प्रम कार्कीको सचिवालयले बर्खास्त गरेको विज्ञ समूहले भन्यो- प्रधानमन्त्री स्वार्थ समूहको चङ्गुलमा पर्नुभयो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा कार्यरत विज्ञ समूहका सदस्यले प्रधानमन्त्री सुशीला कार्की स्वार्थ समूहको चङ्‍गुलमा परेको बताएका छन् ।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नियुक्ति खारेज गरिएका युवा तथा सामाजिक विज्ञ प्रदीप ज्ञवाली, सूचना तथा प्रविधि विज्ञ अरुण कटुवाल र शाखा अधिकृत आकृति घिमिरेले देश गम्भीर संकटमा रहेका बेला विभिन्न स्वार्थ समूहले चलखेल गरिरहेको बताएका छन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले नै घेराबन्दीमा पारी प्रतिशोध साँधेर तीनै जनाको नियुक्ति खारेज गरिएको उनीहरुको आरोप छ ।

विज्ञप्तिमा उनीहरुले भनेका छन्- ‘हामी सचिवालयमा हुनु र नहुनुले अरेथ नराख्ला त यस्तो विषम परिस्थितमा सरकारको वरिपरि को र कस्ता मानिसहरु कुन स्वार्थबाट प्रेरित भएर रहेका छन् भन्ने कुराबारे भने प्रधानमन्त्रीज्यूले ध्यान दिनै पर्छ ।’

विज्ञप्तिमा, सचिवालय विस्तारका क्रममा स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले नातावादलाई प्रश्रय दिँदै आफ्नै श्रीमती र अन्य आफन्तलाई नियुक्ति गरेको विषयमा आफूहरुले राजीनामा मागेको विषयमा अडिग रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री कार्कीले नै श्रेष्ठलाई बर्खास्त गर्नुपर्ने उनीहरुको माग छ ।

जेन-जी आन्दोलनले दिएको म्याण्डेडबाट पछि हट्ने छुट नागरिक सरकारलाई नभएको उनीहरुले उल्लेख गरेका छन् । प्रधानमन्त्री कार्कीलाई सचेत गराउँदै विज्ञप्तिमा भनिएको छ- हिजो हामीले सडकमा लडेका मुद्दा, स्वेच्छाचारिताको विरुद्ध थियो । नातावादको विरुद्ध थियो । सबैले हेक्का राख्नै पर्ने कुरा, हिजोको सरकार यिनै दम्भको कारण ढल्नु परेको थियो ।

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *