
काठमाडौं । १२ वर्षअघि राजनीतिक दलको रूप लिएको ‘विवेकशील नेपाली अभियान’ औपचारिक विघटनको संघारमा आइपुगेको छ । विवेकशीलको अस्तित्व जीवित राखिरहेको सानो समूह रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय हुने भएको हो ।
समीक्षा बास्कोटा अध्यक्ष र रञ्जु दर्शना महासचिव रहेको ‘विवेकशील साझा पार्टी’ अस्तित्व रक्षाको संघर्षमा थियो । तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजावादी धार समात्दै पार्टी त्यागेर राप्रपातिर लागेपछि विवेकशील साझा राष्ट्रिय राजनीतिको मूलधारमा रहन सकेन । मिश्रको बहिर्गमनपछि कार्यवाहक अध्यक्षको भूमिका पाएकी बास्कोटाले २०७९ माघमा पार्टीको पहिलो महाधिवेशन आयोजना गरेकी थिइन् । उक्त महाधिवेशनले उनैलाई अध्यक्षमा निरन्तरता दिँदै रञ्जु दर्शनालाई महासचिवमा निर्वाचित गरेको हो ।
अध्यक्ष र महासचिव दुवै महिलालाई बनाएर विवेकशीलले नयाँ सन्देश दिएको थियो । तर, पार्टीले राष्ट्रिय राजनीतिमा आफ्नो कुनै स्पेस बनाउन सकेन । फलतः बाध्यकारी रूपमा यो पार्टीलाई विघटन गर्ने निर्णयमा नेतृत्व पंति पुगेको छ ।
‘पार्टी एकता’ भनिए पनि व्यवहारिकरूपमा विवेकशील रास्वपामा मर्ज हुन लागेको हो । आइतबार हुने ‘एकता घोषणा’ सँगै विवेकशील साझा पार्टीको अस्तित्व समाप्त हुने छ । सो पार्टीका नेताहरू रास्वपामा समाहित हुनेछन् ।
रास्वपामा विवेकशीलले कस्तो र कति हिस्सा पाउँछ भन्ने प्रष्ट भएको छैन । यस विषयमा सहमति जुट्न बाँकी नै रहेको नेताहरूले बताएका छन् । विवेकशीलमा हाल ९ जना पदाधिकारी र ३७ जना केन्द्रीय सदस्य रहेका छन् । उनीहरूलाई रास्वपा एडजस्टमेन्ट गर्ने विषयमा कुनै मोडालिटी बनिसकेको छैन ।
एकताको मोडालिटीबारे छलफल जारी नै रहेको र चाँडै टुंगो लाग्ने रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
‘सौहार्दपूर्ण संवादबाट हामी एक हुने निर्णयमा पुगियो । साथीहरूलाई के-कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एक प्रकारको मार्गचित्र आएको छ । तर टुंगिएको छैन,’ उनले भने ।
विवेकशीलबाट कुनै कडिकडाउ शर्त नआएको भन्दै उनले सबै विषय वार्ता टोलीले नै टुंग्याउने जानकारी दिए ।
वार्ता टोलीका सदस्य रहेका शिशिर खनालले पदीय समायोजन कसरी गर्ने भन्ने टुंगिन बाँकी रहेको बताए ।
‘समायोजनका विषयमा थुप्रै काम बाँकी नै छ । हामी गुड फेथमा अगाडि बढेका छौं र सम्मानजनक हिसाबले गर्ने भनेका छौँ । उहाँहरूले कुनै शर्त र अडान राख्नुभएको छैन,’ उनले भने ।
रास्वपाले विवेकशीलसँग एकता प्रक्रिया टुंग्याउन उसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको समितिलाई जिम्मा दिएको छ । समितिमा शिशिर खनाल र डा. तोसिमा कार्की सदस्य छन् । समितिले भोलि विवेकशीलका नेताहरूसँग छलफल गर्ने बुझिएको छ ।
विवेकशीलका नेताहरूले रास्वपासँग ‘निशर्तरूपमा एकता गर्न लागिएको’ बताइरहेका छन् । पदका लागि आफूहरूले कुनै पनि अडान नलिएको र नलिने उनीहरूको भनाइ छ ।
पार्टीका उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द परियारले एकताको मोडालिटीबारे एक दुई दिनमा टुंग्याइने बताए ।
उनले भने, ‘पदीय मिलानको विषयमा अहिलेसम्म प्रवेश नै गरिएको छैन । कुरा मिल्छ भन्ने आशामा छौँ ।’
परियारले रास्वपासँग एकीकरण गर्ने भनेर दुई तिहाइको हस्ताक्षरसहित निर्वाचन आयोगमा बुझाइसकेको पनि जानकारी दिए । ऐनअनुार अबको तीन वर्ष यही नाम र चुनावचिन्हमा अर्को दल बन्न नसक्ने उनको भनाइ छ ।
स्व. उज्ववल थापाको बिरासत मासिँदै
सन् २०१२ मा स्वतन्त्र युवाहरूको समूहले वैकल्पिक राजनीतिको आवश्यकतालाई मध्यनजर गर्दै विववेकशील अभियानको सुरूवात गरेका थिए । यसको प्रमुख नेतृत्वकर्ता थिए स्व. उज्ज्वलबहादुर थापा ।
विवेकशील अभियानलाई २०७० सालमा निर्वाचन आयोगमा दर्ता गरेर विवेकशील नेपाली दल बनाइयो । २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा उक्त दलले कुकुर चुनावचिन्हमा उम्मेदवारहरू उठाएको थियो ।
२०७४ सालमा उज्ववल थापाको विवेकशील नेपाली र रवीन्द्र मिश्रको साझा पार्टीबीच एकता भएर विवेकशील साझा पार्टी बन्यो । सो दलमा मिश्र र थापा समान हैसियतमा सहसंयोजक बनेका थिए । विवेकशील साझाले २०७४ सालको आमचुनावमा उत्साहसाथ भाग लियो र दुई लाखभन्दा बढी भोट ल्याएर पाँचौ ठूलो दल बन्यो । संघीय थ्रेस होल्ड कटाउन नसके पनि बाग्मती प्रदेशमा थ्रेसहोल्ड काटेर ३ जना प्रदेशसभा सदस्यसमेत जिताउन सफल भएको थियो ।
सो निर्वाचनपछि भने विवेकशील साझा अधोगतितिर लाग्यो । मिश्रसँग टकरावसँगै उज्ववल थापा पार्टीबाट बाहिरिए । … सालमा उनको कोरोना संक्रमणबाट दु:खद निधन भयो । उनको असामयिक निधनमा सिंगो देश स्तब्ध बनेको थियो ।
विवेकशील साझामा मिश्रले हिन्दू राज्यको पुन:स्थापना र संघीयता खारेजीको एजेन्डा अघि सारे । उनको एजेन्डा पार्टीको बहुमतबाट पारित भएपछि केही प्रमुख नेताहरू असन्तुष्ट बने । त्यसपछि उज्ज्वल थापाको उत्तराधिकारीका रुपमा मिलन पाण्डे उदाए । उनले पुन: मिश्रसँग एकता गरे । त्यो एकता पनि टिक्न सकेन ।
पछिल्लो समय समीक्षा बास्कोटा, रञ्जु दर्शना लगायतले विवेकशीलको धङधङी जोगाइरहेका थिए । अब त्यसमा पनि पूर्णविराम लागेको छ ।

Leave a Reply