
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजावादी अभियन्ता दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओ फुटेजमा सुनिएको आवाज आफ्नै भएको स्वीकार गरेका छन् । बिहीबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा समितिका सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त स्वीकारोक्ति गरेका हुन् ।
बैठकमा सांसदले उक्त भिडिओको बारेमा गृहमन्त्रीसँग जिज्ञासा राखेका थिए । जवाफमा अर्यालले भने, ‘त्यो भिडिओमा बोलेको एउटा मान्छे म पनि हो । तर मैले त्यस्तो अन्यथा बोलेको छैन । आगजनी भएको पनि ठिक र मान्छेको हताहती भएको पनि ठिक भनेर मैले भनेको छैन । मैले त्यसो हुनु हुँदैन भन्ने कुरा बोलेको छु । त्यसैका लागि म त्यहाँ उपस्थिति थिएँ ।’
उनले थपे, ‘तपाईँले यसो बोलिदिनुभयो भने कम होला कि, यो आगजनी रोकिएला कि भनेर अरूलाई पनि अनुरोध गरिएको थियो । त्यसलाई न्यूनीकरण गर्नको लागि धेरैलाई अनुरोध पनि गरियो । म अहिंसावादी हो । मैले अहिंसाकै पहल गरेको छु र गरिरहने छु । म त्यसमै प्रतिबद्ध छु । कोही पनि उपलब्ध नभएपछि म आफैँले आह्वान गरेको हुँ ।’
के थियो भिडिओमा ?
राजावादी अभियन्ता प्रसाईँले मंसिर १ गते आफ्नै निवासमा एउटा भिडिओ सामग्री सार्वजनिक गरेका थिए । सो भिडिओको ब्याक ग्राउन्डमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्यालको आवाज सुनिएको छ ।
भिडिओमा आकाशमा हेलिकप्टर उडिरहेको र घर जलेर निस्किएको धुवाँको मुस्लैमुस्लो देखिन्छ । त्यही बेला अर्याल भन्छन्- यी घरमा मान्छे नि परे होलान् कोही न कोही ? क्याजल्टी (हताहती) पनि छ होला ?
अर्को आवाज सुनिन्छ- उ हेलिकप्टर भागेछ ।
तेस्रो आवाज- उ अर्को अर्को… हान्नु न ढुङ्गाले ! भाग्यो !! भाग्यो !!!
चौथो आवाज- यिनीहरूलाई बचाउन के जरुरी थियो र ?
फेरि अर्याल- हैन ठिक छ, मान्छे त बचुन् ।
त्यसपछि अहिलेकी प्रधानमन्त्री सुशीला कार्की सुन्निन्छिन्- के बचाउनु ? के (बचाउने) सेना हो ? सेनाको हो ?
अर्याल भन्छन्- हो, सेनाले भगाइदियो !
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो भिडिओका विषयमा सरकारले जवाफ दिनुपर्ने बताउँदै आएका छन् ।

Leave a Reply