
काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले एक बच्चाका पिता विशाल खरेलसँग विवाह गर्न लागेकोमा कुनै पनि आत्मग्लानि नभएको बताएकी छन् । बच्चाको बाबु भए पनि विशाल विवाहित नभएको साम्राज्ञीको दाबी छ ।
इन्स्टाग्राममा एक पोस्ट गर्दै उनले आफूलाई विशालको सन्तान छ भनेर पहिल्यै थाहा भएको स्वीकारोक्ति गरेकी छन् । विशाल पुरानो सम्बन्धबाट अलग भइसकेकाले आफूहरूले इन्गेजमेन्ट गरेको भन्दै उनले कसैको घर नभाँडेको बताइन् ।
उनले लेखेकी छन्, ‘उनले मलाई स्पष्ट रूपमा भनेका थिए कि उनको छोरा उनको लामो समयकी पूर्व‐प्रेमिकाबाट जन्मिएको हो, उनीहरूले कहिल्यै विवाह गरेका थिएनन्, त्यसैले कहिले र कसरी उनीहरू डिभोर्स भए ?’
‘तपाईँहरू सधैँ भावनात्मक रूपमा प्रभावमा परेर प्रमाणबिनाका सबैभन्दा खराब कुरा नै विश्वास गर्नुहुन्छ, जुन म बुझ्छु । तर तपाईँहरूले सार्वजनिक रूपमा पुर्याएको क्षतिबारे के ? … झूटमाथि झूट !’ साम्राज्ञीको गुनासो छ ।
आफूलाई विशालकी ‘पूर्वप्रेमिका’ ले ब्ल्याकमेल गर्दै आएको आरोप पनि साम्राज्ञीले लगाएकी छन् । अहिले पनि विशालसँग ब्ल्याकमेलिङ गरेर पैसा माग्ने गरेको उनको दाबी छ ।
साम्राज्ञी लेख्छिन्, ‘म उनीसँग कहिल्यै संलग्न भइनँ, तर उनले मलाई धेरै पटक ब्ल्याकमेल गरिन् । उनी अझै पनि विशाललाई थप पैसाको लागि ब्ल्याकमेल गर्छिन् । यो अनवरत शोषण हो । हामीले आफ्नो गोपनीयता चाहेका थियौँ, जसमा मानिसहरू कति सजिलै आफ्नो फोहोर फ्याँकिरहेका छन्। यो विच हन्ट (बोक्सी-शिकार/खेदो) कहिले रोकिने हो ?’

Leave a Reply