जेनजी आन्दोलनपछि प्रदेश सभामुख त्यागेका भुवन पाठक राप्रपाको महामन्त्रीमा पुनर्स्थापित

काठमाडौं । बाग्मती प्रदेशको सभामुखबाट राजीनामा दिएका भुवन पाठक राप्रपाको महामन्त्रीमा पुनर्स्थापित भएका छन् । आज बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले उनलाई महामन्त्रीमा कमब्याक गराएको हो ।

२०७९ पुस २९ गते पाठक बाग्मतीको सभामुखमा निर्वाचित भएका थिए । निर्वाचित भएसँगै उनी पार्टीमा निष्क्रिय रहे । गत भदौ २३ को जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट ठूलो संख्यामा हताहती भएपछि राप्रपाले संघ र प्रदेश संसदबाट राजीनामा दिने निर्णय गरेको थियो । त्यसै अनुसार पाठकले भदौ २४ मा राजीनामा घोषणा गरे ।

उनले असोज १ मा उपसभामुखलाई राजीनामा बुझाएका थिए । उक्त राजीनामा स्वीकृत भएकोबारे उपसभामुखको सचिवालयले केही दिनअघि मात्रै जानकारी दिएको थियो ।

सभामुख पद गुमेसँगै पाठक राप्रपामा फिर्ता भएका हुन् । आज बसेको कार्यसम्पादन समितिको बैठकपछि जारी विज्ञप्तिमा उनलाई साबिकको महामन्त्री पदमा स्वागत गरिएको उल्लेख छ । राप्रपाका अन्य प्रदेश सांसदहरूले भने राजीनामा दिएका छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *