आफूनिकटका ‘७ भाइ’ सँग देउवाले के भने ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरूसँग सहमतिमा अघि बढ्न सुझाव दिएका छन्।

महाधिवेशन चुनावअघि कि पछि गर्ने भन्ने विषयमा पार्टीभित्र विवाद चर्किएपछि आज देउवाले आफूनिकटका ७ भाइ नेताहरूलाई छलफलमा बोलाएका थिए।

देउवासँगको छलफलमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला विजय गच्छदार, डा शशांक कोइराला र डा. प्रकाशरण महतलगायत सहभागी थिए।

देउवालाई भेटेर फर्किएका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनअघि महाधिवेशन गरे पार्टीलाई क्षति हुने कुरा आफूहरूलाई जानकारी गराएको बताए।

उनले भने, ‘हामीले उहाँलाई चुनावअघि महाधिवेशन गर्दा पार्टीलाई क्षति पुग्छ भन्ने कुरा राख्यौँ। उहाँले आफूलाई पनि त्यो कुरा थाहा भएको भन्दै सहमतिमै मिलेर अघि बढ्न भन्नुभयो।’

कांग्रेसमा महाधिवेशनको विवाद चर्किँदा केन्द्रीय समिति बैठक बस्न सकेको छैन। महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्ष पनि विभाजित छ। महाधिवेशन पूर्वपदाधिकारी रहेका यी ७ नेताहरूमाथि महाधिवेशन रोकेको आरोप छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग निरन्तर संवाद गरे पनि सहमति जुट्न सकेको छैन।

निर्णयको लागि भोलि दिउँसो २ बजे बस्ने गरी केन्द्रीय समिति बैठक डाकिएको छ। कावा सभापति खड्काले पनि पार्टी विभाजित हुने गरी विवादित निर्णय गर्नुपरे जिम्मेवारी छाड्ने सन्देश दिएपछि देउवा आफैँ सक्रिय भएको हुन्।

कांग्रेसमा अहिले पुस मसान्तभित्र महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनेगरी सहमतिको प्रयास भइरहेको छ। यद्यपि, महामन्त्रीद्वयले कार्यतालिका नभई महाधिवेशन हुनुपर्ने भन्दै विशेष महाधिवेशनको अडान लिइरहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *