा धेरै आवाज त्यही थियो।

रेडियो पत्रकारिताको मेरो प्रारम्भ पनि यी नै आवाज सुनेर भयो ।

‘म रेडियोको संवाददाता बन्न चाहन्छु’ त्यो बेला उहाँ (युवराज न्यौपाने) लाई नै मैले पहिलो पटक कार्यालयमै भेटेर प्रस्ताव गरेको थिए ।

‘हुन्छ नि’ त्यही उत्तरबाट मेरो रेडियो पत्रकारिता सुरु भयो ।

संवाददाता हुँदै समाचार बाचकसम्म पुग्न उहाँको ठुलो भूमिका थियो । साथी प्रकाश मिश्र र म कयौँ पटक हाम्रो घरबाट किशोर किशोरीसँग मनका कुरा चलाउन साइकलमा पुगेका छौँ । सडक बन्द हुँदा अन्य विकल्पहरू नपाएपछि करिब ४५ किलोमिटर साइलमा ओहोरदोहोर गरेका पहलहरू स्मरण छन्।

मैले यो ब्लगमा मेरो सङ्घर्ष र अतीत भन्दा पनि ती सङ्घर्ष र अतीतका मार्ग दर्शकको विषयमा उल्लेख गर्न खोजिरहेको छु ।

‘युवराज सर जानुभएको हो र ? ’ बुधवार एक मित्रले फोनमा सोधेको प्रश्नले बेचैन बनायो ।
‘कहाँ ?’

‘विदेश ।’

‘घुम्न ?’

‘नाइँ काम गर्न रे ’ फेसबुक हर्नुहोस् न ।

मैले ढिलो नगरी फेसबुक खोले र सर्च गरे।

बाध्यता… अनि बिदाइ,

खाली निदार , खुसी उडेको मुहार, कालो चस्मामा उज्यालो ज्याकेट विमानस्थल बाहिरकै तस्बिरले बिदेसिन लागेको सङ्केत गरेको थियो ।

कलमलाई हतियार बनाएर समाज बदल्ने सपना बोकेको १९ वर्ष भयो । आवाज विहीनका आवाज बन्ने सङ्कल्प थियो र प्रयास पनि गरेकै हो , जारी रहने छ, तर अब त्यही आवाज केही समयका लागि मौन हुँदै छ। पत्रकारिता मेरो जीवनको एक मात्र पहिचान थियो, रहिरहनेछ पनि। तर परिस्थितिले अब यो माटोबाट टाढिनु परेको छ ।

बिदेसिने निर्णय रहर होइन, बाध्यता बन्यो। घर-परिवार, करिअर, अनि आत्मसम्मानको लडाइँमा मैले केही वर्षका लागि यो बाटो रोज्नु पर्‍यो। प्रेस पास बोक्ने हातमा अब श्रम स्वीकृति थपिएको छ।

साथीहरूलाई प्रश्न लाग्न सक्छ- “पत्रकार भएर पनि किन विदेश?”

उत्तर एउटै छ- भोकले कहिल्यै पेसा हेर्दैन ।

यो माटो माया हो, तर माया मात्र खाएर बाँच्न सकिँदैन रहेछ। आशा छ, केही वर्ष पछि फर्किएर फेरि कलम समात्न पाउनेछु – अझै जागरूक भएर अझ सशक्त भएर, अझ निष्पक्ष भएर ।

केही समय देशलाई टाढाबाट माया गर्नेछु, कलम जहाँ गए पनि मन त नेपाली रहन्छ नै ।

बिदा… केही समयका लागि। सबैलाई माया र सम्मान छ ।

विमानस्थल बाहिरको तस्बिरसहित मामा लेख्नुभएको यी शब्दहरूले भावुक बनायो ।

म उहाँलाई गुरु मान्छु । मामा भन्छु । मामाको बाध्यात्मक विदेश यात्रा कसरी बन्न पुग्यो त्यो म जान्दिन तर, एउटा पेशगत पत्रकारको बहिर्गमनले मन पोल्यो ।

१९ वर्ष उहाँले पत्रकारितामा के गर्नुभएन न , खप्तड एफएमलाई चिनाउनेदेखि लम्कीमा सामुदायिक रेडियो बनाउने सम्म उहाँ नै हो । कैलाली कञ्चनपुरमा सयौँलाई पत्रकारिता सिकाउनु भयो । पढाउनु भयो ।

तत्कालीन अवस्थामा खप्तड एफएम पछि एभिन्युज टेलिभिजनमा मामा जोडिनु भयो । उहाँकै हौसला र ऊर्जाले रेडियो पत्रकारिता पछि ममा पनि टेलिभिजन मोह जाग्यो । धनगढी ब्युरोमा दाइ (हिम्मत रावलबाट) धेरे कुरा हामीले सिक्ने मौका पायौँ ।झन्डै एक वर्षपछि मामालाई एभिन्युज केन्द्रीय कार्यालयले बोलायो । धनगढीमा मैले खुलेर रिपोर्टिङ गर्दा गर्दै फेरी त्यो अवसर मलाई पनि आयो । हामी दुवै जना धनगढी हुँदै काठमाडौँमा पनि जम्ने अवसर पायौँ ।

उहाँको ओझिलो आवाज टेलिभिजनमा गुन्जिरहन्थ्यो । बुधवार सामाजिक सञ्जालमा तत्काललाई पत्रकारिता छोडेर विदेश यात्रा लाग्न थालेको सन्देश पछि म ती दिन र ती क्षणहरू स्मरण गरिरहेको छु ।

हुन त पत्रकारितामा छोडेर विदेश जान बाध्य भएको उहाँ मात्रै पहिलो व्यक्ति होइन । अन्तिम पनि हुनुहुने छैन । अरू को के कुरा म आफै पनि मलेसिया पुगेको कुरा स्मरण हुन थाल्यो ।

एभिन्युज टेलिभिजनको लोकप्रिय कार्यक्रम अफ ट विटको उत्पादन कक्षमा बसेर देखिने बाहेकका सबै काम गर्दै आइरहेको थिए । तत्कालीन प्रस्तोता सुमन ढुङ्गानासँग सिके । उहाँ खबर भित्रको खबरमा गएपछि जिम्मेवारी थपियो । चिरञ्जीवी शाह प्रस्तोता बन्नु भयो मैले कार्यक्रम तयार गर्न थाले ।

अब धेरै काठमाडौँमा रुमल्लिन हुँदैन भन्दै आफ्नै गाउँमा एउटा रेडियो सुरु भयो । म त्यसको प्रसारण प्रमुखसहितको जिम्मेवारीसहित कैलाली फर्किए । त्यसको केही समयपछि म पनि बिदेसिन बाध्य भए । जसरी अहिले मामा बाध्य हुनु भयो ।

‘उहाँलाई पैसाको खासै अभाव थिएन म्याडमको राम्रो जागिर थियो सरले पनि राम्रै कमाइरहनु भएको थियो कि विदेश जानु पर्ने भएछ ? ’ एक पत्रकारले मलाई सोध्न भयो ।

‘म पनि त हिजो मलेसिया श्रम गर्न गएको थिएन नि , कहिले काहीँ आर्थिक अवस्था भन्दा पनि परिस्थिति कमजोर बन्दो रहेछ ’ मैले आफ्नो अनुभवसँगै वास्तविकता बताए ।

हिजो जय स्वविमानको नारा घन्काउने प्रेम बानिया एक मुट्ठी रगत र पसिना रहँदासम्म देशको लागि केही गर्नु पर्छ भन्नुहुन्थ्यो । त्यसको केही समय पछि उहाँ पनि बिदेसिनु भयो । यस्ता कयौँ पत्रकार छन् । कोही अध्ययनको लागि त कोही श्रमको लागि नेपाल छोडिरहेका छन् । बलियो आर्थिक स्रोत भएकाहरू अस्ट्रेलिया अमेरिका उड्छन् । कमजोर आर्थिक स्रोत भएकाहरू खाडीमा पुग्छन् । सबै नेपालीहरूको वास्तविक पीडा हो यो ।

000

बुधवारबाट लम्की महोत्सव सुरु भएको छ । अघिल्लो पटकको उद्घोषण समेतको जिम्मेवारी पाउनु भएका उहाँ त्यही दिन विमानस्थलबाट नेपाल छोड्दै हुनुहुन्थ्यो ।

‘आफ्नो जीवनको ऊर्जावान् समय व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजलाई समर्पण गर्नुभयो। बिहान-साँझ नभनी समाचारको खोजी, सत्यको पक्षमा अडिग यात्रा- ती सबै सम्झिँदा आज मन भारी भइरहेको छ… तर परिस्थिति सधैँ हाम्रो पक्षमा कहाँ हुन्छ र ?’ एउटा पत्रकारको विदेश यात्रामा उनलाई भनिरहेका छन्, ‘आज त्यही माटो, जहाँबाट पत्रकारिताको यात्रा सुरु भयो, त्यही माटो छोडेर युरोपको लामो यात्रामा निस्किनु पर्ने बाध्यता…’

कलम बोक्ने हातमा श्रम स्वीकृतिको कागज थपिएको छ । कहिल्यै प्रेस पास नछोड्ने तपाइले पासपोर्ट सम्हालेर राख्नु पर्ने छ । बाध्यताले बिदेसिए पनि यात्रा सुखद रहोस् । उपलब्धि पूर्ण रहोस् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *