
काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पहिलो जित निकालेको छ । सुरुआति दुई खेलमा पराजित भएको पोखराले बिहीबार भएको खेलमा जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्यो ।
पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ९ विकेट गुमाएर मात्र १३० रन बनाउन सक्यो । जनकपुरमाथि जित निकाल्न बलिङमा पोखराका स्पिनरले उत्कृष्ट प्रदर्शन गरे । स्पिनर विपिन खत्रीले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १५ रन खर्चेर ४ विकेट लिए ।
सुमित वर्माले २, कप्तान कुशल भुर्तेल र जिम्मी निशमले एक/एक विकेट लिए । ब्याटिङमा जनकपुरका लागि वायन पार्नेलले अर्धशतक बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । उनले ३८ बलमा ५० रन बनाएर रिटायर्ड आउट भए । माज सदाकतले २० र सञ्जय कृष्णमूर्तिले २५ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसअघि टीयू क्रिकेट मैदानमा पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । पोखराका लागि समिर वर्माले अविजित अर्धशतकीय इनिङ खेले । उनले २९ बलमा २ चौका र ४ छक्का प्रहार गरे । ओपनर दीनेश खरेल ३८, एडम रोसिङटोन २४, कप्तान कुशल भुर्तेल ०, जिम्मी निशम १, तिर्थराज दास २९ र डान डौथवेट ७ रनमा आउट भए । किरणकुमार ठगुन्ना १ रनमा अविजित रहे ।
बलिङमा जनकपुरका सञ्जय कृष्णमूर्तिले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशी र अनिलकुमार शाहले एक/एक विकेट लिए । साविक विजेता जनकपुरले भने लगातार तेस्रो हार बेहोरेको छ ।

Leave a Reply