‘म्यान अफ द म्याच’ भएपछि विनोद भण्डारीको गुनासो : राम्रो खेल्दा पनि राष्ट्रिय टिममा परिनँ

काठमाडौं । सुदूरपश्चिम रोयल्सका ब्याट्सम्यान विनोद भण्डारीले राष्ट्रिय टिमको छनोट प्रक्रियामा सार्वजनिकरुपमै प्रश्न उठाएका छन् । आफूले एनपीएलमा राम्रो खेल्दा पनि राष्ट्रिय टिममा नपरेको उनको गुनासो छ ।

भण्डारीले आज लुम्बिनी लायन्सविरुद्धको म्याचमा उत्कृष्ट अर्धसतक प्रहार गर्दै म्यान अफ द म्याच बनेका थिए । उनले ४९ बलमा ६९ रन बनाउँदै अविजित रहे । भण्डारीको इनिङमा ४ छक्का र ५ चौका समावेश थिए ।

पोस्ट म्याच प्रेस मिटमा उपस्थित भएका उनलाई राष्ट्रिय टिममा फेरि ‘कमब्याक’को सम्भावनाबारे सोधिएको थियो । भण्डारीले अघिल्लो सिजनमा पनि आफूले राम्रो प्रदर्शन गरेको तर राष्ट्रिय टिमको ‘क्याम्प’मा समेत नपरेको गुनासो गरे । एनपीएल ‘सेलेक्सन गेम’ हो कि होइन भन्ने प्रश्न भण्डारीको छ ।

उनले प्रधानमन्त्री कपमा सर्वाधिक रन जोड्ने ५ खेलाडीलाई राष्ट्रिय टिममा समावेश नगरिएको विषयमा पनि प्रश्न उठाएका छन् ।

भण्डारीको भनाइ यस्तो थियो :

एनपीएल ‘सेलेक्सन म्याच’ हो भनेर कसले भन्छ ? त्यो कुरा क्लियर गर्नुपर्‍यो । योभन्दा अगाडिको सिजनमा पनि राम्रो प्रदर्शन गरेको थिएँ, तर क्याम्पमा नै परिनँ । त्यसैले मलाई कुनै फरकै पर्दैन । मलाई कुनै फरकै पर्दैन कि यो ‘सेलेक्सन म्याच’ हो कि के हो भन्ने । पीएम कपमा पनि त्यस्तै भइरहेको छ, एनपीएलमा पनि त्यस्तै भइरहेको छ । त्यसैले केही सोच्नुपर्छ जस्तो लाग्दैन । ‘सेलेक्सन गेम’ हो भने ‘पर्फमेन्स’ गरेको मान्छे किन ‘सेलेक्सन’ हुँदैन ? पिएम कपमा पनि सबैभन्दा धेरै रन बनाउने टप ५ ब्याट्सम्यानहरु नै स्क्वाडमा थिएनन् । भनेपछि पिएम कपलाई कसरी ‘सेलेक्सन म्याच’ भन्नुहुन्छ ? यहाँ पफर्म गर्दैमा टिममा पर्छ भन्ने केही ग्यारेन्टी छैन । अब छनोटमा पर्छु वा पर्दिनँ भन्ने मेरो हातको कुरा होइन । मेरो काम खेल्ने हो । कसैले ‘सेलेक्सन’ गर्छ भने खेल्ने हो । तर सेलेक्सनमा नपर्दैमा खेल्न छोड्दिनँ । एनपीएल खेल्न छोड्दिनँ ।

एनपीएलमा विदेशी खेलाडीहरुसँग खेल्दा सहज महसुस हुने अनुभव उनले सुनाए । विदेशी ब्याट्सम्यानहरुले सजिलै रन बनाउँदा आफूलाई प्रेसर कम हुने उनको भनाइ छ ।

भण्डारीले भने, ‘उनीहरुसँग खेल्दा हिटिङ गर्ने प्रेसर हुँदैन । उनीहरुले चार्ज गर्छन् । त्यसैले लामो समयसम्म बस्न सकिन्छ जस्तो हुन्छ । नेपाली प्लेयरहरु छ भने चाहिँ कसले चान्स लिने भनेर क्याल्कुलेट गर्नुपर्छ । उनीहरु छन् भने इजिली रन बनाइरहेका हुन्छन् ।’

भण्डारी कुनै समय नेपाली राष्ट्रिय टिमको नियमित सदस्य थिए । उनले नेपाली टिमबाट १७ एकदिवसीय र ४० टी २० अन्तर्राष्ट्रिय खेलेका छन् । एकदिवसीयमा १ अर्धसतक र टी २० मा २ अर्धसतक उनको नाममा छ । लगातार कमजोर प्रदर्शनका कारण उनले राष्ट्रिय टिमबाट स्थान गुमाएका थिए । पछिल्लो समय उनले नेपालको ए टिमलाई नेतृत्व समेत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *