
काठमाडौं । डीआईजी सरुवामा प्रश्न उठाउँदै सामाजिक सञ्जालमा असन्तुष्टि पोख्ने डीआईजी जयराज सापकोटालाई प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ ।
प्रधान कार्यालयस्थित कार्य विभाग, कार्य निर्देशनालयमा कार्यरत डीआईजी सापकोटाले आफ्नो फेसबुक आईडीबाट ‘हम कभी नहि सुध्रेङ्गे’ भन्दै डीआईजी पोष्टिङप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार उक्त कार्य प्रहरी नियमावली, २०७१ विपरीत भएकाले स्पष्टीकरण सोधिएको हो ।
नियमावलीमा प्रहरी आचरण सम्बन्धी व्यवस्था, नेपाल प्रहरीको सञ्चार माध्यम (मिडिया) सम्बन्धी नीति २०६०, नेपाल प्रहरीका कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश, २०७७ तथा सो को कार्यान्वयन गर्ने सम्बन्धमा यस कार्यालयबाट विभिन्न मितिमा भएका परिपत्रहरूको विपरीत पाइएको डीआईजी काफ्लेले बताए ।
उक्त व्यवस्थाअनुसार डीआईजी सापकोटाविरुद्ध विभागीय कारबाहीको प्रक्रिया शुरु भएको हो । कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी रिक्त भएपछि सापकोटा त्यसका एक दाबेदार थिए । तर, त्यहाँ अर्का डीआईजी विनोद घिमिरे सरुवा भएपछि उनी असन्तुष्ट भएका हुन् ।

Leave a Reply